+
+
Shares

हिरो–हिरोइनको मन नमिल्दा ‘एक्का तीन’का निर्देशक हत्तु–हैरान, फेरिसके तीन हिरो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपेशले निर्देशन गर्ने फिल्म ‘एक्का तीन’मा आकाश श्रेष्ठ र पुष्प खड्का बाहिरिएपछि सुशील श्रेष्ठ मुख्य नायकका रूपमा अनुबन्ध भएका छन्।
  • निर्माण टिमले पूजा शर्मा र कविता नेपालीको अभिनय पक्का गरेको छ भने सुशीलको जोडी कससँग हुन्छ भन्ने खुलाएको छैन।
  • फिल्मको छायांकन मंसिरको पहिलो साताबाट सुरू गर्ने तयारी छ र प्रदर्शन लक्ष्य सन् २०२७ राखिएको छ।

एउटै फिल्ममा तीन नायक । नझुक्किनुहोला, यो मल्टिस्टारर फिल्म भने होइन, जहाँ तीन जना नायक एकसाथ देखिन्छन् । बरु एउटा फिल्ममा कहिले कसलाई त, कहिले कसलाई चित्त नबुझ्दा हिरो फेर्नुपरेको प्रसंग हो । फिल्मको नाम ‘एक्का तीन’ हो । यसले तीनवटा नै नायक फेरिसकेको छ । तैपनि अझै छायांकनमा जाने सुरसार छैन ।

यो एक्सन फिल्ममा एक्सनभन्दा बढी रियाक्सन भइसक्यो ।

आकाश श्रेष्ठबाट सुरु भएको नायकको यात्रा पुष्प खड्कासम्म पुग्यो, तर पुष्प पनि टिकेनन् । अब तेस्रो नायकका रूपमा सुशील श्रेष्ठको इन्ट्री भएको छ ।

‘जय शम्भु’ र ‘दान्भी’ निर्देशन गरिसकेका निर्देशक रुपेशले आफ्नो नयाँ एक्सन प्रोजेक्टका लागि सुरुमा आकाश श्रेष्ठलाई अनुबन्ध गरेका थिए । त्यतिबेला फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु गर्ने तयारी थियो । मुख्य अभिनेत्रीका रूपमा पूजा शर्मा पनि जोडिएकी थिइन् । तर, आकाश र पूजाले एउटै फिल्ममा काम नगर्ने भएपछि निर्माण टिमको प्रारम्भिक समीकरण नै बदलियो । अन्ततः आपसी सहमतिमा आकाशले फिल्म छाडे ।

आकाश बाहिरिएपछि गत चैतमा पुष्प खड्काको प्रवेश भयो । निर्माण पक्षले जेठबाट क्यामेरा अन गर्ने तयारीसमेत सुनायो । तर, जेठ बित्यो, छायांकन सुरु भएन । फिल्मको तालिका फेरिँदै जाँदा पुष्प पनि लामो समय कुर्न तयार भएनन् वा भनौँ, आपसी सहमतिमै प्रोजेक्टबाट अलग भए ।

अब भने ‘एक्का तीन’मा सुशील श्रेष्ठको काँधमा मुख्य नायकको जिम्मेवारी आएको छ । आइतबार निर्देशक रुपेश र सुशीलबीच लिखित सम्झौता भएको हो । हाल अर्को फिल्म ‘द राइज अफ साम्राज्य’को छायांकनमा व्यस्त सुशीलले उक्त फिल्मको काम सकेपछि ‘एक्का तीन’लाई समय दिनेछन् ।

नायकको खोजीले तेस्रो मोड लिएको यस फिल्ममा पूजा शर्मासँगै कविता नेपालीको पनि अभिनय रहने पक्का भएको छ । तर, सुशीलको जोडी पूजा बन्ने कि कविता ? निर्माण पक्षले यसबारे मुख खोलेको छैन ।

दुई शृङ्खलामा निर्माण हुने भनिएको ‘एक्का तीन’को पटकथा तथा संवाद सुमन गजमेरले लेखेका हुन् । यसअघि उनले ‘रंगी’को लेखन गरेका थिए । रामकृष्ण खरेल र अनुप गदाल निर्माता रहेको फिल्म जुना फिल्म्सको ब्यानरमा निर्माण हुनेछ ।

अब फिल्मको छायांकन मंसिरको पहिलो साताबाट सुरु गर्ने तयारी छ । प्रदर्शनको लक्ष्य सन् २०२७ राखिएको छ । तर, ‘एक्का तीन’को सबैभन्दा रोचक पक्ष अहिले यसको एक्सन, कथा वा कलाकारको सूची होइन, पटकपटक फेरिएको नायकको अनुहार बनेको छ ।

आकाशले छाडे, पुष्पले पनि निरन्तरता दिएनन्, अब सुशीलले जिम्मेवारी सम्हालेका छन् । प्रश्न एउटै छ– तेस्रो नायकको इन्ट्रीसँगै ‘एक्का तीन’को कास्टिङमा लागेको ब्रेक लाग्ला कि फेरि अर्को ट्विस्ट आउला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?