+
+
Shares
फिक्सन :

कबड्डी : नेभर इन्डिङ स्टोरी र जात्रा रिटर्न्स : ज्वाइसाब बिकम्स जम्बी

शिव मुखिया शिव मुखिया
२०८३ कात्तिक ८ गते २०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ बानेश्वर चोकमा घोडा मार्ने जात्राको दृश्य खिचेर ‘जात्रा रिटर्न्स : ज्वाइँ बिकम्स जम्बी’को क्लाइमेक्स बनाउने तयारी गरिएको थियो ।
  • मनोज पण्डितले उक्त फिल्मले एडल्ट सर्टिफिकेट पनि नपाउने र सेन्सर बोर्डले पास नगर्ने भन्दै प्रदीप भट्टराईलाई चेतावनी दिएका थिए ।
  • होस खुलेपछि प्रदीप भट्टराईले ‘बधशाला’को सिक्वेलका लागि ‘बधशाला : एक उत्सव’ शीर्षक प्रस्ताव गरेका थिए ।

बानेश्वर चोकको बहुतले भवन ‘स्वर्णिम खलिफा’मा पहिलो पटक सिनेमा घर सञ्चालनमा आएको थियो ।

वि.सं. २०८५ सालबाट निर्माण सुरु भएर १५ वर्षमा तयार भएको यस भवनको उद्घाटन अर्थमन्त्री डायमन्ड थापाले गरेका थिए । भवनको सबैभन्दा माथिल्लो तलाको नाम दिइएको थियो, सौम्य हल ।

त्यही हलमा वयोवृद्ध निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’को १२औँ शृङ्खला प्रदर्शनमा आएको थियो । फिल्मको यस शृङ्खलालाई निर्देशक गुरुङले यस्तो नाम दिएका थिए, कबड्डी : नेभर इन्डिङ स्टोरिज ।

यतिबेलासम्म सोसल ड्रामा फिल्महरू दर्शकले रुचाउन छाडिसकेका थिए । त्यसैले यसलाई ‘एक्सन रोमान्स’ बनाइएको थियो । फिल्ममा छन्त्यालका छोरोलाई एन्टीहिरो बनाइएको थियो, जसले झाँक्रीको जटा उखेल्दै लखेट्छ ।

ठीक यही बेला अर्का पाका निर्देशक प्रदीप भट्टराई भने ‘जात्रा’को सिक्वेल बनाउने तयारीमा थिए । उनको पहिलो फिल्म ‘जात्रा’ सुपरहिट भएको थियो । त्यही फिल्मको यो आठौँ भाग थियो ।

‘जात्रा रिटर्न्स : ज्वाइसाब बिकम्स जम्बी’ नाम दिइएको यस फिल्मको कथा भने धेरै अगाडि बढिसकेको थियो ।

…………

कथाका मूल पात्र फणिन्द्रप्रसाद पहिलेको जस्तो भोलावाला भूमिकामा थिएनन् । ससुरालीमा एक प्याक ह्विस्की र दुई टुक्रा चिकेन चिल्ली खाइरहँदा पनि ससुराको हेपाइ सहने निमुखा ज्वाइँ थिएनन् ।

मसिनो स्वरले ‘दर्शन बुबा हजुर’ भन्दै प्रस्तुत हुने उनलाई निर्देशक भट्टराईले ‘जम्बी’ बनाइसकेका थिए । ऊ मान्छेको मासु लुछ्न र रगत पिउन माहिर भइसकेको थियो ।

फणिन्द्रले ‘दर्शन’ थेगो लगाएर डाइलग बोल्दा पृष्ठभूमिमा भयानक साउन्ड इफेक्ट प्रयोग गरिन्थ्यो ।

किनभने अबका दर्शकले ‘सोसल फिक्सन थ्रिलर’ जस्ता फिल्म मात्र हेर्न थालिसकेका थिए । कथामा जति धेरै डर, कम्पन, त्रासदी, अत्यास ल्याउन सक्यो, उति नै फिल्म जोडदार हुने सम्भावना थियो ।

दर्शकहरू हाँस्न र रुन छाडिसकेका थिए । मानवीय संवेदनाका कथाहरू बिक्न छाडेका थिए । दर्शकहरू एउटै कुरामा मात्र रमाइलो मान्थे, डर ।

