News Summary
Generated by OK AI. Editorially reviewed.- कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस घिप्लेमा २२ वर्षीय राजेन्द्र पौडेल मृत फेला परेका छन्।
- प्रहरीले हत्या प्रकरणमा माछापुच्छ्रे–७ र रिभानका ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
- प्रारम्भिक अनुसन्धानमा उनीहरू सँगै मदिरा पिउँदा विवाद बढेर धारिलो हतियार प्रहार भएको देखिएको छ।
९ कात्तिक, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस घिप्लेमा एक युवक मृत फेला परेका छन् । उनको मृत्यु प्रकरणमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार २०८३ कात्तिक ९ गते बिहान करिब ८:२० बजे स्थानीय २२ वर्षीय राजेन्द्र पौडेल घरबाट करिब ५० मिटर पूर्वतर्फ रहेको बारीको पाटामा मृत अवस्थामा फेला परेका थिए ।
घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको कमान्डमा अनुसन्धान टोली र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षकको टोलीसमेत खटिएको थियो ।
प्रहरीले माछापुच्छ्रे हत्या प्रकरणमा गाउँपालिका–७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय ललित पुन तथा माछापुच्छ्रे गाउँपालिका–५, रिभानका ५७ वर्षीय विष्णुप्रसाद गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
‘प्रारम्भिक अनुसन्धानमा उनीहरू राति रमाइलो गर्न भनेर सँगै मदिरा पिएका थिए । मदिरा पिउँदै जाँदा विवाद बढ्यो र धारिलो हतियार नै प्रहार भएको बुझिएको छ । २ जना घाइते भएपछि उनीहरू घरतिर गएको देखिन्छ,’ एसपी कार्कीले भने, ‘पछि यो विवाद इगोको रुपमा बढ्यो र राति साथीहरूसहित गएर हत्या गरेको हुन सक्ने देखिएको छ । घटनाको अनुसन्धानपछि सबै कुरा थाहा होला ।’
सँगै बसेर मदिरा पिउनेसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष वैकुण्ठ भण्डारीले मृतक राजेन्द्रको परिवार सिदिङबाट घिप्लेमा आएर बसेको बुझिएको बताए । घटनाले धम्पुस गाउँलाई नै स्तब्ध बनाएको भण्डारीको भनाइ छ ।
प्रतिक्रिया 4