News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्षको अन्त्यपछि इजरायललाई दिँदै आएको वार्षिक आर्थिक सहायता रोक्ने घोषणा गरेका छन् ।
- ट्रम्पका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सहायता रोक्ने विषयमा सहमति भएको छ, तर अमेरिकाले हतियार बिक्री जारी राख्नेछ ।
- अमेरिका–इजरायलबीचको वर्तमान सैन्य सहायता सम्झौता २०२८ सेप्टेम्बरसम्म कायम रहे पनि अमेरिकाले इजरायललाई वार्षिक ३ अर्ब ८० करोड डलर सहायता दिँदै आएको छ ।
१८ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता रोक्ने घोषणा गरेका छन् । उनले यस वर्षको अन्त्यपछि इजरायललाई दिइँदै आएको आर्थिक सहायता रोक्ने बताएका हुन् ।
ट्रम्पका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्षिक सहायता रोक्ने विषयमा सहमति भएको छ । यद्यपि, अमेरिकाले इजरायललाई हतियार बिक्री भने जारी राख्नेछ ।
आवश्यक परेको अवस्थामा इजरायललाई सहयोगसमेत गर्ने ट्रम्पले स्पष्ट पारेका छन् ।
फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’ मा बोल्दै ट्रम्पले यस वर्षको अन्त्यसम्म इजरायललाई आर्थिक सहायता दिन बन्द गरिने बताएका हुन् । तर, डिसेम्बरभित्रै सहायता कसरी रोक्ने भन्नेबारे उनले विस्तृत जानकारी दिएका छैनन् ।
अमेरिका र इजरायलबीचको वर्तमान सैन्य सहायता सम्झौता भने सन् २०२८ को सेप्टेम्बरसम्म कायम छ । उक्त सम्झौताअनुसार अमेरिकाले इजरायललाई प्रत्येक वर्ष ३ अर्ब ८० करोड अमेरिकी डलर सैन्य सहायता उपलब्ध गराउँदै आएको छ ।
इजरायललाई अमेरिकी सहायता रोक्ने घोषणा यस्तो समयमा आएको छ, जतिबेला अमेरिकाभित्र इजरायलप्रतिको समर्थन घट्दै गएको छ । विशेषगरी गाजामा इजरायली सैन्य कारबाहीलाई लिएर डेमोक्रेटिक पार्टीका नेताहरूले अमेरिकी सहयोगको आलोचना गर्दै आएका छन् ।
जुन महिनामा क्विनिपियाक विश्वविद्यालयले गरेको सर्वेक्षणमा ४८ प्रतिशत अमेरिकी मतदाता र ६६ प्रतिशत डेमोक्रेटिक मतदाताले अमेरिकाले इजरायललाई आवश्यकताभन्दा बढी समर्थन गरिरहेको धारणा व्यक्त गरेका थिए ।
अमेरिकाले मध्यपूर्वमा इजरायललाई अत्यधिक सहयोग गरिरहेको भन्दै अमेरिकी जनमतमा प्रश्न उठिरहेका बेला ट्रम्पको यो घोषणा आएको हो ।
इजरायललाई दिइँदै आएको अमेरिकी सहायता रिपब्लिकन पार्टीभित्रै पनि बहसको विषय बन्दै आएको छ ।
यसैबीच, अमेरिकामा जारी मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले प्रतिनिधिसभाको नियन्त्रण गुमाउन सक्ने आकलन गरिएको छ ।
ट्रम्पले सहायता रोक्ने घोषणालाई इजरायललाई अमेरिकी आर्थिक सहयोग आवश्यक नरहेको तर्कसँग जोडेका छन् । यसले अमेरिका–इजरायलबीचको दशकौँ पुरानो सैन्य सम्बन्धको स्वरूपमा परिवर्तन आउन सक्ने संकेत गरेको छ ।
प्रतिक्रिया 4