News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको देउवा समूहले पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममा सार्वजनिक तथ्यबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ।
- नेता डा. प्रकाशशरण महतले निर्वाचन आयोग र अदालतमा भएको भनिएको चलखेलमा संवैधानिक निकायले हस्तक्षेप गर्नुपर्ने बताउनुभयो।
- महतले गत पुसको विशेष महाधिवेशन विधि–प्रक्रिया मिचेर गरिएको र निर्वाचन आयोगले हतारमा गलत निर्णय गरेको आरोप लगाउनुभयो।
१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पछिल्लो समय पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका विषयबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर देउवा समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पाएको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको तथ्यबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो ।
‘अहिले मिडियामार्फत नयाँ–नयाँ तथ्यहरू सार्वजनिक भइरहेका छन् । प्रहरीले जानकारी लिने र सोधपुछ गर्ने क्रममा कसले के भन्यो भन्ने विवरणहरू पनि बाहिर आइरहेका छन् । यी विषय निकै गम्भीर छन्,’ पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले भने, ‘त्यसैले यसको गहिराइसम्म पुगेर निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ । सबै तथ्य र प्रमाणका आधारमा मात्रै निर्णय गरिनुपर्छ ।’
उनले कांग्रेसको आधिकारिकताका लागि ‘निर्वाचन आयोग र अदालतमा भएको भनिएको चलखेल’मा संवैधानिक निकायहरूले नै यसमा हस्तक्षेप गर्नुपर्ने पनि बताए । सरकारले गर्ने छानबिनमा आफूहरू विश्वस्त नभएको पनि नेता महतले जिकिर गरे ।
‘यो त सरकारले पनि ठीक ढंगले छानबिन गर्छ कि गर्दैन थाहा छैन । त्यसकारण संवैधानिक निकायहरूले नै यसमा हस्तक्षेप गर्नुपर्छ,’ उनले भने, ‘अधिकारको दुरुपयोग जहाँबाट भएको छ, त्यसको गहिराइमा जानुपर्छ । गहिराइसम्म पुगेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।’
नेता महतले गत पुसमा सम्पन्न विशेष महाधिवेशनलाई आधिकारिता दिने विषयमा निर्वाचन आयोगकै एक आयुक्तले तत्कालीन समयमा ‘नोट अफ डिसेन्ट’ लेखेको पनि स्मरण गरे । ‘निर्वाचन आयोगकै एक जना सदस्यले समेत विधि र नियम नमिलेको भन्दै नोट अफ डिसेन्ट राख्नुभएको थियो,’ उनले भने ।
नेता महतले निर्वाचन आयोगले तत्कालीन समयमा गरेको निर्णय गलत भएको दोहोर्याए । ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं कि तत्कालीन विशेष अधिवेशन विधि–प्रक्रिया मिचेर गरिएको थियो । त्यसबेला अधिवेशनमा यति ठूलो संख्यामा प्रतिनिधि उपस्थित थिए भनियो,’ उनले भने, ‘तर त्यसको प्रमाण र आधार नहेरी, हाम्रो पक्षको कुरा समेत नसुनी निर्वाचन आयोगले जुन हतारमा निर्णय गर्यो, त्यो गलत थियो ।’
प्रतिक्रिया 4