News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले कप्तानी र खेलाडी परिवर्तन गरे पनि चितवन राइनोजसँग ३० रनले हार्दै लगातार चौथो हार बेहोर्यो।
- चितवनले ६ विकेट गुमाएर १५१ रन बनायो, जसमा सिकन्दर राजाले १६ बलमा ३७ रन र रवि बोपाराले ३५ रन जोडे।
- १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै अलआउट भयो, अर्जुन कुमालले ४५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।
२० कात्तिक, काठमाडौं । लगातार हारपछि कप्तानी परिवर्तन गर्यो। प्लेइङ–११ मा पनि तीन खेलाडी फेर्यो। तर पोखरा एभेन्जर्सको नतिजा भने फेरिएन। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखराले लगातार चौथो हार बेहोर्ने क्रममा शुक्रबार चितवन राइनोजसँग ३० रनले पराजित भयो।
कप्तान कुशल भुर्तेलको कप्तानीमा लगातार तीन हार बेहोरेपछि शुक्रबार चौथो खेलमा भने कप्तानी परिवर्तन भयो । श्रीलंकन चमिका करुणारत्नेको नेतृत्वमा मैदान उत्रिएको पोखराले खेलाडी संयोजनमा पनि परिवर्तन गरेको थियो।
शाकिब अल हसन, आकाश चन्द र बिपिन आचार्यको स्थानमा युवराज सम्रा, सागर ढकाल र सुदीप अर्याललाई टोलीमा समेटिएको थियो। तर, यी परिवर्तनले पनि पोखराको प्रदर्शनमा अपेक्षित सुधार ल्याउन सकेन।
श्रीलंकन प्रशिक्षक अजन्था मेन्डिसको प्रशिक्षणमा रहेको पोखराले श्रीलंकाकै चमिकालाई कप्तान बनायो, विकेटकिपर पनि श्रीलंकाकै सदीरा समराविक्रमा थिए । श्रीलंकन कम्बिनेसनमा केही फरक नतिजा देखिन्छ कि भन्ने पोखराका समर्थकको आश थियो तर त्यो निराशमा परिणत भयो ।
त्यसो त पोखराले यसअघि पनि टोलीमा परिवर्तन गरिरहेको थियो, उत्कृष्ट कम्बिनेसन भने अहिलेसम्म भेटाउन संघर्ष गरिरहेको छ ।

शुक्रबारको खेलमा चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखराले एक समय १० ओभरमा ७२ रन बनाउँदा तीन विकेट मात्र गुमाएको थियो। तर त्यसपछि टोलीले लगातार विकेट गुमायो।
बाँकी सात विकेट गुमाउँदा पोखराले थप ४९ रन मात्र जोड्न सक्यो। टोली १९ ओभरमा १२१ रनमै अलआउट भयो।
अर्जुन कुमालले ४४ बलमा ४५ रन बनाउँदै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। उनले तीन चौका र एक छक्का प्रहार गरे। तर, उनलाई अन्य ब्याटरबाट पर्याप्त साथ मिलेन।
कप्तान कुशल भुर्तेल चार रनमा आउट भए। क्यानडाका युवराज सम्रा १९ रनमा रोकिए भने सदीरा समरविक्रमा र महेदी हसनले दोहोरो अंकमा रन बनाउन सकेनन्।
चितवनका रिजन ढकालले २४ रन खर्चेर चार विकेट लिए। कमलसिंह ऐरीले सात रन दिएर तीन विकेट लिएपछि पोखराको मध्यक्रम र तल्लो क्रम सम्हालिन सकेन। चितवनका सबै बलरले विकेट लिए।
चितवनका रिजनले पोखरालाई दबाबमा राख्न डट बललाई प्राथमिकता दिएको बताए। उनका अनुसार मिडअफलाई माथि राखेर बाउन्ड्री र सिंगल दुवै रोक्ने योजना बनाइएको थियो।
‘विकेट चुनौतीपूर्ण देखिएको थियो। कन्डिसनअनुसार योजना बनाएका थियौँ र त्यसले काम गर्यो। विकेटभन्दा डट बल महत्वपूर्ण थियो। बाउन्ड्री नदिने र सिंगल पनि रोक्ने हाम्रो योजना थियो,’ उनले भने।
रिजनले डेथ ओभरमा यर्करभन्दा स्लोअर बल र हार्ड लेन्थमा बलिङ गर्दा राम्रो नतिजा आइरहेको पनि बताए। चितवनका अनुभवी ब्याटर रवि बोपारा र कप्तान राजाको संयोजनले टोलीलाई राम्रो नतिजा दिन सहयोग गरेको उनको भनाइ थियो।
अर्जुन आउट भएको त्यो क्याच
आजको खेलमा पोखराका लागि स्ट्यान्डआउट ब्याटर नै अर्जुन कुमाल देखिएका थिए । पहिलो ओभरको चौथो बलमै वान डाउनमा आएका अर्जुनले संयमित हुँदै खेलिरहेका थिए।
अर्को एन्डबाट विकेट गएपनि अर्जुन डेथ ओभरसम्म क्रिजमै थिए । १७ ओभरको समाप्तिमा पोखराको स्कोर ११६-६ थियो । १८औं ओभर बलिङ गर्न आए कमलसिंह ऐरी । पहिलो बलमा अर्जुन घर्तीले पहिलो बलमा लेग बाइमार्फत एक रन जोडे ।
दोस्रो बलमा अर्जुन कुमालको मिसहिट भएको थियो । डिप पोइन्टमा रहेका वैकल्पिक फिल्डर दीपक बोहराले क्याच लिए । बल उनको हातबाट फुस्कियो तर भुइँमा खसेन । उनको थाइमा लागेर बल भुइँतर्फ गइरहेको थियो तर समातिहाले ।

