+
+
Shares

सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति दीपकराज गिरीको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपकराज गिरीले ‘छ माया छपक्कै २’ को बक्स अफिस रिपोर्टपछि सामाजिक सञ्जालमा फैलिएका आफ्नो पुराना अभिव्यक्तिका सम्पादित भिडियोप्रति आपत्ति जनाएका छन्।

काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा उनीप्रति भइरहेका टिप्पणीहरूप्रति आपत्ति जनाएका छन् । आफ्नो पुरानो अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरेर सम्पादन गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै २’ को ९ दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यस फिल्मलाई लिएर विभिन्न टिप्पणी र भिडियोहरू सार्वजनिक भइरहेका छन् ।

फिल्मले अपेक्षाअनुसार व्यापार गर्न नसकेको भन्दै केही प्रयोगकर्ताले दीपकराजका पुराना अभिव्यक्तिका क्लिपहरू काटेर सार्वजनिक गरिरहेका छन् । ती भिडियोमार्फत चलचित्र बहिष्कार गर्नुपर्ने आशयका सन्देशसमेत फैलाइएको देखिन्छ।

यही विषयलाई लिएर दीपकराजले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । उनले आफ्नो भनाइको आशय कसैलाई लखेट्ने, पिट्ने वा भगाउने नभई असहमतिलाई बौद्धिक ढंगले प्रस्तुत गर्नुपर्ने रहेको स्पष्ट पारेका छन् ।

‘कसैलाई लखेट्नु, पिट्नु, भगाउनु राम्रो होइन । यदि असहमति छ भने बौद्धिकताले लखेट्नुपर्छ,’ भन्ने आफ्नो अभिव्यक्तिलाई स्मरण गराउँदै उनले केही अतिवादी कार्यकर्ताले त्यसमा अनेक प्रसंग जोडेर र बीचका अंश सम्पादन गरेर गलत व्याख्या गरेको आरोप लगाएका छन् । आफ्नो तस्वीर राखेर बहिष्कारका नारा लगाउँदै सामाजिक सञ्जालमा सामग्री फैलाइएको देख्दा आफूलाई आश्चर्य लागेको उनको भनाइ छ ।

दीपकराजले आफ्नो स्टाटसमार्फत जातीयता र अतिवादलाई राजनीतिसँग जोडेर समाजमा द्वन्द्व सिर्जना गर्ने प्रवृत्तिको पनि विरोध गरेका छन् । वर्षौंदेखि सहिष्णुतामा हुर्किएको नेपाली समाजमा जातीय विभाजन र घृणा फैलाएर राजनीतिक स्वार्थ पूरा गर्न खोज्नु गलत भएको उनको आशय छ ।

कला र संस्कृतिजस्तो सबैलाई जोड्ने क्षेत्रसमेत जातीय विभाजनको माध्यम बन्न नहुने उनले बताएका छन् । जातपात र धर्मका विषयलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्दै समाजमा घृणा फैलाउने प्रवृत्तिको आफू सधैँ विपक्षमा रहेको र आगामी दिनमा पनि त्यही अडानमा रहने उनले उल्लेख गरेका छन् ।

‘हरेक कुरामा जातीयता छिराउने, अतिवादको बुइ चढेर वर्षौंदेखिको सहिष्णुतामा हुर्केको समाजमा द्वन्द्व सिर्जना गरेर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने, साथै कला र संस्कृति क्षेत्रमा समेत जातपात छिराएर घृणा फैलाउने कुराको सदैव विपक्षमा नै उभिएको थिएँ र रहिरहनेछु’ उनले लेखेका छन् ।

स्टाटसको अन्त्यमा उनले जात र धर्मलाई राजनीतिक स्वार्थसँग जोडेर समाजमा विभाजन ल्याउने प्रयासप्रति असहमति जनाउँदै ‘जय नेपाल’ लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?