+
+
Shares

सालका रुख अवैध रुपमा कटान

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ र ५ का दुई सामुदायिक वनमा करिब १०० वटा सालका रुख अवैध रूपमा ढालिएको भेटिएको छ ।
  • चन्द्रमान सामुदायिक वन उपभोक्ता समितिले पाँच सदस्यीय अनुगमन समिति गठन गरी घटनाको सत्यतथ्य पत्ता लगाउने प्रक्रिया अघि बढाएको छ ।
  • सव-डिभिजन वन कार्यालय दिक्तेलले स्थलगत अनुगमन, सीमा निर्धारण र संलग्नमाथि प्रचलित कानूनअनुसार कारबाही गर्ने जनाएको छ ।

१६ कात्तिक, खोटाङ। साल (सखुवा) का रुख अवैध रुपमा ढालेर कटान गरेको भेटिएको छ ।

खाल्ले र लफ्याङका दुई वटा सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रुख अवैध रुपमा ढालेर काठ कटान गरी निकासी गर्ने तयारीमा पत्ता लागेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वन र सोही नगरपालिकाको वडा नं. ५ लफ्याङस्थित देउले सामुदायिक वन क्षेत्रमा करिब ३० वटा सालका रूख काटेको भेटिएको छ ।

चन्द्रमान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एकराज पौडेले सामुदायिक वन क्षेत्रमा सालका रूख कटान गरेर ढालेको पाइएको जानकारी दिए।

उनले भने, “कसले र कुन प्रयोजनका लागि कटान गरेको हो भन्ने अझै खुल्न सकेको छैन । कटान गरिएका गोलिया रुखहरु वन क्षेत्रमै अलपत्र अवस्थामा छन् ।”

सालका रूख अवैध रुपमा ढाल्नमा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी उनीहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।

सामुदायिक वनमा भएको अवैधरुपमा सालका रुख कटानका घटनाको वास्तविकता पत्ता लगाउन चन्द्रमान सामुदायिक वन उपभोक्ता समितिले पाँच सदस्यीय अनुगमन समितिसमेत गठन गरेको जनाइएको छ ।

उपभोक्ता समितिले वन क्षेत्रमा रहेका सालका रूख ढालेको अवस्थाबारे अनुगमन गरी घटनाको तथ्य पत्ता लगाउन आवश्यक प्रक्रिया अघि बढाउने बताइएको छ ।

सामुदायिक वन क्षेत्रमा यसरी ठूलो सङ्ख्यामा रूख काटिदा समेत सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन तथा नियमन हुन नसकेको स्थानीय गोपाल श्रेष्ठले बताएका छन्। सव–डिभिजन वन कार्यालय दिक्तेलका वन अधिकृत सरोज घिमिरेले सामुदायिक वन क्षेत्रमा भएको सालका रुख कटानको घटनामा स्थलगत अनुगमन गरी क्षतिको यकिन विवरण सङ्कलन गरिने बताएका छन्।

उहाँका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान गरी प्रचलित कानून बमोजिम आवश्यक कारबाहीको प्रक्रियासमेत अघि बढाइने भएको छ । वाइछा दोभान क्षेत्रमा निजी जग्गा र सामुदायिक वनको सिमाना यकिन हुन नसकेकाले नापी टोलीको सहयोगमा जग्गाको सिमाना छुट्याइने वन अधिकृत घिमिरेले जानकारी दिएका छन्।

सीमा निर्धारण भएपछि सालका रुख कटान भएको क्षेत्रको वास्तविक अवस्था पहिचान गरेर थप अनुसन्धान अघि बढाइने भएको हो । स्थानीयवासीले सालका रूख कटानमा संलग्न व्यक्तिको पहिचान नखुले पनि काठ तस्करीको उद्देश्यले रुख ढालिएको हुन सक्ने आशंका गरिएको छ ।

खाल्ले र लफ्याङका सामुदायिक वन क्षेत्रमा सखुवाका रूख कटान भएको घटनाले जिल्लाका सामुदायिक वनको संरक्षण तथा निगरानीमाथिसमेत प्रश्न उब्जाएको छ ।

नेपालमा साल पर्यावरण र आर्थिक दृष्टिकोणले नेपालको संरक्षित र प्रतिबन्धित वन पैदावारअन्तर्गत पर्छ । नेपालको वन ऐन, २०७६ अन्तरर्गत सालको रुख अवैध रुपमा कटानलाई गम्भीर अपराध मानिन्छ । वन ऐन बमोजिम बिना अनुमति सालका रुख कटान वा नोक्सान पुर्याएमा कडा कानुनी कारबाही र सजाय हुन्छ ।

सालको रुख काटेर वन क्षेत्र फँडानी गर्ने, खनजोत गर्ने वा घर÷टहरो बनाएको पुष्टि भएमा अधिकतम पाँच वर्षसम्म कैद वा रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?