थर्ड अम्पायरले केही समय लगाएर त्यो क्याच हेरे र क्याच फेयर रहेको देखियो । यसलाई खेलको टर्निङ पोइन्टका रूपमा मान्न सकिन्थ्यो । किनभने ओपनिङदेखि खेलिरहेका अर्जुन आउट भएसँगै क्रिजमा नयाँ ब्याटर थिए र आवश्यक रनरेटको प्रेसर बढ्यो ।
त्यसपछि पोखरा अलआउट हुन धेरै समय लागेन । थप ५ रन जोड्दा बाँकी ३ विकेट गुमायो ।
त्यसअघि १७औं ओभरमा रिजनले चमिकालाई आउट गरेका थिए भने १८औं ओभरमा कमलले अर्जुन कुमाल र सुदीप अर्याललाई आउट गरेपछि १९औं ओभरमा रिजन आएर बाँकी दुई विकेट लिए ।
यहाँ कप्तान सिकन्दर राजाले दुई पेसरको ओभर गराउनु नै खेल जित्ने आधार बन्यो। त्यसअघि कमल र रिजनले सुरुवाती दुई ओभर गरेपछि १५औं ओभरसम्म पेस बलर लगाइएको थिएन ।
खेलपछि कुरा गर्दै अर्जुनले पिच ब्याटिङका लागि चुनौतीपूर्ण रहेको बताए। उनले आफूलाई दिइएको जिम्मेवारी अनुसार खेलिरहेको भए पनि टोलीले राम्रो अवस्थामा पुगेपछि लय गुमाएको बताए।
‘विकेट चुनौतीपूर्ण र टर्न भइरहेको थियो। मेरो भूमिका जे थियो, त्यहीअनुसार खेलिरहेको थिएँ। तर, राम्रो अवस्थामा पुगेपछि हामीले मोमेन्टम गुमायौँ,’ उनले भने।
लगातार चौथो हारपछि पनि पोखराले बाँकी खेल जित्ने प्रयास गर्ने अर्जुनले बताए। कप्तानी परिवर्तनबारे भने आफूलाई खेलअघि मात्र जानकारी भएको उनले सुनाए।
बोपारा र राजाको साझेदारी
टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो। टोलीका शीर्ष तीन ब्याटरले २५ रनभन्दा बढी बनाए पनि कसैले ठूलो इनिङ्स खेल्न सकेनन्।
अर्जुन साउदले ३१ रन बनाए। उनले डेभिड मलानसँग दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए। मलानले २८ रन जोडे। दुवै ब्याटर लगातार बलमा आउट भए। रवि बोपाराले २८ बलमा ३५ रन बनाउँदै कप्तान सिकन्दर राजासँग पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरे।
अन्तिमतिर राजाले आक्रामक ब्याटिङ गरे। उनले १६ बलमा दुई चौका र चार छक्कासहित ३७ रन बनाए। उनको योगदानमा चितवनले प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।
पोखराका बिपिन खत्री, कुशल भुर्तेल र चमिका करुणारत्नेले दुई–दुई विकेट लिए। प्रतियोगितामा बल र ब्याट दुवैबाट संघर्ष गरिरहेका भुर्तेलले बलिङमा पहिलो विकेट हात पारे।

यस जितसँगै चितवन अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पोखरा भने लगातार चौथो हारपछि अंकतालिकामा दबाबमा परेको छ। एनपीएलका अघिल्ला दुई संस्करणमा पनि प्लेअफ पुग्न नसकेको पोखराका लागि बाँकी खेलमा जित निकाल्नु चुनौतीपूर्ण बनेको छ।
प्रतिक्रिया 4