News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंसिरमा देशव्यापी एकमहिने संवाद अभियान सञ्चालन गर्ने बताएका छन्।
- उनले पार्टीबाट टाढिएका मतदाताको घरमै पुगेर गुनासा सुन्न र विश्वास पुनः स्थापित गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।
- थापाले पार्टीका सबै संरचनामा चार पुस्ताको प्रतिनिधित्व, महिलाको सहभागिता र स्थानीय निर्वाचनका उम्मेदवार स्थानीय सदस्यले छान्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए।
१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुन: सम्बन्ध स्थापित गर्न आगामी मंसिरमा एकमहिने संवाद अभियान सञ्चालन गर्ने बताएका छन् ।
पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले वर्षौंदेखि कांग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदातासँग संवाद गर्नुपर्ने बताएका हुन् । मतदाताले कांग्रेसलाई मत नदिनुको कारण खोज्नुपर्ने उल्लेख गर्दै उनले उनीहरूको घरमै पुगेर गुनासा सुन्न र प्रश्नको जवाफ दिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
कांग्रेसको १५ औँ महाधिवेशनपछि पार्टी नयाँ सोच र सङ्कल्पसहित अघि बढेको उल्लेख गर्दै विगतमा पार्टीबाट टाढिएका मतदाताका गुनासा सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गरे ।
‘नयाँ पुस्तालाई पुरानासँग अनुभव छैन भन्ने लाग्छ भने पुरानो पुस्तालाई नयाँसँग अनुभव छैन भन्ने लाग्न सक्छ । तर नयाँ र पुराना दुवै पुस्तासँग आ–आफ्नै ज्ञान र अनुभव छन् । त्यसैले पार्टीभित्र चारै पुस्ताको उचित प्रतिनिधित्व सुनिश्चित गर्दै सबैलाई सँगै लिएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘स्थानीय निर्वाचनमा महिला, सबै जातजाति, भाषाभाषी र समुदायलाई उचित अवसर दिनुपर्छ । १५ औँ महाधिवेशनपछि नेपाली काँग्रेसले वर्षौँदेखि पार्टीसँग जोडिएका तर पछिल्लो समय टाढिएका मतदातासँग पुन: संवाद गर्नुपर्छ ।’
कांग्रेसले विगतमा गरेका कामको चर्चा मात्र नगरी वर्तमानका समस्या समाधान गर्ने प्रतिबद्धतासहित जनतामाझ जानुपर्ने उनको भनाइ छ । थापाले पार्टीभित्र नयाँ र पुराना पुस्ताबीच समन्वय आवश्यक रहेको पनि बताए । नयाँ पुस्तासँग नयाँ सोच र ज्ञान रहेको तथा पुराना पुस्तासँग अनुभव रहेको उल्लेख गर्दै उहाँले दुवै पुस्तालाई सँगै लिएर जानुपर्नेमा जोड दिए ।
‘उनीहरूलाई दोष दिने होइन, उनीहरूको घरमा पुग्ने, गुनासा सुन्ने र विश्वास पुन: स्थापित गर्ने अभियान चलाउनुपर्छ । यसका लागि मंसिर महिनाभरि देशव्यापी संवाद अभियान सञ्चालन गर्न प्रश्ताव गर्दछु । अब नेताहरू केन्द्रमा मात्र सिमित भएर बस्ने होइन, गाउँ, वडा र टोलसम्म पुग्नुपर्छ । स्थानीय निर्वाचनका उम्मेदवार स्थानीय पार्टी सदस्यले नै छान्ने व्यवस्था गरिएको छ । त्यसैले उम्मेदवार बन्न चाहनेदेखि पार्टीका नेतासम्म जनतामाझ पुग्नुपर्छ,’ उनले भने ।
पार्टीका सबै संगठनात्मक संरचनामा चार पुस्ताको उपयुक्त प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । आगामी स्थानीय तह निर्वाचनमा पनि पुराना र नयाँ नेताकार्यकर्तालाई समेट्दै महिलालाई पर्याप्त जिम्मेवारी दिनुपर्ने तथा सबै जातजाति, भाषाभाषी र समुदायको प्रतिनिधित्वमा ध्यान दिनुपर्ने सभापति थापाले बताए ।
‘जनताले नेताहरूलाई सहजै भेट्न, आफ्ना कुरा राख्न र उनीहरूका कुरा सुन्न पाउनुपर्छ। काम गर्ने, सोच्ने र जनतामाझ पुग्ने शैलीमा परिवर्तन आएपछि मात्र जनताले पार्टी बदलिएको अनुभूति गर्नेछन्,’ उनले भने ।
प्रतिक्रिया 4