+
+
Shares

साउदीको किङ फहद विमानस्थलमा आक्रमण, एक जनाको मृत्यु, आठ घाइते

अमेरिकाद्वारा आफ्ना कर्मचारीलाई साउदी अरबबाट बाहिरिन आदेश

साउदी अरबका विमानस्थल तथा तेल पूर्वाधारलाई लक्षित आक्रमणका घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ५ गते ८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
  • साउदी अरबको हवाई प्रतिरक्षा प्रणालीले शेइबा तेल क्षेत्रमा आएको ड्रोन अवरोध गर्दा दुई जनाको मृत्यु भएको ऊर्जा मन्त्रालयले जनाएको छ।
  • हुथी आक्रमण जारी रहेपछि अमेरिकाले साउदी अरबस्थित आफ्ना कूटनीतिक नियोगका कर्मचारी र उनीहरूका परिवारलाई बाहिरिन आदेश दिएको छ।

५ कात्तिक, काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले बुधबार जारी गरेको विज्ञप्तिअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्राधिकरणले जनाएको छ ।

यसअघि बुधबार नै साउदी अरबको हवाई प्रतिरक्षा प्रणालीले शेइबा तेल क्षेत्रमा रहेको साउदी अरामकोको एक संरचनालाई लक्षित गरी आएको ड्रोनलाई अवरोध गरेको थियो । त्यस क्रममा दुई जनाको मृत्यु भएको साउदी अरबको ऊर्जा मन्त्रालयले जनाएको छ ।

यमनमा हुथी विद्रोही र साउदी अरबको समर्थन प्राप्त अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारबीच द्वन्द्व चर्किरहेका बेला साउदी अरबका विमानस्थललाई लक्षित गरी आक्रमणका घटना बढेका छन् ।

गत साता अक्टोबर ११ मा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र आक्रमणमा एक जनाको मृत्यु र ११ जना घाइते भएको साउदी अरबले जनाएको थियो । त्यसको अघिल्लो दिन, अक्टोबर १० मा सोही विमानस्थलमा भएको अर्को आक्रमणमा १२ जनाको मृत्यु भएको र ३०० भन्दा बढी घाइते भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको थियो ।

अमेरिकाद्वारा आफ्ना कर्मचारीलाई साउदी अरबबाट बाहिरिन आदेश

यसैबीच, हुथी विद्रोहीका आक्रमण जारी रहेपछि अमेरिकाले साउदी अरबस्थित आफ्ना कूटनीतिक नियोगमा कार्यरत कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई त्यहाँबाट बाहिरिन बुधबार आदेश दिएको छ ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले क्षेत्रका अन्य केही अमेरिकी नियोगबाट पनि कर्मचारीका परिवारलाई फिर्ता लैजाने योजना रहेको जनाएको छ ।

अमेरिकी दूतावासले पनि बुधबार रियादमा सुरक्षा सतर्कता जारी गर्दै हुथी विद्रोहीबाट साउदी अरबमाथि थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।

साउदी अरबका विमानस्थल तथा तेल पूर्वाधारलाई लक्षित आक्रमणका घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?