+
+
Shares

नेपाली राष्ट्रवाद भनेको भारत-विरोध हो भन्ने युग अब सकियो : अर्थमन्त्री वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतको विरोधसँग जोड्ने युग सकिएको बताएका छन्।
  • नयाँदिल्लीको एनडीटीभी वर्ल्ड समिट २०२६ मा उनले नयाँ पुस्ताको आकांक्षा आर्थिक समृद्धि, सुशासन र असल छिमेकी सम्बन्ध रहेको बताए।
  • उनले यसै वर्षको अन्त्यअघि नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुने अपेक्षा रहेको र भारतसँग थप लगानी तथा बजार पहुँच चाहिएको खुलाए।

६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको बताएका छन्।

भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नयाँ पुस्ताको आकांक्षा आर्थिक समृद्धि र सुशासन रहेको स्पष्ट पार्दै नेपालको परराष्ट्र नीति सकारात्मक दिशामा अघि बढेको बताएका हुन्।

विगतमा दशकौंसम्म निश्चित वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई भारत-विरोधसँग जोडेर हेर्ने भाष्य निर्माण भएको उनले स्मरण गरे। ‘तर, हाम्रो पुस्ता फरक छ। हामीले विश्व देखेका छौँ, हाम्रा आकांक्षाहरू आर्थिक छन्। हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौँ,’ डा. वाग्लेले भने, ‘त्यसैले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी-इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो।‘

नेपालको परराष्ट्र नीति, आर्थिक कूटनीति र दैनिक कामकारबाही अहिले यही सकारात्मक र यथार्थपरक सोचका साथ अघि बढिरहेको उनको भनाइ छ। दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन यसै वर्षको अन्त्यअघि नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्ने अपेक्षा रहेको पनि उनले खुलासा गरे।

नेपाल र भारतको भाग्य र भविष्य एकआपसमा जोडिएको बताउँदै उनले आर्थिक समृद्धिका लागि भारतसँगको सघन सहकार्य अपरिहार्य रहेको औँल्याए। भूपरिवेष्ठित देशका लागि छिमेकीको विकासको ‘स्पिलओभर इफेक्ट’ महत्त्वपूर्ण हुने तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘छिमेकीको अर्थतन्त्र १ प्रतिशतले वृद्धि हुँदा भूपरिवेष्ठित देशलाई औसतमा ०.७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त हुन्छ।‘

नेपालले भारतबाट थप प्रत्यक्ष वैदेशिक लगानी र नेपाली उत्पादनका लागि सहज भारतीय बजारको अपेक्षा गरेको उनले बताए।

दुई देशबीचको सम्बन्ध भूगोल र अर्थतन्त्रभन्दा माथि उठेर सभ्यतासँग जोडिएको डा. वाग्लेको तर्क छ। सन् २०१५ को विनाशकारी भूकम्पदेखि हालैको बाढीपहिरोसम्मका विपद्मा भारत सधैँ ‘पहिलो उद्धारकर्ता’ का रूपमा उभिएको र नेपाल त्यसप्रति आभारी रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?