तर यही नाम राखेर दिग्गज अभिनेता जयकिशन बस्नेतले बनाएको फिल्म उति चलेको थिएन । नचले पनि उनले ‘डर’को पाँचौँ सिक्वेल बनाइसकेका थिए । सस्पेन्स थ्रिलर विधाको यो फिल्म हेरेर दर्शकहरू डराउनेभन्दा पनि बढी हाँस्ने गर्थे । जबकि फिल्ममा कुनै कमेडी दृश्य थिएन ।

‘डर’ फिल्मको हालतबाट पाठ सिकेर आफ्नो फिल्ममा कसरी डरलाग्दा दृश्यहरू राख्ने भनी प्रदीप भट्टराई चाहिँ रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीसँग क्लोज क्याम्पमा बस्थे । यी तीन भाइ षट्कोण आर्ट्सको तल्लो तलामा रहेको सिद्धार्थ कक्षमा बसेर मध्यरातसम्म अत्यासलाग्दो दृश्य, भयानक संवादहरूको खेस्रा लेखिरहेका हुन्थे ।

प्रदीप भट्टराईको समस्या के थियो भने उनी डरलाग्दो पात्रको संवादमा पनि हास्यरस मिसाइदिन्थे । आफ्नो हिरोलाई एकदमै निरीह र कमजोर बनाइदिन्थे ।

जबकि हिरो फणिन्द्र तिम्सिना पहिले जस्तो पुलिस आउँदा खाटमुनि लुकेर चिहाउने निर्धो भूमिकामा थिएनन् । उनी त ससुरालाई समेत झम्टिएर घाँटी न्याक्ने भइसकेका थिए ।

काट्नु, मार्नु, चिथोर्नु, लुछ्नु उनका लागि कुनै ठूलो कुरो थिएन । उनी आफ्ना तिखा नङ्ग्राहरूले अरूको मासु लुछ्थे र तृप्त हुने गरी खान्थे ।

…………

जोम्बीको भूमिकामा वरिष्ठ अभिनेता विपिन कार्कीलाई लिइएको थियो । विपिनलाई जम्बीमा रूपान्तरण गर्नका लागि फिल्म निर्माण टिमले दैनिक चार केजी सेकुवा, सातवटा अण्डा र एक लिटर दूध खुवाउने गरेका थिए ।

त्यसबेला मासुको खपत अत्यधिक हुने भएकाले यसको मूल्य छोइनसक्नु थियो । छाकैपिच्छे चार–पाँच केजी बफ सेकुवा खुवाउँदा विपिनमाथि गरिने खर्च दोब्बर बढ्थ्यो ।

यसरी एउटै पात्र निर्माण गर्दा धेरै खर्च गर्नु परेपछि म्याक्स खत्रीको ओठमुख सुकेको थियो । तर, रवीन्द्रसिंह बानियाँले एउटा निन्जा टेक्निक लगाएर फिल्म निर्माणको बजेट घटाउने जुक्ति बताएपछि म्याक्स सम्हालिएका थिए । र, उनले त्यही बेला कोल्ड कफी मगाएर घटघट पिएका थिए ।

फिल्ममा अर्को गजब चरित्र निर्माण गरिएको थियो, मुन्ना । तर यसपालि मुन्नाको भूमिका सुनेपछि रवीन्द्र झा झस्किएका थिए ।

किनभने फिल्म ‘जात्रा’को पहिलो भागमा जस्तो उनलाई ‘दाइ भन, भाइ भन तर नाइँ नभन ल’ भन्ने शैलीको संवाद दिइएको थिएन । बरु आफ्ना सैलुनमा कपाल काट्न आउने ग्राहकको गिदी निकालेर चाट्ने सिरियल किलर बनाइएको थियो ।

यहाँ प्रदीप भट्टराईलाई के समस्या थियो भने जोम्बीको कथामा जति धेरै रक्तपात देखाए पनि त्यसको रङ रातो देखाउन मिल्दैनथ्यो । धेरै दर्शक कलर ब्लाइन्ड भइसकेका थिए र फिल्मको कलर ग्रेडिङ गर्दा सबै दर्शकले हेर्न सक्ने खालको बनाउनुपर्ने हुन्थ्यो ।

अर्को समस्या भाषामा थियो । फिल्मका सबै नेपाली संवाद जेन अल्फा पुस्ताका दर्शकले बुझ्दैनथे । उनीहरूका लागि अंग्रेजी वा कोरियन सबटाइटल राख्नैपर्थ्यो ।

