News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मालाई प्रदेश सरकारले बर्खास्त गरेको छ ।
- ३० असारको पदक वितरणमा छनोट समितिमै रहेका व्यक्तिहरूलाई पदक दिएपछि विवाद भएपछि छानविन समिति बनेको थियो ।
- सरकारले युवा तथा खेलकुद महाशाखा प्रमुख उपसचिव दिपेन्द्र परियारलाई कार्यवाहक सदस्य सचिवको जिम्मेवारी दिएको छ ।
२० कात्तिक, काठमाडौं । खेलकुद पदक वितरणमा मनपरी गरेको आरोप लागेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्तमा परेका छन् । गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य सचिव शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
३० असारमा वितरण गरिएको पदक विवादित भएपछि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेकी थिइन् । उक्त समितिको प्रतिवेदनका आधारमा सदस्य सचिव शर्मालाई बर्खास्त गरिएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषद्ले ३० असारमा पोखरा रंगशालामा विशेष समारोह आयोजना गरी ‘गण्डकी प्रदेश खेलकुद पदक’ बाट ६ खेलाडी तथा प्रशिक्षक र चार खेल संघलाई सम्मान गरेको थियो ।
खेलाडीतर्फ भलिबलकी अरुणा शाही, आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, आर्चरीका योगेन्द्र शेरचन र असिम शेरचन हुँदा क्रिकेट प्रशिक्षकतर्फ रिजन प्रजु सम्मानित भएका थिए । खेलकुद पत्रकारितातर्फ केशव पाठक र संघ–संस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चलाई पदक प्रदान गरिएको थियो ।
प्रदेश ह्यान्डबल संघ र गण्डकी प्रदेश फेन्सिङ संघ उत्कृष्ट खेल संघ तथा गण्डकी प्रदेश टेनिस संघ सर्वोत्कृष्ट प्रदेश खेल संघको रुपमा नगदसहित सम्मानित भएका थिए ।
छनोट समितिमै रहेको व्यक्तिहरुलाई पदक दिएपछि विवाद सिर्जना भएको थियो । खेलकुद पत्रकारिता विधामा पदक पाएका केशव पाठक पदक सिफारिस समितिका सदस्य हुन् ।
उनी यसअघि परिषद्का सदस्य एवम् कार्यवाहक सदस्यसचिवसमेत भइसकेका थिए । पदक सिफारिस समितिका सदस्य हरि पराजुली आवद्ध रहेको नेपाल भूतपूर्व खेलाडी मञ्चले संघ–संस्थातर्फको पदक पायो । पदक सिफारिस समितिका सदस्य चित्रबहादुर थापा अध्यक्ष रहेको प्रदेश ह्यान्डबल संघले पनि उत्कृष्ट खेल संघको पदक हात पाएको थियो ।
शर्माको कार्यकाल आउँदो बैशाखसम्म थियो । उनी २०८० को वैशाखमा ४ वर्षका लागि सदस्यसचिव नियुक्त भएका थिए । उनलाई बर्खास्त गरेसँगै सरकारले युवा तथा खेलकुद महाशाखा प्रमुख उपसचिव दिपेन्द्र परियारलाई कार्यवाहक सदस्य सचिवको जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया 4