दशैंको लामो बिदामा नयाँ ठाउँ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने सुदूरपश्चिम उपयुक्त गन्तव्य हुन सक्छ । यो यस्तो प्रदेश हो, जहाँ एउटै यात्रामा हिमाल, पहाड, जंगल, ताल, वन्यजन्तु, धार्मिक स्थल र मौलिक संस्कृति अनुभव प्राप्त गर्न सकिन्छ ।
खप्तडदेखि अपि–नाम्पासम्मका हिमाली भूगोल र शुक्लाफाँटादेखि घोडाघोडीसम्मको तराई क्षेत्रले यात्राको स्वाद नै फरक बनाउँछन् । नेपाल पर्यटन बोर्डले पनि खप्तड, शुक्लाफाँटा, बडिमालिका, अपि–नाम्पा, घोडाघोडी र रामारोशनलाई सुदूरपश्चिमका प्रमुख प्राकृतिक तथा धार्मिक गन्तव्यका रूपमा उल्लेख गरेको छ ।
दशैंको बिदामा घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने यी ७ गन्तव्य विचार गर्न सकिन्छ ।
१. खप्तड : पाटन, जंगल र हिमाली शान्तिको अनुभव
सुदूरपश्चिमको नाम लिँदा सबैभन्दा पहिले सम्झिइने गन्तव्यमध्ये एक हो खप्तड । समुद्री सतहबाट करिब १,४०० देखि ३,३०० मिटरसम्म फैलिएको खप्तड क्षेत्र प्राकृतिक, धार्मिक र आध्यात्मिक पर्यटनका लागि प्रसिद्ध छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अनुसार यहाँ करिब २७० प्रजातिका चराचुरुङ्गी र २२४ प्रजातिका औषधीय वनस्पति पाइन्छन् ।

के हेर्ने ?
खप्तड ताल, त्रिवेणी, सहस्रलिङ्ग, खप्तड बाबाको आश्रम, नागढुंगा, घना जंगल र हिमाली तथा पहाडी दृश्य खप्तडमा पुगेर अवलोकन गर्न सकिन्छ । खप्तड बाबाको आश्रम समुद्री सतहबाट करिब ३,१६० मिटर उचाइमा रहेको छ । खप्तड बाबाले यहाँ पाँच दशकभन्दा बढी समय साधना गरेको उल्लेख खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले गरेको छ । नेपाल पर्यटन बोर्डका अनुसार खप्तडमा २० प्रजातिका स्तनधारी तथा १७५ प्रजातिका चराचुरुङ्गी अभिलेखित छन् ।
यहाँको मुख्य गतिविधि पदयात्रा, प्रकृति अवलोकन, चराचुरुङ्गी हेर्ने र ध्यान/आध्यात्मिक पर्यटन हो ।
२. रामारोशन : १२ तालको सुन्दर संसार
पहाडबीच ताल, हरियाली र खुला आकाशको दृश्य हेर्न मन छ भने अछाममा रहेको रामारोशन अर्को आकर्षक विकल्प हो । रामारोशनलाई स्थानीय रूपमा पाँच पुरासँग जोडेर हेर्ने गरिन्छ । यहाँका ताल, हरियाली र पहाडी भूगोल मुख्य आकर्षण हुन् । नेपाल पर्यटन बोर्डले पनि रामारोशनलाई सुदूरपश्चिमको प्रमुख प्राकृतिक गन्तव्यका रूपमा उल्लेख गरेको छ ।

के हेर्ने ?
रामारोशनका तालहरू, हरिया पाटन, पहाडी दृश्य, स्थानीय बस्ती, वनजंगल र विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्न सकिन्छ । रामारोशन–बडिमालिका क्षेत्रलाई जैविक तथा सांस्कृतिक महत्वको भूभागका रूपमा संरक्षण गर्ने काम पनि भइरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको परियोजनाले यहाँ जैविक विविधता संरक्षणसँगै प्रकृति पर्यटन र स्थानीय समुदायको सहभागितामा जोड दिएको छ ।
यहाँ ताल आसपास घुम्ने, पदयात्रा गर्ने, प्रकृति र चराचुरुङ्गी अवलोकन गर्ने तथा स्थानीय संस्कृति बुझ्न सकिन्छ । शान्त वातावरण, ताल, पहाड र फोटोग्राफी मन पराउनेका लागि यो राम्रो विकल्य हुन सक्छ ।
३. शुक्लाफाँटा : जंगल सफारीमा बाघ र बाह्रसिंगा खोज्दै
हिमाल चढ्न वा लामो पदयात्रा गर्न मन छैन भने दशैंमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज उत्कृष्ट प्रकृति यात्राको विकल्प बन्न सक्छ । शुक्लाफाँटाको विशेष आकर्षण यहाँको विशाल घाँसे मैदान र बाह्रसिंगा हो। नेपाल पर्यटन बोर्डका अनुसार यहाँ पाटेबाघ, जंगली हात्ती, चित्तल, नीलगाई, बँदेल, चितुवा लगायतका वन्यजन्तु पाइन्छन् । यहाँ ३५० भन्दा बढी प्रजातिका चराचुरुङ्गी अभिलेखित छन् ।

