+
+
Shares

काठमाडौं उपत्यकाका सडकमा बढ्न थाल्यो सवारी चाप

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ४ गते १९:००

४ कात्तिक, काठमाडौं । मान्यजनबाट विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ।

बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइतपछि सडकमा सवारी साधनको सङ्ख्या बढेको छ। सार्वजनिक यातायातमा यात्रुको चाप बढेसँगै भीडभाड पनि देखिन थालेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उपत्यका प्रवेश गर्ने प्रमुख नाकासहित काठमाडौं, भक्तपुर र ललितपुरका मुख्य सडकमा सवारी साधन सामान्य अवस्थामा सञ्चालन भइरहेका छन्।

‘टीकाका दिन आज आफन्तकहाँ आउने–जाने मानिसको सङ्ख्या उल्लेख्य रूपमा बढ्दा गत दुई–तीन दिनको तुलनामा उपत्यकाका सडकमा सवारी साधन बाक्लो देखिएको छ’, उनले भने।

ट्राफिक व्यवस्थापन चुस्त बनाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन गरिएको उनले बताए। ट्राफिक प्रहरीले सम्भावित क्षेत्रमा निगरानी बढाउनुका साथै ट्राफिक नियम पालना गराउन नियमित जाँच गरिरहेको छ।

दसैँ मनाउन गाउँघर पुगेका सर्वसाधारण आफ्नो पेसा व्यवसायमा फर्किन काठमाडौं आउने क्रम पनि आजैदेखि सुरु भएको छ।

नेपाल प्रहरीसँगको समन्वयमा यात्रु सुरक्षाका लागि सवारी साधनको यान्त्रिक परीक्षण, तीव्र गति नियन्त्रण तथा चालकले मादक पदार्थ र लागुऔषध सेवन गरे–नगरेको परीक्षणलाई निरन्तरता दिइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए।

ट्राफिक प्रहरीको सक्रियताका कारण सडक दुर्घटना र मानवीय क्षति न्यूनीकरण भएको उनको भनाइ छ।

दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्ने भएकाले प्रमुख नाका र राजमार्गमा सोहीअनुसार व्यवस्थापन गरिने प्रहरीले जनाएको छ। सुरक्षा निकायको अनुमानअनुसार दसैँका अवसरमा काठमाडौं उपत्यकाबाट करिब १० लाख नागरिक बाहिरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?