+
+
Shares

प्रज्ञा प्रतिष्ठान गान बनाउने निर्णयको विरोध : स्रोत र साधनको दुरुपयोग, सामन्ती सोचको उपज

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नै प्रतिष्ठान गान निर्माणका लागि सूचना आह्वान गरेपछि सरोकारवाला र कलाकारहरूले आपत्ति जनाएका छन्।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नै छुट्टै प्रतिष्ठान गान निर्माणका लागि सूचना आह्वान गरेको छ । यो सूचनाप्रति सरोकारवाला तथा कलाकारहरूले आपत्ति जनाएका छन् । राष्ट्रिय गान हुँदाहुँदै संस्थागत गान बनाउने निर्णय अनावश्यक, स्रोत र साधनको दुरुपयोग तथा सामन्ती सोचको उपज भएको उनीहरूको ठहर छ ।

प्रतिष्ठानले गत १७ कात्तिक गते गान निर्माणका लागि गीत/रचना पेस गर्न १५ दिनको म्याद थप गर्दै सूचना निकालेपछि रङ्गकर्मी, लेखक तथा कलाकारहरूले सामाजिक सञ्जालमार्फत यसको विरोध सुरु गरेका हुन् ।

राष्ट्रिय गान हुँदाहुँदै किन चाहियो ?

चलचित्रकर्मी तथा समीक्षक दिपेन्द्र लामाले राष्ट्रिय गान प्रचलनमा रहँदा रहँदै यस्ता संस्थागत गानको औचित्यमाथि प्रश्न उठाएका छन् । उनले भनेका छन्, ‘राष्ट्रिय गान छँदैछ नि । तात्तो न छारो सबै संघसंस्थालाई आफ्नै गान किन चाहियो ? पैसा, समय र ऊर्जा सही काममा खपत गर्नुपर्‍यो !’

त्यस्तै, रङ्गकर्मी एवं लेखक घिमिरे युवराजले प्रज्ञा प्रतिष्ठानको कदमलाई पञ्चे संस्कार र स्रोतको दुरुपयोगको संज्ञा दिएका छन् । उनले संसारभरका प्राज्ञिक संस्थाको अभ्यासको उदाहरण दिँदै सरकारको मातहतमा रहेको हर संस्थाको गान राष्ट्रिय गान नै हुने जिकिर गरेका छन् ।

‘यसरी राष्ट्रिय गानलाई बेवास्ता गर्दै नयाँ संस्थागत गान बनाउनु गैरकानुनी हो,’ युवराजले प्रश्न गर्दै भनेका छन्, ‘तसो त अब आयल निगमले आयल निगम गान, ग्यास स्टेसनले आफ्नै र शिल्पी थिएटरले आफ्नै गान बनाउने त होला ?’

युवराजले प्रज्ञा प्रतिष्ठानलाई गान बनाउने झमेलामा नभई नेपाली अर्केस्ट्रो निर्माण गर्ने वा राष्ट्रिय गीतको बहुभाषिक संस्करण बनाउनेजस्ता रचनात्मक कार्यमा ध्यान दिन सुझाव दिएका छन् । उनी भन्छन्, ‘१८ वर्षसम्म कसैले महसुस नगरेको संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई सुनिने, देखिने र भएको महसुस गराउने यो अवसरमा इगो, अहम् र शक्तिको खेलमा नभई गतिलो काम गर्नुहोस्’

व्यंग्यात्मक विरोध र अन्य प्रतिक्रिया

शान्तिप्रिय कोइरालाले सरकारी निकायहरूका कार्यशैलीमाथि व्यंग्य गर्दै प्रज्ञा प्रतिष्ठानको गान निर्माणको प्रक्रियालाई अन्य मन्त्रालय र विभागका हास्यास्पद नाराहरूसँग तुलना गरेका छन् ।

रङ्गकर्मी केदार श्रेष्ठले पनि प्रतिष्ठानका पदाधिकारीहरूलाई लक्षित गर्दै संस्थाले गर्नुपर्ने अनेकन प्राथमिकताका कामको लामो सूची दिएको भए पनि त्यता ध्यान नदिएर गुनगान गाउने सामन्ती सोचको गानमा अल्झिएको बताएका छन् । ‘तपाईंहरूलाई अल्झिने छुट छैन भनेर बारम्बार संवाद भइसकेको छ’ श्रेष्ठले चेतावनीयुक्त भाषामा भनेका छन् ।

यसैबीच, साहित्यकार नयनराज पाण्डेले त सामाजिक सञ्जालमा आधा प्रज्ञा-गान नै रचना गरेर व्यंग्य कसेका छन् । कवि विनोद विक्रम केसीले पनि घिमिरे युवराजको विचारमा ऐक्यबद्धता जनाउँदै यो कुनै क्षणिक टिप्पणी नभई थिएटरको उन्नयनमा अहोरात्र खटिएका एक इमानदार कलाकारको गम्भीर आह्वान भएको बताएका छन्।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले भने आफ्नो परिचय, उद्देश्य र संस्थागत प्रतिबद्धता उजागर गर्न भन्दै प्रज्ञा-गान निर्माणका लागि स्रष्टा तथा गीतकारहरूसँग मौलिक रचना मागिरहेको छ । तर, सिर्जनात्मक र प्राज्ञिक क्षेत्रकै अगुवाहरूबाट यसरी तीव्र विरोध हुन थालेपछि प्रतिष्ठानको यो कदम विवादको घेरामा परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?