+
+
Shares

कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सुरु

सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १३:४२
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेसको आह्वानमा सिंहदरबारस्थित संसदीय दलमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ।
  • बैठकमा सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, संविधानमाथिको प्रहार र पत्रकार पक्राउबारे छलफल हुने बताइएको छ।
  • नेपाली कांग्रेसले पत्रकार धरपकड र न्यायालयबारे विवाद छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको हो ।

सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताएको छ ।

बैठकमा नेकपा एमालेबाट सचिव तथा उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीबाट संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी भएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रमुख सचेतक खुश्बु ओलीको बैठकमा सहभागिता रहेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयले जनाएको छ ।

बैठकमा संसद बाहिर रहेका दलका नेताहरू पनि उपस्थित छन् ।

बैठकअघि नेता आङ्देम्बेले सरकारको जवाफदेहिता, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका, पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी परिचालन, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा निष्पक्ष अनुसन्धानको विषयमा छलफल हुने बताएका थिए ।

यसअघि सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकड र न्यायालयबारे उठेको विवाद छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको थियो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलका नेता आङ्देम्बेले भनेका थिए, ‘नेपाली कांग्रेस पत्रकार धरपकडलगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र निष्पक्ष पारदर्शी छानबिन हुनुपर्दछ । दोषीलाई कानुनी कारबाही गर्नुपर्दछ । यसका लागि संसदीय विशेष समिति गठन गर्नु पर्दछ ।’

पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको कांग्रेस संसदीय दलको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?