News Summary
Generated by OK AI. Editorially reviewed.- गगनकुमार थापाले पार्टीको प्रशासनिक कामबाट अलग रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग संवाद गर्ने योजना अघि सारेका छन्।
- काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेसको संगठन, कार्यशैली र सोच्ने तरिका बदल्नुपर्ने भन्दै रोजगारी, वैदेशिक पलायन र सुशासनजस्ता मुद्दा सम्बोधन गर्नुपर्ने बताए।
- थापाले कांग्रेसलाई नागरिकका आकाङ्क्षा पूरा गर्ने साझा संस्था बनाउन सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिए।
३० असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नियमित प्रशासनिक कामबाट आफू अलग रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग संवाद गर्ने योजना अघि सारेका छन् ।
पार्टीका दैनिक काम वरिष्ठ उपसभापति र महामन्त्रीहरूले हेर्ने गरी आफू समसामयिक मुद्दा र नागरिकका समस्या बुझ्न देशभर घुम्ने उनले बताएका हुन् ।
शुक्रबार काठमाडौंमा नेपाल पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कांग्रेसको संगठन निर्माण, कार्यशैली र सोच्ने तरिका बदल्नुपर्ने बताए । उनका अनुसार विगतका नेताहरूको योगदानबाट प्रेरणा लिए पनि आजको समाजका प्रश्नको समाधान खोज्न वर्तमान पुस्ता आफैँ सक्रिय हुनुपर्छ ।
थापाले आजको नेपाली समाजका आवश्यकता सम्बोधन गर्न समुन्नतिको अवधारणा अघि सारे । रोजगारी, वैदेशिक पलायन, आर्थिक विकास, सुशासन, सामाजिक विभेद र वातावरण संरक्षणजस्ता चुनौतीलाई लोकतन्त्र र नागरिक अधिकारको रक्षासँगै सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।
सामाजिक सञ्जालमा मात्र केन्द्रित भएर समस्याको समाधान नहुने भन्दै उनले बन्द कोठामा छलफल, बहस र चिन्तनको आवश्यकता औँल्याए । नागरिकका आकाङ्क्षा पूरा गर्न सक्ने पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए ।
‘नेपाली कांग्रेसले आजको समाजका आवश्यकता, जनताका प्रश्न र समसामयिक मुद्दालाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ । सामाजिक सञ्जालमा मात्र केन्द्रित नभई छलफल, बहस र चिन्तनमार्फत समस्याको समाधान खोज्नुपर्छ,’ थापाले भने ।
उनले पार्टीका नियमित कामभन्दा बाहिर रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग भेटघाट गर्ने, उनीहरूका कुरा सुन्ने र समस्याको समाधान खोज्ने अवसर आफूलाई दिनुपर्ने बताए ।
कांग्रेस कुनै व्यक्ति विशेषको निजी सम्पत्ति नभई लाखौँ नागरिकको साझा संस्था भएको उल्लेख गर्दै थापाले पार्टीभित्र सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिए ।
कुनै नेता वा कार्यकर्ताको व्यक्तिगत आचरण र आर्थिक गतिविधिका लागि सिंगो पार्टीलाई जिम्मेवार बनाउन नहुने उनको भनाइ थियो । तर, व्यक्तिगत कमजोरीको दोष पार्टीले बोक्न नहुने र त्यस्ता गतिविधिको बचाउसमेत गर्न नहुने उनले स्पष्ट पारे ।
‘पार्टी नेतृत्वको समर्थन भनेको व्यक्तिका गलत कार्यको बचाउ गर्नु होइन, उसले पार्टी र जनताका लागि गर्ने सही कामलाई बलियो बनाउनु हो,’ थापाले भने ।
पार्टीलाई स्वच्छ, जिम्मेवार र जनउत्तरदायी बनाउन सानो तहबाटै सुधार सुरु गर्नुपर्नेमा उनले जोड दिए । सञ्चारमाध्यमलाई पनि कुनै व्यक्तिको व्यक्तिगत कमजोरीका आधारमा सिंगो पार्टीलाई दोषी नठहर्याउन उनले आग्रह गरे ।
प्रतिक्रिया 4