यसरी भाषिक समस्याका कारण फिल्ममा धेरै संवाद राख्नु व्यर्थ हुन्थ्यो । बरु दृश्यभाषा अतिरञ्जित र भव्य बनाउनैपर्ने अवस्था थियो ।

यसैका लागि रवीन्द्रसिंह बानियाँको निन्जा टेक्निक काम आउनेवाला थियो । उनले क्लाइमेक्सलाई भयानक बनाउनका लागि छायाङ्कनस्थल नयाँ बानेश्वर रोजेका थिए । अनि याम चाहिँ, दसैँको छेको ।

यतिबेला दुईवटा कुरा एकसाथ हुन्थे । पहिलो, रामबाबु गुरुङको ‘कबड्डी’ हेर्न आउने दर्शकको भीड । दोस्रो, घोडा मार्ने जात्रा ।

त्यसबेलासम्म यो जात्रा देशव्यापी भइसकेको थियो । नयाँ बानेश्वर चोक यसको इपिसेन्टर थियो ।

कोटेश्वर, थापाथली, सिनामङ्गल, गौशालातिरबाट सयौँ घोडा बानेश्वर चोकमा ल्याएर छाडिन्थ्यो । त्यसको टाउकोतर्फ मोटो फलामे साङ्लो बाँधिएको हुन्थ्यो । दर्जनौँ युवाहरूले घोडालाई टाउकोतर्फ साङ्लोबाट घिसार्थे भने अर्कोतर्फका युवाहरूले पुच्छरबाट तान्थे । यसरी लुछाचुँडी गरेर जति भयानक ढङ्गले घोडाको बध गरिन्छ, उति नै मुलुकमा फलिफाप हुन्छ भन्ने किंवदन्ती थियो ।

यतिबेला घोडाहरूको चिच्याहट, युवाहरूको अट्टहासपूर्ण हाँसो, बालबच्चाहरूको भागदौड निकै भव्य देखिन्थ्यो ।

सिनेम्याटिक वाइड फ्रेममा यो दृश्य कैद गर्न सके ‘जात्रा रिटर्न्स : ज्वाइँ बिकम्स जम्बी’को क्लाइमेक्स जीवन्त, भव्य र भयानक हुनेमा उनीहरू ढुक्क थिए । रौद्र रसमा उत्रने हजारौँको भीड खिच्न उनीहरूले जनही पाँच सयको दरले पारिश्रमिक दिनुपर्थेन । न खर्चिलो भीएफएक्स नै प्रयोग गर्नुपर्थ्यो ।

यहाँ देखिने वास्तविक दृश्य खिचेर फिल्मको क्लाइमेक्समा जम्बीले उपद्रो मच्चाएको कथासँग जोड्ने उनीहरूको आइडिया थियो ।

उत्तरतिरका मनास्लु, गणेश हिमालहरू निख्खर कालो देखिन्थे । हिउँदको यो सुरुवाती याममा काठमाडौंको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसमा पुगेको थियो । रूखहरूका पात झरेर जिङ्ग्रिङ्ग थिए, जसलाई धुलोले छोपेर उराठलाग्दो देखिएको थियो ।

……………….

हलिउडले थुप्रै फिल्म बनाइसकेको ‘जम्बी’माथि पहिलो पटक नेपाली फिल्म बन्दै थियो । यो काल्पनिक पात्र नेपाली भूतप्रेत, किचकन्याभन्दा कता हो कता शक्तिशाली हुन्थ्यो ।

भविष्यमा कुनै दिन जैविक विकारका कारण मान्छेहरू जोम्बी बन्छन् भन्ने कल्पनामा डुबेर कसैले यो पात्र सिर्जना गरेको थियो । मान्छे जोम्बी भएपछि उसलाई अर्को मान्छेको मासु र रगतको तिर्सना लाग्न थाल्छ ।

किनभने त्यसबेलासम्म यो धर्तीमा मान्छेबाहेक अरू प्राणी नै बाँकी रहँदैनन् । वैज्ञानिकहरू भन्छन्, मान्छेका कारण आठ सय ७५ वटा जीव लोप भए । अब तिनीहरू यो धर्तीमा फेरि कहिल्यै जन्मने छैनन् ।