के हेर्ने ?
शुक्लाफाटमा बाह्रसिंगा, पाटेबाघ, जंगली हात्ती, चित्तल, नीलगाई, मगर गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्न सकिन्छ । जंगल सफारी, वन्यजन्तु अवलोकन यहाँको मुख्य आकर्षण हो ।
दशैँ मौसम पनि जंगल घुम्नका लागि अनुकूल समयतिर पर्छ । नेपाल पर्यटन बोर्डले अक्टोबरदेखि मार्चसम्मलाई शुक्लाफाँटाको उपयुक्त मौसम मानेको छ ।
४. घोडाघोडी : ताल, चराचुरुङ्गी र थारू संस्कृति
सुदूरपश्चिम पुगेर प्रकृति र स्थानीय संस्कृति दुवै अनुभव गर्न चाहनुहुन्छ भने कैलालीको घोडाघोडी ताल क्षेत्र रोज्न सकिन्छ । घोडाघोडीलाई सुदूरपश्चिमका महत्वपूर्ण सिमसार तथा प्राकृतिक गन्तव्यका रूपमा सरकारी पर्यटन स्रोतहरूले उल्लेख गरेका छन् ।

के हेर्ने ?
कैलालीमा घोडाघोडी ताल, सिमसार क्षेत्र, चराचुरुङ्गी, वरपरको जंगल थारू गाउँ र संस्कृति पनि हेर्न सकिन्छ । बिहान वा साँझ ताल क्षेत्रमा प्रकृति अवलोकन, चराचुरुङ्गी हेर्ने र स्थानीय समुदायसँग जोडिएको सांस्कृतिक अनुभव लिन सकिन्छ । छोटो, आरामदायी र परिवारसहितको यात्रा चाहनेका लागि यो राम्रो हुन्छ ।
५. डडेल्धुरा : पहाड, मन्दिर र इतिहास
दशैंको लामो बिदामा सुदूरपश्चिम घुम्ने सोचमा हुनुहुन्छ भने डडेल्धुरालाई यात्राको एउटा मुख्य गन्तव्य बनाउन सकिन्छ । पहाडको चिसो मौसम, डाँडाबाट देखिने लामो पहाडी भूगोल, पुराना किल्ला, मन्दिर, ताल र स्थानीय जीवनशैली– डडेल्धुरामा घुमघामको स्वाद एकै प्रकारको छैन ।
सुदूरपश्चिम प्रदेशको आधिकारिक विवरणमा डडेल्धुराका उग्रतारा मन्दिर, अमरगढी किल्ला, अजयमेरुकोट, आलीताल, परशुरामधाम र घटालबाबा लगायतका स्थललाई पर्यटकीय तथा धार्मिक महत्वका क्षेत्रका रूपमा उल्लेख गरिएको छ ।

