१४ असोज, काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीका वडासचिव जंगे तामाङ (३६) ले बाढीमा परिवारका ८ जना गुमाए । आमा गुमाए, दाइ गुमाए । मामा–माइजु, ससुरा गरी ८ जना सदस्य बाढीमा परे । बस्ने घर गुमाए । काम गर्ने कार्यालय पनि बाढीले बगायो ।
विस्थापित भएपछि उनी स्थानीयसँगै काठमाडौं स्वयम्भूस्थित एलो गुम्बाको होल्डिङ सेन्टरमा छन् । ‘मैले परिवारका ८ जना गुमाएँ । म भने बाँचेर आएँ,’ उनले भने ।
वडासचिव तामाङले अहिले होल्डिङ सेन्टरबाटै वडाको काम गरिरहेका छन् । ‘पालिकाको निर्देशनमा काम गरिरहेको छु । स्थानीयलाई सहज रूपमा सेवा प्रवाहको काम भइरहेको छ,’ उनले भने, ‘वडाका सबै स्थानीय यहीँ हुनुहुन्छ ।’
रसुवा बाढीमा वडाध्यक्ष दावा मिङमार तामाङ पनि परे । वडावासीले वडाध्यक्षको अभाव महसुस गरेका छन् । तर सचिव तामाङले पालिकामा प्रमुख र कार्यवाहक वडाध्यक्षसँग समन्वय गरेर स्थानीयलाई सेवा दिइरहेका छन् ।
‘हाम्रो वडाध्यक्ष नै मिसिङ हुनुहुन्छ । वडा कार्यालयदेखि प्रहरी चौकीसम्मको संरचना बगाएको छ । यहाँ आएपछि १२ गतेबाट सेवा दिइरहेका छौँ,’ उनले भने । सचिव तामाङले वडाको छाप र सिफारिस पत्र झोलामा बोकेका छन् । साथमा होल्डिङ सेन्टरमा ल्यापटप र प्रिन्टरको व्यवस्थापन गरेका छन् ।
‘लेटरप्याड, छाप र सिफारिस पत्रहरू मसँगै छन् । यहाँबाट माथि पालिकामा कागजात फर्वाड गर्छु,’ उनले भने,’ ‘उता हाम्रो वडा स्थापना भएको छैन । सेवाग्राही पनि विस्थापित भएर यहीँ गुम्बामा हुनुहुन्छ ।’
उनका अनुसार गुम्बामा ३५० जनाको हाराहारीमा छन् । बाढीबाट जोगिएर आएका स्थानीय एकै ठाउँमा बसेकाले पनि काममा सहज भएको छ ।
स्याफ्रुका कतिपय स्थानीय काठमाडौंमा आफन्तकहाँ आश्रय लिएर बसेका छन् । तर उनीहरू पनि वडाको कामका लागि दिउँसो होल्डिङ सेन्टरमै पुग्छन् ।
‘५०–६० धुरी जति कोठामा हुनुहुन्छ । बिहान आउनुहुन्छ । बेलुकासम्म यहाँबाट सेवा लिएर फर्किनुहुन्छ,’ उनले भने । होल्डिङ सेन्टरबाट वडासचिव तामाङले विस्थापितलाई आवश्यक सिफारिस र तथ्यांक संकलनको काम गरिरहेका छन् ।

‘घरधुरीको तथ्यांक, मृतक र सम्पर्कविहीनको संख्या, घरको क्षति लगायतको तथ्यांक यहाँ टिपोट गरेर माथि पालिमामा पठाइरहेको छु,’ उनले भने, ‘त्यसपछि पालिकाबाट जिल्ला प्रशासन कार्यालयमा तथ्यांक पुग्छ ।’
वडासचिव तामाङका अनुसार स्याफ्रुमा अहिले २०–२५ जना जति मात्र छन् । ‘१० गतेको बाढीले हाम्रो तीन टोल विस्थापित भयो । सर्वपक्षीय छलफलबाट १३७ धुरी विस्थापित भएको देखिएको छ । तर संख्या थपघट हुन्छ,’ उनले भने, ‘छुटेकाहरू टिपाउनको लागि आइरहनुभएको छ ।’
लामो समय होल्डिङ सेन्टरमा बस्न नचाहेको र गाउँमै फर्किन चाहेको गुनासो स्थानीयले वडासचिव तामाङसँग गरिरहेका छन् ।
‘उता घर छैन । बस्ने ठाउँ छैन । जाने बाटो छैन । सबैभन्दा ठूलो कुरा बाटो हुनुपर्यो,’ उनले भने, ‘सरकारले केही व्यवस्था गर्ला, पहल पनि गर्दैछौँ । गाउँलेहरूले चाँडो बाटो बनाइदिए हुन्थ्यो भनिरहेका छन् ।’
स्थानीयहरू छिटोभन्दा छिटो आफ्नो थातथलोमा फर्किन खोजिरहेका छन् । ‘आफ्नै मातृभूमिमै जान चाहन्छन् । आफ्नै ठाउँमै व्यापार गर्न, व्यवसाय गर्न पाऊँ भन्ने हो,’ उनले भने, ‘त्यहाँ सबैभन्दा ठूलो व्यवसाय भनेकै पर्यटन हो । अर्को ठाउँमा व्यवस्थापन गर्नुभन्दा त्यही ठाउँमा जान पाए हुन्थ्यो भनिरहनुभएको छ ।’
सरकारले कोठा भाडाको लागि १५ हजार रुपैयाँ र चार जनाभन्दा माथि थप भयो भने दुई हजारको दरले बढ्ने गरी ६ महिनासम्म उपलब्ध गराउने भनेको छ ।
‘अहिले कार्ड बनाउने काम पनि भइरहेको छ,’ उनले भने । विस्थापित भएका बालबालिकाको पढाइको पनि व्यवस्था गरिएको उनले बताए । ‘यहाँ नजिकैको स्कुलतिर मानसिक असर नहोस् भनेर पठनपाठन भइरहेको छ,’ उनले भने, ‘स्थानीयले छिटो पुनर्वासको माग गरिरहनुभएको छ । यहाँ धेरै समय नबस्ने भनिरहनुभएको छ ।’
अहिले बाढीमा परेर मृत्यु भएकाहरूको घेवा चलिरहेको छ । ४९ दिनमा ठूलो घेवा हुने भएकाले त्यसपछि अस्थायी रूपमा भए पनि अर्को ठाउँमा बसोबासको व्यवस्था गर्न स्थानीयले माग गरिरहेका छन् । ‘स्थानयीको माग र समस्या माथि भनिरहेको छु,’ वडासचिव तामाङले भने ।
प्रतिक्रिया 4