+
+
Shares

प्रस्तावित राजदूतविरुद्धका उजुरी अध्ययन गर्न छुट्टै समिति बनाउनेबारे छलफल

प्रस्तावित १३ जना राजदूतको संसदीय सुनुवाइको प्रक्रिया सुरु भएको छ । त्यसक्रममा केही उजुरीको तथ्य जाँच र गहिराइ पत्ता लगाउन छुट्टै समिति बनाउन सकिनेबारे छलफल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १४:३४

२१ असोज, काठमाडौं । प्रस्तावित १३ जना राजदूतको संसदीय सुनुवाइको प्रक्रिया सुरु भएको छ । त्यसक्रममा केही उजुरीको तथ्य जाँच र गहिराइ पत्ता लगाउन छुट्टै समिति बनाउन सकिनेबारे छलफल भएको छ ।

प्रस्तावित १३ राजदूतविरुद्ध सात वटा उजुरी परेको छ । सात वटामध्ये दुई वटा समग्र रुपमा विरोधमा उजुरी परेको छ । राजदूत निर्देशिकाअनुसार नियुक्ति सिफारिस नभएकोले सबैलाई संसदीय सुनुवाइ समितिले अस्वीकार गर्नुपर्ने भनेर उजुरी परेको हो ।

बाँकी पाँच वटा भने व्यक्तिगत रुपमा विरोध जनाएर उजुरी परेको छ । जसमा आचरण र योग्यतासँग सम्बन्धित विषय समावेश छ । मंगलबार बसेको सुनुवाइ समितिको बैठकले प्राप्त उजुरीहरू सुनुवाइ समिति सदस्यहरूलाई वितरण गरेका छन् । त्यसक्रममा समिति सभापति बोधनारायण श्रेष्ठले समेत कतिपय उजुरीमाथि गहिरो अधययन आवश्यक रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘सरसर्ती हेर्दा केही केही चाहिँ हामीले यत्तिकै आएको भरमा मात्रै नभइकन कतिको साच्चै दाह्रो हो त ? भन्ने कुरामा खोजतलासै गर्नुपर्ने, समिति नै बनाएर जानुपर्ने, सानो टिम बनाएर जानुपर्ने अवस्था हुन सक्छ भन्ने टाइपको पनि छ । यसको पनि बिचार गर्नुपर्ने हुन सक्छ ।’ यस्तो प्रकृतिका उजुरी कसको विरुद्ध परेको उजुरी हो भनेर भने सभापति श्रेष्ठले खुलाएनन् ।

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाविरुद्ध व्यक्तिगत रूपमा तीन वटा उजुरी छ । साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध दुई वटा उजुरी परेको छ ।
जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाविरुद्ध उनले नेपाली नागरिकता त्याग गरी विदेशी मुलुकको पीआर लिएको भनेर उजुरी परेको छ । विदेशमै स्थायी बसोबासको प्रबन्ध गरेको र उनको परिवारसमेत विदेशमै रहेकोले राजदूत बनाउन नमिल्ने दाबी उजुरीमा छ ।

उनीविरुद्धको अर्को उजुरीमा उनी राजदूत हुन अयोग्य रहेको दाबी गरिएको छ । तेस्रो उजुरीमा जिज्ञानकुमारको जापानमा घरजग्गा, व्यवसाय, लगानी, बैंक ऋण तथा व्यावसायिक दायित्व रहेको उल्लेख छ ।
यसबारे सांसदहरूले गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् ।

साथै, साउदी अरबका लागि प्रस्तावित राजदूत सुनारविरुद्ध महिला हिंसा गरेको र महिलालाई यातना दिएको भन्ने बेहोराको उजुरी परेको छ । विवाहेत्तर सम्बन्ध राखेको लगायतका विषय उजुरीमा छ । अब उजुरीमा उल्लेखित आरोपहरू प्रमाणित तथ्य हुन् वा आरोप मात्र हुन् भन्ने विषय संसदीय समितिले नै छुट्याउनुपर्ने हुन्छ ।

यस पृष्ठभूमिमा प्रस्तावित राजदूतविरुद्धका उजुरी अध्ययन गर्न छुट्टै समिति बनाउन सकिने सन्दर्भमा छलफल भएको हो । निवेदनकर्ताले राजदूत जस्तो संवेदनशील कूटनीतिक पदका लागि प्रस्तावित व्यक्तिको व्यक्तिगत तथा व्यावसायिक पृष्ठभूमि, विगतका विवाद र आचरण जाँच गर्नुपर्ने माग गरेका छन् ।

गिरीबहादुरविरुद्ध अर्को उजुरी छ । जसमा आर्थिक तथा आपराधिक गतिविधिहरूमा संलग्न रहेको आरोप लगाइएको छ । यी लगायतका आरोपहरूको निष्पक्ष छानबिन र तथ्यगत निराकरण नगरी राजदूत जस्तो संवेदनशील संवैधानिक जिम्मेवारी दिन नहुने माग गरिएको छ । ‘उजुरीकर्ताले गरेका उजुरीका विषय के हो त्यसको निक्र्योल नगरी स्वीकृत वा अस्वीकृत गर्दा त्यसले सही सन्देश दिँदैन’ समितिका एक सदस्यले भने, ‘सभावपतिले नै समेत केही उजुरी गम्भीर प्रकृतिको रहेको भन्नुभएको छ । हामी प्राप्त उजुरी अध्ययन गर्दैछौं ।’

प्राप्त उजुरी अध्ययन गर्ने र सुन्ने तथा प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने गरी सुनुवाइ समितिले यही असोज २६, २७ र २८ गतेको समय तय गरेको छ । २ असोज २०८३ मा मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो । जसमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरव शमशेर जबरा रहेका छन् ।

जापानका लागि थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरु जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि सुनार प्रस्तावित राजदूत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?