News Summary
Generated by OK AI. Editorially reviewed.- विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ ।
- ट्रेलरमा विराज भट्ट र समीर भट्टलाई मुख्य आकर्षणका रूपमा देखाइएकाले फिल्ममा द्वन्द्व, अपहरण, उद्धार र बदलाको झलक छ ।
- ‘१२ गाउँ २’ दशैंको अवसरमा असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।
काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको फिल्म ‘१२ गाउँ २’ को ट्रेलर सार्वजनिक भएको छ ।
मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा मुख्य आकर्षणका रूपमा विराज भट्ट र समीर भट्टलाई प्रस्तुत गरिएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा द्वन्द्व, शक्तिशाली संवाद, अपहरण, उद्धार र बदलाको झलक देख्न सकिन्छ ।
ट्रेलरमा प्रस्तुत गरिएका दृश्यले ‘१२ गाउँ २’ एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधको मिश्रणमा निर्माण भएको संकेत गर्छ । विशेषगरी विराज र समीरलाई आमन्ने–सामान्ने प्रस्तुत गरिएको दृश्यले फिल्मको कथामा उनीहरूबीच कस्तो सम्बन्ध र द्वन्द्व रहनेछ भन्ने जिज्ञासा बढाएको छ ।
फिल्ममा अभिनेता अनुपविक्रम शाही खलपात्रका रूपमा प्रस्तुत भएका छन् । उनको भूमिका सीमित रूपमा देखाइएकाले पात्रको वास्तविक उद्देश्य, शक्ति र कथामा रहने प्रभावबारे धेरै कुरा खुल्न बाँकी छ । यद्यपि, विराज र समीरको टकरावसँगै खलपात्रको उपस्थिति फिल्मको द्वन्द्वलाई कसरी अगाडि बढाउने आधार बन्नेछ भन्ने चासो दर्शकमाझ हुने देख्निछ ।
फिल्मको कथासार निर्माण पक्षले पूर्ण रूपमा सार्वजनिक गरिसकेको छैन । त्यसैले ट्रेलरमा देखिएका दृश्यकै आधारमा सम्पूर्ण कथावस्तु यही हो भनेर निष्कर्ष निकाल्न सकिँदैन ।

‘१२ गाउँ २’ लाई केवल मारधाड र द्वन्द्वमा सीमित फिल्मका रूपमा मात्र हेर्नु उचित नहुने निर्माण पक्षको दाबी छ ।
फिल्मका सार्वजनिक गीतहरूले यसको कथामा प्रेम र सम्बन्धको पक्ष पनि रहने संकेत गरेका छन् । समीर भट्ट र कृशु शाहीलाई ‘जुनेली’ गीतमा प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको थियो । त्यस्तै, ‘लालीगुराँस’ र ‘रेशमी रुमाल’जस्ता गीतले फिल्मका अन्य पात्र तथा सम्बन्धका पक्षलाई पनि अगाडि ल्याएका छन्।
फिल्ममा विराज भट्ट, समीर भट्ट र अनुपविक्रम शाहीसँगै प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ । कृशु शाही (काफिया) र वर्षा इटनी पनि फिल्ममा देखिनेछन् ।
‘१२ गाउँ २’ को निर्देशन विराज भट्टले गरेका हुन् भने कथा तथा पटकथा सन्तोष सरकारको रहेको छ । फिल्मको छायाङ्कन महेश पौडेलले गरेका छन् । सम्पादन बन्दे प्रसादको रहेको फिल्ममा युग भुसाल र डीपी खनालको संगीत छ ।
त्यस्तै, रामजी लामिछाने र सियोन श्रेष्ठले नृत्य निर्देशन गरेका छन् भने स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन छ ।
‘१२ गाउँ २’ दशैंको अवसर पारेर असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।
प्रतिक्रिया 4