+
+
Shares

कानुनविपरीत पत्रकार पक्राउ र ‘ह्यारेसमेन्ट’ बन्द गर : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाइ गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते २१:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहाइ गर्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
  • थापाले कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेन्ट’ बन्द गर्न सरकारसँग माग गर्दै यस्तो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको भनेका छन्।
  • नेपाली कांग्रेसले नियन्त्रणमा लिइएकाहरूको संवैधानिक अधिकारको रक्षा गर्न र सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न सरकारसँग माग गरेको छ।

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाइ गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै थापाले यस घटनाबारे ध्यानाकर्षण भएको बताएका हुन्।

‘जनदबाबपछि रिहाइ भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेन्ट’ बन्द गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,’ उनले भनेका छन्, ‘समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको छ। विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि उनीहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धाबा बोलेका अनेकौँ घटना हामीले भोगेका हौँ। आज पुनः तिनै विगतका निरङ्कुश प्रवृति दोहरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखी र चिन्ताजनक विषय हो।’

उनले नेपाली कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका निम्ति निरन्तर लड्दै आएको पार्टी भएको भन्दै सधैँ यस्ता निरङ्कुश र स्वेच्छाचारी कदमविरुद्ध अनवरत उभिने बताए।

‘स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो । यदि कुनै सञ्चार माध्यम वा पत्रकारबाट गलत कार्य वा त्रुटि भएको छ भने त्यसको निरूपणका लागि प्रेस काउन्सिल लगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाहरू विद्यमान छन्,’ उनले भनेका छन्, ‘ती प्रक्रियालाई पूर्णतः बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासनलाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्तितर्फ उन्मुख हुनु हो। सञ्चार माध्यम र पत्रकारमाथि गरिएको यो दमनकारी कदम अत्यन्तै निन्दनीय र घोर आपत्तिजनक छ । नेपाली कांग्रेस यस घटनाको कडा शब्दमा घोर भर्त्सना गर्दछ।’

कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका यस्ता कदम तत्काल सच्याउन पनि माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?