News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद बैठकले असोज ३० गते चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डितलाई नियुक्त गरेको थियो।
- मनिष पण्डितले यसअघि ‘जाइरा’ र ‘ग्याङस्टार ब्लुज’ फिल्म निर्माणमा काम गरेका थिए र बोर्डमा बक्स अफिस कन्सल्टेन्टका रूपमा पनि जिम्मेवारी सम्हालेका थिए।
- बोर्ड अध्यक्षका लागि ११ जनाले आवेदन दिएका थिए, जसबाट मनिष पण्डित, नरेशकुमार पौडेल र निशा अधिकारी सर्टलिस्टमा परेका थिए।
दसैंको माहौल सुरु भइसकेको थियो । मान्छेहरू किनमेल र मूलघर फर्कने चटारोमा थिए । सहरका सटरहरू बन्द हुँदै थिए र कर्मचारीहरू अन्तिम दिनको हाजिरी गरेर निस्कँदै थिए ।
सप्ताहन्तको त्यही साँझ चलचित्रवृत्तमा ‘बधाई’ को तरंग फैलियो । यो बधाईको पछाडि जोडिएको एउटै नाम थियो, मनिष पण्डित ।
खासमा उनी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका थिए । असोज ३० गते शुक्रबार दसैंको पूर्वसन्ध्यामा मन्त्रिपरिषद बैठकले उनलाई बोर्डको नेतृत्व सुम्पिएको थियो । यद्यपि यसलाई आधाकारिक रूपमा कतै उल्लेख गरिएको थिएन ।
जे होस्, दिनेश डिसीको बिदाइसँगै बोर्डको रिक्त कुर्सीले नयाँ अध्यक्ष पाएको थियो । र, अध्यक्षमा उल्लेख भएको नाम फिल्मवृत्तका लागि अनपेक्षित थिएन ।
डिसीलाई बिदाई गरिरहँदा नै फिल्मकर्मीबीच ‘अब को हुन्छ अध्यक्ष’ भन्ने अड्कलबाजी सुरु भएको थियो । अनि त्यसमा धेरैले लिने नाम थियो, मनिष पण्डित।
किन त ? यो प्रश्नको जवाफ खोज्नुअघि मनिष पण्डितको फिल्मी पृष्टभूमि थाहा पाउनु जरुरी हुन्छ । के वास्तवमै उनी फिल्मलाई बुझेका र फिल्ममै रुझेका मान्छे हुन् ?
को हुन् मनिष पण्डित ?
मनिष पण्डित फिल्मवृत्तमा त्यति चल्तापूर्जा नाम होइन । सिनेमासँग न उनले लामो यात्रा गरेका छन्, न अग्लो दूरी नापेका छन् । उनी औसत फिल्म निर्माण गर्दै यस क्षेत्रमा प्रवेश गरेका हुन् ।
उनी दुई वटा फिल्म निर्माणमा संलग्न थिए । एउटा फिल्म ‘जाइरा’ । अभिनेत्री नम्राता श्रेष्ठको यो फिल्मबाट उनको यात्रा सुरु भएको बुझिन्छ । उनलाई नजिकबाट चिन्नेहरूका अनुसार मनिष सुरुमा नम्रता श्रेष्ठका म्यानजेरका रूपमा पनि क्रियाशिल थिए । पछि अर्को फिल्मको निर्माण टिममा रहे, ग्याङस्टार ब्लुज । यसमा उनी कार्यकारी निर्माता थिए ।
यसरी फिल्मको निर्माण टिममा रहेर काम गरेपछि उनको प्रवेश भयो, चलचित्र विकास बोर्डमा । त्यहाँ उनको भूमिका थियो, बक्स अफिस कन्सल्टेन्ट । उनलाई बक्स अफिस परामर्शदाताका रूपमा भित्र्याउने काम गरेकी थिइन्, निकिता पौडेलले । उनी सो बखत बोर्डकी अध्यक्ष थिइन् । निकितासँग रहेर मनिषले बक्स अफिसको संयन्त्र निर्माणमा ठोस काम गरे ।
देशभरका सिनेमा घरमा बिक्री हुने टिकटको तथ्यांक संकलन गरेर कुन फिल्मले कूल आम्दानी कति गर्यो भनी डिजिटल बहीखाता तयार गर्न उनको खास योगदान रह्यो । यसरी बक्स अफिस प्रणाली लागू भएपछि फिल्मको कारोबार स्पष्ट र पारदर्शी देखिन्थ्यो । सिनेमा निर्माण, त्यसको अर्थतन्त्र र प्रविधिबारे उनमा खास दक्षता रहेको पाइन्छ ।
चलचित्र विकास बोर्ड हाँक्नका लागि उनलाई यी क्षमताहरूले कति सहयोग गर्छ ? उनी आफ्नो क्षमताको आलोकमा उभिएर बोर्ड अध्यक्ष भए वा कसैको कृपामा ?
