News Summary
Generated by OK AI. Editorially reviewed.- सोनाक्षी सिन्हाले सन् २०१० को ‘दबङ्ग’बाट अभिनय यात्रा सुरू गरेर सुरुवाती वर्षमा सफलता पाएकी थिइन्, तर सन् २०१३ पछि उनको करियर ओरालो लागेको लेखमा उल्लेख छ।
- उनले पछि करिब २० फिल्ममा काम गरे पनि अधिकांश असफल भए, यद्यपि ‘होलिडे’, ‘दबङ्ग ३’ र ‘मिसन मङ्गल’ सफल भएका थिए।
- सोनाक्षी अब पति जहीर इकबालसँग ‘तू है मेरी किरण’मा देखिँदै छिन्, जुन सन् २०२६ अक्टोबर २३ मा प्रदर्शनमा आउने तयारीमा छ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा चाँडै प्रदर्शनमा आउन लागेको फिल्म ‘तू है मेरी किरण’मा देखिँदै छिन् । फिल्ममा उनी आफ्ना पति तथा अभिनेता जहीर इकबालसँग देखिनेछिन् । यस फिल्मको ट्रेलरसमेत सार्वजनिक भइसकेको छ । पछिल्लो समय सोनाक्षीका थुप्रै फिल्म प्रदर्शनमा आए पनि बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न सकेका छैनन् । सुरुवाती दिनमा लगातार सफल फिल्म दिएकी सोनाक्षीको करियरमा पछि कसरी गिरावट आयो ? अब उनको नयाँ फिल्मले करियरलाई पुनः उचाइमा पुर्याउन सक्ला ?
सलमानसँग गरिन् सपनाजस्तो डेब्यु
अभिनेत्री सोनाक्षी सिन्हाले अहिलेसम्म ३१ फिल्ममा काम गरिसकेकी छन् । तीमध्ये केही सफल भए भने अधिकांश फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेनन् । सोनाक्षीले सन् २०१० सेप्टेम्बर १० मा प्रदर्शनमा आएको फिल्म ‘दबङ्ग’बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् । यस फिल्ममा उनी सलमान खानसँग देखिएकी थिइन् । फिल्मले बक्स अफिसमा सुपरहिट प्रदर्शन गर्दै १३८.८८ करोड भारतीय रुपैयाँ कमाएको थियो ।
सोनाक्षीका सुरुवाती पाँच फिल्ममध्ये ‘जोकर’बाहेक अन्य चार फिल्मले ठूलो सफलता हासिल गरेका थिए ।
सन् २०१२ सोनाक्षीका लागि निकै विशेष रह्यो । उक्त वर्ष चार सुपरहिट फिल्म दिएपछि उनी बलिउडकी प्रमुख अभिनेत्रीमध्ये एक बन्न सफल भइन् । तर, करियरको सुरुवाती वर्षमा पाएको यो लोकप्रियता लामो समयसम्म कायम रहन सकेन ।
सन् २०१३ पछि ओरालो लाग्यो करियर
सन् २०१२ मा सोनाक्षीका लगभग सबै फिल्म सफल भएका थिए । तर, सन् २०१३ पछि उनको करियरको ग्राफ लगातार ओरालो लाग्न थाल्यो । त्यसपछि उनले करिब २० फिल्ममा काम गरिन्, जसमध्ये एक–दुईबाहेक अधिकांश असफल भए ।
सन् २०१२ पछि सोनाक्षीले मुख्य भूमिकामा रहेर ‘अकीरा’ र ‘निकिता रोय’ जस्ता फिल्ममा पनि काम गरिन् । तर, ती फिल्मले पनि बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न सकेनन् । यस अवधिमा उनले थुप्रै ठूला कलाकारसँग काम गरिन् भने ठूला बजेटका फिल्ममा समेत अभिनय गरिन् । तर, सन् २०१२ मा जस्तो सफलता उनले फेरि दोहोर्याउन सकिनन् ।
केही फिल्मले जगाएका थिए आशा
यद्यपि, केही फिल्मले सोनाक्षीको करियरमा आशा जगाएका थिए । सन् २०१४ मा प्रदर्शनमा आएको ‘होलिडे : अ सोल्जर इज नेभर अफ ड्युटी’, सन् २०१९ को ‘दबङ्ग ३’ र मल्टिस्टारर फिल्म ‘मिसन मङ्गल’ सफल भएका थिए । त्यस्तै, सन् २०१३ को ‘आर राजकुमार’ र सन् २०१७ को ‘इत्तेफाक’ले पनि औसतभन्दा राम्रो प्रदर्शन गरेका थिए ।
तर, सन् २०१२ पछि सोनाक्षीका लागि कुनै पनि वर्ष विशेष उपलब्धिमूलक बन्न सकेन ।
विवाहपछि पनि ट्रोलिङको सामना
सोनाक्षी सिन्हा र जहीर इकबालले सात वर्षको प्रेम सम्बन्धपछि सन् २०२४ जुन २३ मा कानुनी विवाह गरेका थिए । घरमै दर्ता गरिएको उक्त विवाहमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी थिए । त्यसपछि उनीहरूले मुम्बईमा भव्य रिसेप्सन आयोजना गरेका थिए ।
तर, विवाहपछि अभिनेत्रीले फरक धर्मका व्यक्तिसँग विवाह गरेको भन्दै सामाजिक सञ्जालमा ट्रोलिङको सामना गर्नुपरेको थियो । यद्यपि, दुवैले यस्ता टिप्पणीलाई बेवास्ता गरे ।
सोनाक्षी सिन्हा अब पति जहीर इकबालसँग फिल्म ‘तू है मेरी किरण’मार्फत दर्शकमाझ आउँदै छिन् । करण रावलले लेखन तथा निर्देशन गरेको यस फिल्ममा जहीर र सोनाक्षी मुख्य भूमिकामा देखिनेछन् । फिल्मको निर्माण सर्वेश गोयल, अश्वनी कुमार, मनोज दराक र नृपाल पटेलले संयुक्त रूपमा गरेका छन् ।
‘तू है मेरी किरण’ सन् २०२६ अक्टोबर २३ मा प्रदर्शनमा आउने तयारीमा छ ।
अब हेर्न बाँकी छ, यो फिल्मले सोनाक्षीको करियरमा नयाँ मोड ल्याउन सक्छ वा सक्दैन । अथवा, विगतका फिल्मजस्तै यो पनि उनको फिल्म सूचीमा अर्को एउटा नाम मात्र थपिनेछ ।


प्रतिक्रिया 4