१४ असोज, काठमाडौं । नेपाली बजारमा बिक्री वितरण भइरहेको चर्चित रारा ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै उक्त चाउचाउ उत्पादन गर्ने कम्पनीलाई बजारमा पठाइएका उत्पादन फिर्ता ल्याउन र थप बिक्री वितरणमा पूर्णरूपले रोक लगाउन निर्देशन दिएको छ ।
नियमित बजार अनुगमन र निरीक्षण क्रममा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ बमोजिम बजारबाट रारा चाउचाउको नमुना संकलन गरिएको थियो ।
संकलित उक्त नमुनालाई विभागको आधिकारिक प्रयोगशालामा परीक्षण गर्दा खाद्य पदार्थमा हुनुपर्ने तोकिएको मापदण्ड पूरा नभएको अर्थात् ‘न्यूनस्तर’ भएको प्रमाणित भएको छ ।
कास्कीको पोखरा औद्योगिक क्षेत्रमा रहेको हिमश्री फुड्स प्रालिले उत्पादन गरेको ६० ग्राम तौल भएको रारा ब्रान्डको तयारी चाउचाउ रहेको छ । ‘आरईजी ०१’ ब्याच नम्बर भएको उक्त चाउचाउको उत्पादन मिति सन् २०२६ फेब्रुअरी ५ छ ।
उत्पादक कम्पनीले यसको उपभोग्य म्याद उत्पादन भएको मितिले १२ महिनासम्म तोकेको भए तापनि परीक्षण क्रममा न्यूनस्तरको पाइएकाले यो विशेष ब्याचका सम्पूर्ण प्याकेटहरू बजारबाट हटाउनुपर्ने भएको हो ।
यस आदेशसँगै खाद्य प्रविधि विभागले उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न र कुनै पनि हालतमा बिक्री वितरण नगर्न वा नगराउन सचेत गराएको छ ।
आम उपभोक्तालाई पनि आफ्नो स्वास्थ्य ध्यानमा राख्दै उक्त उत्पादन मिति र ब्याच नम्बर भएको रारा चाउचाउ खरिद नगर्न र उपभोग नगर्न सूचित गरिएको छ ।
प्रतिक्रिया 4