हाम्रा मान्छे कि राम्रा ?
मनिष पण्डितसँगै विकास बोर्डमा अध्यक्ष बन्ने दौडमा ११ जनाले आवेदन दिएका थिए । त्यसमा कोही अभिनेत्री थिए, कोही निर्देशक थिए, कोही रंग पत्रकार पनि । दर्जन हाराहारी प्रतिस्पर्धीबाट तीन जना सर्ट लिस्टमा परेका थिए, नरेशकुमार पौडेल, निशा अधिकारी र मनिष पण्डित ।
रमाइलो चाहिँ के भने मनिष पण्डित र नरेशकुमार पौडेलले यसअघि पनि बोर्ड अध्यक्षका लागि आवेदन दिएका थिए । तर, दुवै जना छनोटमा परेनन् । यसपाली मनिष पण्डितले बाजी जिते भने भने नरेशकुमार पौडेल फेरि पनि पछाडि धकेलिए । धेरै फिल्मकर्मीले उनलाई अनुभवी मान्ने गरेपनि मनिष पण्डित नै बोर्ड अध्यक्ष हुन्छन् भन्ने मोटामोटी अनुमान धेरैले गरेका थिए । यस्तो अनुमानको मूख्य कारण थियो– हालको सत्ताधारी व्यक्तिसँग उनको निकटता ।
हुन त बोर्ड अध्यक्ष छनोटका लागि सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको नेतृत्वमा बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र अशोक शर्माको टिम बनाइएको थियो । उक्त टिमले प्रतिस्पर्धीहरूको कार्ययोजनाका आधारमा अन्तिम सूची तयार गरेको बताइन्छ ।
यसलाई संयोग मान्ने हो वा नियोजित खेल, अन्तिम सूचीमा मनिष पण्डितको नाम आयो । किनभने उनी निकिता पौडलको अत्यन्तै निकट मानिन्छ । त्यस्तै निश्चल बस्नेतहरूको रोजाई पनि मनिष पण्डित नै परेको बताइन्छ ।
के विकास बोर्डमा फेरि पनि पार्टीको गन्ध मिसियो ?
विगतका दिनहरूमा पनि विकास बोर्डमा सत्तासँग निकट व्यक्तिहरूकै हालिमुहाली हुन्थ्यो । सत्तामा जुन राजनीतिक दल छन्, उनीहरूकै कृपामा बोर्ड अध्यक्ष बन्ने अघोषित परम्परा थियो ।
त्यही कारण बोर्ड अध्यक्ष बन्नका लागि आफ्नो योग्यता होइन पाटीसँगको निकटता महत्वपूर्ण हुन्थ्यो । यसपाली पनि यसको क्रमभंग भने भएको छैन । नातावाद र कृपावादविरुद्ध उम्लिएको ज्वालामुखीको जगमा बनेको यो सरकारले पनि निकट सम्बन्धलाई नै प्राथमिकतामा राखिदियो ।
तर, के यो हुनै हुँदैनथ्यो ?
यसमा अहिले नै प्रश्न उठाउने किन पनि ठाउँ छैन भने बाँकी प्रतिस्पर्धी कस्ता थिए भनेर यहाँ लेखाजोखा गर्न सहज छैन । त्यसैगरी उनको कार्यक्षमताबारे अड्कलबाजी गर्न पनि उचित छैन । सरकारले आफ्नो तिब्रता र लयमा काम गर्नका लागि पनि उपयुक्त पात्रको खोजी गर्न सक्छ ।
उनी हाम्रा मान्छे पक्कै हुन् । तर राम्रा मान्छे हुन् कि होइनन् भन्नका लागि उनको कार्यकालको नतिजा पर्खनुपर्ने हुन्छ ।
प्रतिक्रिया 4