+
+
Shares
ट्रेलर रिभ्यु : ‘छ माया छपक्कै–२’ :

संस्कारी आमाको छोरोलाई कस्तो धर्मसंकट आइलाग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फूलपातीदेखि देशभर प्रदर्शनमा आउन लागेको ‘छ माया छपक्कै–२’ को ट्रेलरमा महाभारत, पारिवारिक झमेला र सन्तानको कथावस्तु देखाइएको छ।
  • फिल्ममा दीपकराज गिरी, सनिशा भट्टराई, केकी अधिकारी, दीपाश्री निरौला, प्रकाश घिमिरे र कर्मासहितका कलाकार छन्।
  • ‘छ माया छपक्कै–२’ को निर्देशन दीपेन्द्र लामाले गरेका हुन् भने कथा र पटकथा दीपकराज गिरीले लेखेका हुन्।

सहरमा बस्ने छोरालाई गाउँबाट आमा सोध्छिन्, ‘मन्त्र त जपिरहेको छस् नि ?’

छोरो संक्षिप्तमा भन्छ, ‘एकदम ।’

आमा उसैगरी सोध्छिन्, ‘अनि शङ्ख ?’

यो प्रश्नको जवाफ आउनु र छोराको रोमान्टिक रवैयायुक्त दृश्य आउनु एकसाथ हुन्छ । जवाफमा छोराले भनेको हुन्छ, ‘शङ्ख त सदरमुकाम घन्कने गरी बजाइरहेको छु ।’

सुरुमा यो द्विअर्थी जस्तो लाग्छ, जब दृश्यमा एक नवजवान पुरुषले सुन्दर युवतीलाई मोटरसाइकलमा घुमाइरहेको देखिन्छ । तर, पछि थाहा हुन्छ, उनी राइड सेयरिङ चलाउने युवा पो रहेछन् । यो त उनको दैनिकी रहेछ । किनभने, पठाओ चलाउँदाचलाउँदै उनको उमेर घर्किन लागेछ ।

यता आमा अलि परम्परागत छिन् । महाभारत पाठ गर्दै हुर्किएकी उनलाई धर्मकर्ममा औधी रुचि छ । त्यहीअनुरूप उनी सन्तानलाई पारिवारिक संस्कार दिन लागिपरेकी छिन् ।

उनी चाहन्छिन्, छोरो–बुहारी  नाति–नातिना जन्माइदियोस् । तर, यो रहरभन्दा बढी जैविक शरीरको खेल हो । बुहारी भित्र्याए पनि बुढी आमाले नाति–नातिना देख्न पाउने सङ्केत मिल्दैन ।

त्यसपछि के हुन्छ ?

जे-जे नहुनुपर्ने हो, ती सबै कुरा हुन्छन् । छोरोले एउटी होइन, दोस्रो बुहारी भित्र्याउँछ । दुईवटी बुहारी एकसाथ गर्भवती हुन्छन् । अनि त्यसपछि ?

त्यसपछि हेर्नका लागि चाहिँ तपाईं सिनेमाघरमा जानुपर्ने हुन्छ, फूलपातीको दिनबाट । दसैंको पूर्वसन्ध्यामा फिल्म ‘छ माया छपक्कै–२’ देशभर प्रदर्शनमा आउँदै छ । भनिहालौँ, फिल्ममा तीन ‘दी’को रोचक संयोग छ । दीपकराज गिरी, दीपाश्री निरौला अनि दीपेन्द्र लामा ।

पहिलो भागमा जस्तै यसमा दीपेन्द्र लामा नै निर्देशकका रूपमा दोहोरिएका छन् । अघिल्लो पटक पानीको हाहाकारलाई केन्द्रमा राखेर त्यसले समाजमा मच्चाउने कोलाहलको कथा बुनिएको थियो । कथामा आपसी प्रेमदेखि राजनीतिसम्म घुसेको थियो । यसपालि चाहिँ अर्कै महाभारत छ ।

ट्रेलरको सुरुवात महाभारतबाटै हुन्छ । यसले कथाको प्रवृत्ति र समयखण्ड पनि देखाउँछ । घरबाहिर आँगनमा १४ इन्चको श्यामश्वेत टिभीमा महाभारत हेरिरहेको दृश्यसँगै यहाँ अनेक पात्रहरू प्रवेश गर्न थाल्छन् । पहिले प्रवेश हुन्छ धर्मभीरु आमाको । त्यसपछि प्रवेश हुन्छ अधबैँसे छोराको । त्यसपछि वयस्क बुहारीको । त्यसपछि समस्याको । त्यसपछि लफडाको ।

यसरी पारिवारिक जीवनमा आइलाग्ने तगारोले यसको कथामा उतारचढाव ल्याउँछ ।

अघिल्लो भागमा दीपकराज गिरी र केकीको कथा जहाँबाट टुङ्गिएको थियो, त्यहीँबाट यो फिल्मको कथा अगाडि बढ्छ । अगाडि बढ्दै जाँदा सन्तानको कुरा आउँछ । तर, चाहे जसरी सन्तानलाभ हुँदैन । तब कथा कुइनेटोतिर घुम्न थाल्छ ।

यहाँ निःसन्तानपनको संवेदनशीलता मात्र छैन । त्यसमा अलिअलि मजाक छ । अलिअलि ठट्टा छ । अलिअलि यौनिकता छ । समग्रमा यसले नवरस पैदा गरिदिएको छ । हाँसो, खुसी, विस्मय, वियोग, संयोग ।

विगतमा जस्तै दीपक–दीपाको फिल्म फूल डोजको मनोरञ्जन लिएर हलमा आउँदै छ ।


कलाकार : दीपकराज गिरी, सनिशा भट्टराई, केकी अधिकारी, दीपाश्री निरौला, प्रकाश घिमिरे, कर्मा, रमा थपलिया, रियान गिरी, मेक्सम गौडेल, निर्मल शर्मा, रविन्द्र झा ।

ब्यानर : आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स ।

निर्माता : रोहित अधिकारी

कार्यकारी निर्माता : निर्मल शर्मा र सुरज बम ठकुरी

निर्देशक : दीपेन्द्र लामा

कथा, पटकथा : दीपकराज गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?