२२ असोज, बाँके । बुधबार परेको वर्षाका कारण बाँकेमा धानबालीमा ठूलो क्षति पुगेको छ । धेरै ठाउँमा धानबाली ढलेर किसानलाई समस्या भएको छ ।
हावाहुरीसहितको वर्षाले पाकेको बीउ धानमा ठूलो क्षति पुर्याएको राप्ती सोनारीको साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीले बताए ।
उनका अनुसार किसानले १५० बिगाहमा रोपेको बीउ धानमा वर्षाले क्षति पुर्याएको छ । स्यहार्ने बेला वर्षाले क्षति पुर्याएपछि आगामी वर्षको लागि धानको बीउ अभाव हुने भएको छ ।
बीउ धान खेतीका लागि सहकारीले किसानलाई बीउ वितरण गर्दै आएको छ । किसानले बीउ धान उत्पादन गरेर सहकारीलाई बिक्री गर्ने गरेको व्यवस्थापक वलीले बताए ।
यो वर्ष पानी राम्रो परेका कारण धान राम्रो फले पनि स्यहार्ने बेला वर्षाले क्षति पुर्याएको उनको गुनासो छ ।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले पाकेर थन्क्याउने बेलाको वर्षाले धानबालीमा ठूलोे क्षति पुर्याएको बताइन् ।
बाँकेका विभिन्न स्थानमा धानबालीमा वर्षाले क्षति पुगेकोे जानकारी आए पनि क्षतिको एकीन विवरण सङ्कलन भइनसकेको उनले जानकारी दिइन् ।
बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी शर्माले बताइन् ।
प्रतिक्रिया 4