+
+
Shares

खगेन्द्र सुनारले रास्वपा अनुशासन आयोगमा लिखित जवाफ बुझाए

छानबिन समिति भन्छ– दशैंअघि आयोगलाई राय सुझाव पेस गर्न कठिन

रास्वपाको अनुशासन आयोगले यही विषयमा छानबिन गर्न छुट्टै समिति पनि गठन गरेको छ । उक्त समितिलाई रायसहित प्रतिवेदन बनाउने अख्तियारी पाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १५:४४

२९ असोज, काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका क्रममा उनले बोलेका भनिएका विषयमा सुनारले लिखित जवाफ पेस गरेको अनुशासन आयोगको उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईले जानकारी दिए ।

सुनारले आयोगलाई दिएको प्रतिक्रियामा उल्लेखित विषयहरूबारे भट्टराई बोल्न चाहेनन् । सुनारको प्रतिक्रिया आउनु अनुसन्धानको पहिलो चरण भएको आयोगले जनाएको छ ।

रास्वपाको अनुशासन आयोगले यही विषयमा छानबिन गर्न छुट्टै समिति पनि गठन गरेको छ । उक्त समितिलाई रायसहित प्रतिवेदन बनाउने अख्तियारी पाएको छ ।

समितिको कार्यावधि भने तोकिएको छैन । आयोगका उपप्रमुख भट्टराईको नेतृत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

‘अनुसन्धानको पहिलो चरण प्रतिक्रिया लिने हो । त्यसबाट आयोग सन्तुष्ट हुनसकिएन भने र अरु थप प्रमाण महशुस गर्‍यो भने अर्को चरणको अनुसन्धान सुरु हुन्छ,’ भट्टराईले अनलाइनखबरसँग भने ।

आज बसेको छानबिन समितिको पहिलो बैठकले सुनारको संवाद भनि आएका अडियोहरू संकलन गरिसकेको उनले बताए ।

‘अडियो भिडियोहरू हामीले संकलन गर्‍यौं । अडियो प्रकाशित गर्नेहरूसँग यो विषयसँग जोडिएका कुराहरू पठाएर अनुसन्धानमा सहयोग गर्न लेखी पठाउने निर्णय गरेका छौं,’ भट्टराईले भने ।

उक्त अडियो सबैभन्दा पहिले जनआस्था साप्ताहिकको अनलाइन संस्करणमा प्रकाशित भएको थियो । पीडित भनिएकी महिलाको भनी न्युज २४ टीभीमा प्रसारित सामग्रीसहित थप विषयहरू भए उपलब्ध गराउन आग्रह गरिने समितिले जनाएको छ ।

सम्पादन हुनुअघिको अडियो उपलब्ध गराउनका लागि छानबिन समितिले सम्बन्धित सञ्चार माध्यमलाई पत्राचार गर्ने भएको हो ।

प्राविधिक विषयहरूमा छानबिन समितिले विशेषज्ञको राय लिने भएको छ । कानुनको अधिनमा रहेर विशेषज्ञको राय लिने भट्टराईले जानकारी गराए ।

सुनारमाथि लागेको आरोपमा छिटो, छरितो, यथार्थपरक र विश्वसनीय छानबिन गर्ने समितिले दाबी गरेको छ ।

‘अनुसन्धान निकै गहिरोसँग हुँदैछ । विश्वासनीयता कायम गर्ने गरी हामीले काम गरिरहेका छौं,’ उपप्रमुख भट्टराई भन्छन् ।

राज्यको अनुसन्धानलाई व्यवधान नगर्नेगरी समितिले आफ्नो कार्य गरिरहेको उनले बताए ।  छानबिनको रिपोर्ट दशैंअघि आउन भने मुस्किल रहेको समितिले जनाएको छ ।

‘अनुसन्धानको क्रममा प्रमाणहरु कसरी अगाडि बढ्छन् ? अनुसन्धानले के माग गर्दछ अहिले भन्न सक्दँैनौ,’ भट्टराईले भने, ‘ओरिजनल अडियो पठाउन पत्राचार गरेका छौं । छिट्टै प्राप्त भयो भने हामी बैठक बसिहाल्छौं । दशैंको समय पनि छ । सांस्कृतिक चाँडहरू मान्न पाउँदैनौं भनेर छानबिन समितिका साथीहरुलाई भन्न सकिने कुरा होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?