१७ कात्तिक, काठमाडौं । काठमाडौंको सिंहदरबारभित्र निर्माणाधीन नयाँ संघीय संसद् भवन सम्झौताअनुसार तीन वर्षमा सम्पन्न हुनुपर्ने थियो । तर, सात वर्ष पुग्न लाग्दा समेत निर्माणाधीन नै छ ।
यो विषयप्रति संसदीय समितिले चासो लिएका छन् । मंगलबार दुई वटा संसदीय समितिका सभापतिसहित सांसदहरूको टोलीले नयाँ संसद भवनस्थित निर्माणस्थलको अनुगमन गरेको छ । टोलीले निर्माण कार्यमा भएको लामो ढिलाइप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
पूर्वाधार विकास समितिका सभापति आशीष गजुरेल र कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीसहित सांसद अरविन्द शाह तथा पारसमणि गेलाललगायतले निर्माणाधीन संसद् भवनको स्थलगत अवलोकन गरेका हुन् ।
अनुगमनका क्रममा टुन्डी कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर, इन्टेरियर निर्माण व्यवसायीका प्रोजेक्ट म्यानेजर तथा नेपाल सरकारका प्रतिनिधि रञ्जन दासको उपस्थिति रहेको थियो ।

निर्माण पक्षले उपलब्ध गराएको विवरणअनुसार संसद् भवनको संरचनागत निर्माणतर्फ ९२ प्रतिशत र इन्टेरियरतर्फ ७५ प्रतिशत भौतिक प्रगति भएको पाइएको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति चौधरीले जानकारी दिए ।
निर्धारित समयभन्दा चार वर्ष बढी बितिसक्दा पनि संसद भवन निर्माण सम्पन्न हुन नसक्नुले आयोजना व्यवस्थापन, कार्यान्वयन र जवाफदेहितामाथि प्रश्न उठाएको पनि उनले बताए ।
राष्ट्रिय महत्वको संसद भवन निर्माणमा भएको लामो ढिलाइलाई सामान्य रूपमा लिन नसकिने उनको भनाइ छ ।
उनका अनुसार संसदीय टोलीले निर्माण कार्यमा थप गति, प्रभावकारी समन्वय र समयसीमाभित्र सम्पन्न गर्ने सुनिश्चितता आवश्यक रहेको औँल्याएको छ ।
टोलीले निर्माण पक्षलाई बाँकी काम तत्काल तीव्र गतिमा अघि बढाउन तथा घोषित समयसीमा भित्र निर्माण सम्पन्न गर्न निर्देश पनि गरेको छ ।
२०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो आयोजना २०७९ साल असोजभित्रै सकिनुपर्ने थियो । तर, अझै निर्माण सम्पन्न भएको छ ।
कुल १७३ रोपनी जग्गामा फैलिएको यस अत्याधुनिक संसद् परिसरमा १२ वटा ठूला भवनहरू रहनेछन् ।
संसद्को आफ्नै भवन नहुँदा विगत २०६४ सालदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक करोडौँ रुपैयाँ भाडा तिरेर संसद् बैठक सञ्चालन गरिँदै आइएको थियो ।
उक्त भवन गत वर्षको जेनजी आन्दोलनका क्रममा जलेको थियो । त्यसपछि नयाँ संसद् भवनमै संसद् बैठक बस्दै आएको छ ।
निर्माणमा भएको ढिलाइकै कारण नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा अस्थायी रूपमा संसद्का बैठकहरू बस्दै आएका छन् ।
प्रतिक्रिया 4