के हेर्ने ?
सुदूरपश्चिम घुम्दा धार्मिक, ऐतिहासिक र पहाडी पर्यटन एकैपटक गर्न चाहनुहुन्छ भने डडेल्धुरालाई यात्रामा समेट्न सकिन्छ । यहाँ रहेको उग्रतारा मन्दिर, अमरगढी, अजयमेरुकोट, पहाडी बजार र गाउँ डाँडाबाट देखिने हिमाली तथा पहाडी दृश्य हेर्न सकिन्छ
सुदूरपश्चिम प्रदेशको आधिकारिक पर्यटन विवरणले अजयमेरुकोट, आलीताल र उग्रतारासहित डडेल्धुराका विभिन्न स्थललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा उल्लेख गरेको छ । डडेल्धुरा लामो ट्रेक नगरी पहाडको मौसम, इतिहास, धार्मिक स्थल र स्थानीय खानपान अनुभव गर्न चाहनेका लागि उपयोगी गन्तव्य हो ।
६. बडिमालिका : धर्मसँगै हिमाली पदयात्रा
सुदूरपश्चिमको बाजुरामा रहेको बडिमालिका धार्मिक आस्था र प्राकृतिक सौन्दर्य दुवैका कारण चर्चित गन्तव्य हो । समुद्री सतहबाट करिब ३,८०० मिटर उचाइमा रहेको बडिमालिका मन्दिर काली देवीलाई समर्पित शक्तिपीठका रूपमा मानिन्छ । नेपाल पर्यटन बोर्डका अनुसार बडिमालिका बुढीगंगा र कर्णाली नदी आसपासको उच्च पहाडी क्षेत्रमा रहेको छ ।
दशैंको बिदा लामो छ र तपाईंलाई पदयात्रा मनपर्छ भने बाजुराको बडिमालिका निकै फरक अनुभव हुन सक्छ । यहाँ पुग्ने यात्रा धार्मिक यात्रासँगै उच्च पहाडी तथा हिमाली पदयात्रा पनि हो ।

के हेर्ने ?
बडिमालिका यात्राको मुख्य आकर्षण बडिमालिका मन्दिर र वरपरका विशाल पाटन हुन् । उचाइ बढ्दै जाँदा बदलिँदै जाने भू–दृश्य, खुला घाँसे मैदान, हरिया डाँडा र टाढा देखिने हिमालले यात्रालाई आकर्षक बनाउँछन् । नेपाल पर्यटन बोर्डले पनि बडिमालिकाबाट देखिने हिमाली दृश्यलाई प्रमुख आकर्षणका रूपमा उल्लेख गरेको छ । वसन्त र वर्षायामतिर पाटनमा फूल फुल्दा यसको सौन्दर्य अझ बढ्छ ।
बडिमालिका मन्दिर आफैं धार्मिक यात्राको मुख्य केन्द्र हो । हिन्दु धार्मिक मान्यताअनुसार यहाँ सतीदेवीको शरीरको एक अंग पतन भएको विश्वास गरिन्छ र त्यसैसँग जोडेर यसलाई शक्तिपीठका रूपमा श्रद्धा गरिन्छ । विशेषगरी जनैपूर्णिमाका अवसरमा ठूलो संख्यामा तीर्थयात्री बडिमालिका पुग्ने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
७. अपि–नाम्पा : हिमालसँग आमनेसामने
सुदूरपश्चिमको यात्रालाई सबैभन्दा साहसिक यात्रामध्ये एक बनाउन चाहनुहुन्छ भने अपि–नाम्पा संरक्षण क्षेत्रतर्फ जान सकिन्छ । नेपाल पर्यटन बोर्डले अपि–नाम्पालाई सुदूरपश्चिमको प्रमुख प्राकृतिक गन्तव्यका रूपमा राखेको छ । यस क्षेत्रको प्रमुख आकर्षण अपि हिमाल हो । प्रदेश सरकारको पर्यटन विवरणले पनि अपि हिमाल र अपि–नाम्पा क्षेत्रलाई प्रमुख पर्यटकीय स्थलमा समेटेको छ ।

के हेर्ने ?
अपि–नाम्पा संरक्षण क्षेत्र सुदूरपश्चिमको दार्चुलामा रहेको प्राकृतिक र हिमाली सौन्दर्यले भरिएको क्षेत्र हो । यहाँ मुख्य आकर्षण अपि हिमाल र नाम्पा हिमालका हिमशृङ्खला, हिमाली भू–दृश्य, उच्च पहाडी बस्ती र स्थानीय संस्कृति हुन् । पदयात्राका क्रममा हिमालका मनमोहक दृश्यसँगै हिमाली वन, जडीबुटी, विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ ।
यस क्षेत्रमा कालाढुंगा, सितोला, व्यास क्षेत्रतर्फका हिमाली भूभाग र स्थानीय गाउँबस्तीको जीवनशैली पनि नजिकबाट बुझ्न सकिन्छ । अपि–नाम्पा क्षेत्र जैविक विविधताका हिसाबले पनि महत्वपूर्ण भएकाले हिमाली क्षेत्रमा पाइने दुर्लभ वनस्पति र वन्यजन्तु हेर्न चाहनेका लागि आकर्षक गन्तव्य हो ।
प्रतिक्रिया 4