News Summary
Generated by OK AI. Editorially reviewed.- रामेछापको मन्थली नगरपालिका–१ सानिमदौमा श्याम सुवेदी परिवारले १०२ छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ।
- आइतबार सम्पन्न कार्यक्रममा २६ जनालाई पूर्ण र ७६ जनालाई आंशिक छात्रवृत्ति दिइएको हो।
- कार्यक्रममा शिक्षण–सिकाइमा योगदान दिएका दुई शिक्षकलाई जनही २० हजार रुपैयाँसहित सम्मान गरिएको छ।
८ कात्तिक, काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१ सानिमदौमा १०२ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । मन्थली नगरपालिका–१ निवासी श्याम सुवेदी तथा उहाँको परिवारले ११ वर्षअघि सुरु गरेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष विभिन्न आठ विद्यालय तथा शैक्षिक संस्थाका छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो ।
सानिमदौस्थित सामुदायिक भवनमा आइतबार सम्पन्न कार्यक्रममा २६ जना छात्रालाई पूर्ण र ७६ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिएको हो । आर्थिक अभावका कारण पढाइमा समस्या भोग्न सक्ने छात्रालाई अध्ययनमा सहयोग पुर्याउने उदेशयले छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ ।
पूर्ण छात्रवृत्तिअन्तर्गत क्याम्पस तहका छात्रालाई जनही १८ हजार रुपैयाँ नगदसहित र्ट्याकसुट, ब्याग तथा कापी–कलम प्रदान गरिएको छ । विद्यालय तहका पूर्ण छात्रवृत्ति पाउने छात्रालाई जनही १० हजार रुपैयाँ नगदसहित र्ट्याकसुट, ब्याग तथा कापी–कलम उपलब्ध गराइएको छ ।
त्यस्तै, आंशिक छात्रवृत्ति पाउने छात्रालाई र्ट्याकसुट, ब्याग तथा वर्षभरि पुग्ने कापी–कलम प्रदान गरिएको छ ।
यस वर्षको छात्रवृत्ति मन्थली माध्यमिक विद्यालय, भैरवी माध्यमिक विद्यालय सुनारपानी, तामाकोसी क्याम्पस खिम्ती, सेतीदेवी माध्यमिक विद्यालय सालु, सिद्धेश्वर माध्यमिक विद्यालय गैराथोक, रामेछाप बहुप्राविधिक शिक्षालय मन्थली, सहिद स्मृति क्याम्पस मन्थली र मन्थली स्काउट मन्थलीमा अध्ययनरत छात्रालाई प्रदान गरिएको हो ।
श्याम सुवेदी तथा उनको परिवारले ११ वर्षदेखि निरन्तर रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
कार्यक्रममा विद्यार्थीलाई शिक्षण–सिकाइमा उत्कृष्ट बनाउन योगदान पुर्याएका दुई शिक्षकलाई पनि नगदसहित पुरस्कृत गरिएको छ ।
आफ्नो विद्यालयमा गणित विषयमा कमजोर रहेका विद्यार्थीलाई उत्कृष्ट अंक ल्याउन सक्ने बनाउन निरन्तर मेहनत गर्दै आाएका खाडादेवी माध्यमिक विद्यालय चोप्राङ रामेछापका गणित शिक्षक सुबोध यादव र पशुपति माध्यमिक विद्यालय भुलभुलेका अंग्रेजी शिक्षक प्रलाद खत्रीलाई जनही २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
प्रतिक्रिया 4