News Summary
Generated by OK AI. Editorially reviewed.- कानुन, न्याय तथा मानव अधिकार समितिमा निनुकुमारी कर्णले सरकार कहाँबाट चल्दैछ र कसले चलाउँदैछ भनेर प्रश्न उठाइन् ।
- उनले पत्रकारमाथिको धरपकड र सामाजिक सञ्जालबाट मिडिया तथा समाचारमा भइरहेको दबाबबारे सरकारको ध्यानाकर्षण गराइन् ।
- कर्णले न्यायालयमाथि सामाजिक सञ्जालबाट आतंक सिर्जना भएको भन्दै छानबिन समिति गठन गर्न आग्रह गरिन् ।
१८ कात्तिक, काठमाडौं । संसदीय समितिमा सरकारमाथि प्रश्न उठेको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सरकार कहाँबाट चलेको छ ? कसले चलाउदै छ ? भन्ने प्रश्न उठेको हो ।
नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले सरकारले चारैतिर हात हालिरहेको बताइन् ।
‘वास्तवमा हामी अहिले कस्तो लाग्छ भने चारैतिर हात हालेको जस्तो लाग्छ प्रधानमन्त्रीज्यूलाई– मैले यहाँबाट निवेदन गर्न चाहेँ– सरकार कहाँबाट चल्दैछ ? कसले चलाउँदैछ ?,’ उनले भनिन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा भइरहेका बहसहरूको प्रसंग कोट्याउँदै उनले थपिन्, ‘कहिले एउटा अडियो आउँछ, कहिले अर्को भिडियो आउँछ, कहिले फोटोहरू आउँछन् । यो के हो ?’
उनले पत्रकारहरूमाथि भएको धरपकडबारे पनि प्रश्न गरिन् ।
‘प्रहरी पत्रकारलाई समात्न पुग्छ । मिडिया घरमा पुगिसकेको हुन्छ । मिडियाकर्मीहरूलाई समातेर प्रहरीले लैजान्छ र गृह मन्त्रालयले, सरकारलेज प्रधानमन्त्री कार्यालयको सचिवालयले प्रधानमन्त्री कार्यालयलाई थाहा छैन भनेर कुरो सामाजिक सञ्जालबाटै बाहिर आउँछ । यो के हो ?’
यसप्रति समिति सभापति मार्फत उनले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
‘पत्रकार र मिडिया, मिडिया भनेको यो राज्यको सबैभन्दा महत्वपूर्ण अङ्ग हो कि होइन ? मिडियालाई किन आतंक गराउने ? मिडियाले समाचार लेख्दैमा, मिडियामा समाचार कहाँबाट आयो, त्यो समाचारको सत्यतथ्य छानबिन गर्ने कि नगर्ने ?,’ उनले भनिन्, ‘त्यो सत्यतथ्य छानबिन गर्ने निकाय छ कि छैन सरकारसँग ? त्यो कसले जवाफ दिने ?’
दोस्रो प्रसंगमा उनले न्यायालयको विषय उठाइन् ।
‘न्यायालय सबैभन्दा देशको सर्वोच्च निकाय हो । जहाँ प्रत्येक नागरिकले न्याय पाउने अधिकार छ । संविधानले व्यवस्था गरेको छ र न्यायालयको व्यवस्थापन पनि प्रत्येक नागरिकले न्याय पाउनुपर्ने निम्ति नै न्यायालयको स्थापना भएको हो । तर न्यायालयलाई पनि आतंकित बनाइएको छ, त्यो पनि सामाजिक सञ्जाल मार्फत’, उनले भनिन् ।
न्यायालयमाथि प्रहार गर्ने निकाय को ? कसले गर्यो ? किन सामाजिक सञ्जालमा अहिले यति धेरै कुराहरु न्यायालयमा, न्यायालयसँग सम्बन्धित आएको छ ? लगायतका प्रश्न पनि उनले गरेकी थिइन् ।
‘एक जना ३० वर्षे युवक यहाँ मैले नाम पनि लिएँ– इनम श्रेष्ठ भन्ने व्यक्तिको कारणले अहिले न्यायालयमाथि गम्भीर प्रश्न तेर्सिएको छ । त्यसको जवाफ कसले दिने ?’, उनले भनिन् ।
यसको विषयमा छानबिन समिति गठन गरेर जानुपर्ने उनको आग्रह छ ।
प्रतिक्रिया 4