केही वर्षअघि मात्र कुकुर प्रजाति लोप भएपछि नेपाली फिल्ममेकरहरूलाई ‘जोम्बी’माथि कथा लेख्ने जाँगर चलेको थियो । प्रहरीले अपराध अनुसन्धानमा कुकुर डोहोर्‍याउन छाडिसकेका थिए र तिहारमा कुकुरको साटो कुखुराको पूजा गर्न थालिएको थियो ।

……………

अन्ततः क्लाइमेक्सको दृश्य छायाङ्कन हुने दिन थियो ।

घोडाहरू लखेटिँदै थिए । ती प्राणीहरूको पुच्छर र टाउको लुछाचुँडी गरिँदै थियो । आधा शरीर क्षतविक्षत भएर पनि प्राण त्याग्न नसकेका घोडाहरू छटपटाएको दृश्य साँच्चै गजब थियो ।

‘जात्रा रिटर्न्स : ज्वाइसाप बिकम्स जम्बी’को टिमले चारवटा क्यामेराले दृश्य कैद गर्दै थियो ।

यत्तिकैमा प्रदीप भट्टराईले आफ्नो मधुरो स्वरलाई चर्को बनाउँदै भन्यो, ‘एक्सन …।’

उनले एक्सन भन्नु र उनको टाउकोमाथि कुनै चिजले हिर्काउनु एकसाथ भयो । त्यसै पनि आत्तिरहेका थिए उनी । हत्तपत्त पछाडि फर्केर हेरे । पछाडि केन्द्रीय चलचित्र जाँच समितिका भूतपूर्व विज्ञ सदस्य मनोज पण्डित ठिङ्ङ उभिएका थिए ।

उनको हातमा उही कैंची थियो, जो मुन्नालाई यस फिल्ममा ग्राहकको गिदी निकाल्ने औजारका रूपमा प्रयोग गर्न लगाइएको थियो ।

मनोज पण्डितले दुवै हातले कैंचीको बिँड समातेर प्रदीप भट्टराईको घाँटीतिर लक्षित गर्दै भने, ‘तिम्रो फिल्मले एडल्ट सर्टिफिकेट पनि पाउँदैन । के तिमी एक्लै बसेर हेर्छौ ? यो फिल्म सेन्सर बोर्डले पास गर्दैन ।’

प्रदीप भट्टराईले ‘किन ?’ भनेर प्रश्न गर्न नपाउँदै मनोज पण्डितले यति मात्र भने, ‘तिम्रो फिल्म हेरेर मान्छेहरू जोम्बी बन्नेछन् । साइकोप्याथ बन्नेछन् ।’

यत्तिको श्रम, समय र सम्पत्ति लगाएर निर्माण गरिँदै आएको फिल्म अब चल्ने छैन? प्रदीप भट्टराईको मनमा आँधीबेहरी चल्यो । उनका आँखाले दृश्यहरू धमिलो देखे । आवाजहरू सुन्न छाडे । उनी भुइँमा डङ्ग्रङ्ग पछारिए ।

ट्याग सिन

होस खुल्दा उनी त्यही स्टेसनरी पसलमा थिए, जहाँ फणिन्द्र तिम्सिनाले ‘जात्रा’ फिल्ममा एक बोरा पैसा फेला पारेका थिए ।

फणिन्द्र त थिएनन्, तर उनको सिरानीमा त्यही बोरा थियो । त्यही पैसा थियो । उनका दुईतिर रवीन्द्रसिंह बानियाँ र म्याक्स खत्री टुक्रुक्क बसेका थिए । उनीहरूको ओठ अर्धचन्द्राकार थियो ।

‘अब यो पैसाको के काम ?’ प्रदीप भट्टराईले सोधे ।

उनको प्रश्नको जवाफ आउनुअघि सटरबाहिर मनोज पण्डित र निश्चल बस्नेत पुगिसकेका थिए । सटर बन्द गरेर पसलभित्र के कुरा भइरहेको छ भनी निश्चल बस्नेतले कान थापेर सुने ।

भित्र रवीन्द्रसिंह बानियाँ भनिरहेका थिए, ‘अब यो पैसाले अर्को फिल्म बनाउने । त्यो मनोज पण्डितको फिल्म थियो नि, ‘बधशाला’… हो, त्यही फिल्मको सिक्वेल बनाउने ।’

‘टाइटल के राख्ने ?’ यो म्याक्सको आवाज थियो ।

हत्त न पत्त प्रदीप भट्टराई बोले, ‘बधशाला : एक उत्सव ।’

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?