News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चितवनको रिलायबल नेपाल एग्रो लिमिटेडले उत्पादन गरेको ‘स्वास्थ्य श्री’ तोरी तेल न्यूनस्तर पाई बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
- विभागका अनुसार १ लिटर प्याकेटको २०२६ सेप्टेम्बर १ मा उत्पादन गरिएको ‘आरपी ०५’ ब्याचको तेल प्रयोगशाला परीक्षणमा तोकिएको मापदण्डभन्दा कम पाइएको हो ।
- विभागले सो ब्याचका तेल खरिद र उपभोग नगर्न उपभोक्तालाई र बिक्री रोक्न विक्रेतालाई सचेत गराएको छ ।
२८ असोज, काठमाडौं । सरकारले बजारमा बिक्री वितरण भइरहेको ‘स्वास्थ्य श्री’ ब्रान्ड तोरी तेल गुणस्तरहीन (न्यूनस्तर) पाइएको भन्दै बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै चितवन खैरहनी–२ स्थित रिलायबल नेपाल एग्रो लिमिटेडले उत्पादन गरेको उक्त तोरी तेलमा कैफियत भेटिएको पुष्टि गरेको हो ।
विभाग वा अन्तर्गतका निकायबाट बजार अनुगमन तथा निरीक्षण क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त तेलको गुणस्तर तोकिएको मापदण्डभन्दा कम अर्थात् ‘न्यूनस्तर’ को पाइएको सूचनामा उल्लेख छ ।
यसरी गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण भएको पाइएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ (२) को प्रावधान टेकेर सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न उद्योगलाई आदेश दिएको हो ।
साथै, सोही ऐनको दफा ३८ को उपदफा (४) बमोजिम उक्त गुणस्तरहीन तेल थप बिक्री वितरण नगर्न र नगराउन समेत विभागले उत्पादकलाई निर्देशन जारी गरेको छ ।
कारबाहीमा परेको उक्त तोरी तेल आयातित तोरीको दानाबाट उत्पादन गरिएको १ लिटर प्याकेटमा बजारमा उपलब्ध थियो ।
विभागका अनुसार रिलायबल नेपाल एग्रोले २०२६ सेप्टेम्बर १ मा उत्पादन गरेको ‘आरपी ०५’ (आरपी ०५) ब्याच नम्बर भएको तेलमा यस्तो समस्या देखिएको हो ।
उत्पादकले यो तेल उत्पादन भएको मितिले ९ महिनासम्म उपभोग गर्न योग्य भनी प्याकेटमा खुलाएको भए पनि प्रयोगशाला परीक्षण क्रममा उत्पादन न्यूनस्तर प्रमाणित भएपछि यसलाई बजारबाट हटाउन लागिएको हो ।
अब बजारमा पुगिसकेका उक्त ब्याच नम्बरका स्वास्थ्य श्री ब्रान्डका तेल सम्बन्धित कम्पनीले आफैं संकलन गरी फिर्ता लैजानुपर्ने छ ।
विभागले उपभोक्तालाई पनि उक्त नम्बर उल्लेख भएको तेल खरिद तथा उपभोग नगर्न र विक्रेतालाई तत्काल बिक्रीमा रोक लगाउन सचेत गराएको छ ।
प्रतिक्रिया 4