News Summary
Generated by OK AI. Editorially reviewed.- म्याग्दीका घुम्ती गोठमा भेडाबाख्रा र पशुधनको सुरक्षा गर्न किसानले भोटे कुकुर पाल्दै आएका छन्।
- धवलागिरि–५ मल्कवाङका हिमबहादुर छन्त्यालले ६०० भेडाबाख्राको सुरक्षाका लागि आफ्नो गोठमा पाँच भोटे कुकुर पालेका छन्।
- कुकुरले जङ्गली जनावरबाट गोठ जोगाउने, हराएका पशु खोज्ने र बथानलाई एकै ठाउँमा राख्न सघाउने किसानले बताएका छन्।
२२ कात्तिक, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन् । २० वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) मा रोजगारी गरेर फर्किएका ५० वर्षीय छन्त्यालले आफ्नो फार्ममा रहेका ६०० भेडाबाख्राको सुरक्षाका लागि ‘भोटे कुकुर’ पालेका हुन्।
‘घना जङ्गल, अग्ला पहाड र विकट भूगोलमा महिनौँसम्म गोठमा बसेर भेडाबाख्रा पालन गर्ने किसानका लागि कुकुर घरपालुवा जनावरमात्र होइन, भरपर्दो साथी र सुरक्षाकर्मी पनि हो’, छन्त्यालले भने ‘सयौँको सङ्ख्यामा रहेका पशुचौपायाको हेरचाहदेखि जङ्गली जनावरको आक्रमणबाट जोगाउनसम्म कुकुरले गोठालालाई सघाउँदै आएका छन् ।’
म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रका घुम्ती गोठमा पशुपालन गर्ने किसानका लागि कुकुर अनिवार्य सहयोगी बनेका छन् । सहरबजारमा सोख र सुरक्षाका लागि कुकुर पाल्ने चलन भए पनि विकट पहाडी तथा हिमाली क्षेत्रमा पशुधनको रक्षाका लागि कुकुर पाल्नु किसानको बाध्यता र आवश्यकता दुवै भएको धवलागिरि गाउँपालिका–४ सिम्कोशका भेडापालक कृषक आस्मान पुर्जाले बताए।
उनका अनुसार यहाँका गोठालाले अग्लो शरीर, ३० किलोग्रामभन्दा बढी तौल र बलियो शारीरिक बनावट भएका कम्तीमा दुई वटा भोटे कुकुर पाल्ने गर्छन् ।
‘देख्दै डरलाग्दा यी कुकुरले जङ्गली जनावरको चाल छिटो थाहा पाउने, गन्ध सुँघेर पत्ता लगाउने र खतराको सङ्केत गर्ने क्षमता राख्छन् । यस्ता कुकुरका छाउरा प्रतिगोटा रु १० हजारभन्दा बढी मूल्यमा बिक्री हुने गरेका छन्’, उनले भने।
अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका ८१ वर्षीय लालवीर तिलिजाले सात दशकदेखि भेडापालन गर्दै आएका छन् । उनका अनुभवमा कुकुरबिना सयौँ पशुचौपायाको रेखदेख गर्न गोठालालाई निकै कठिन हुन्छ । ‘जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकी सहज र सुरक्षित बनाएका छन्’, उनले भने, ‘कुकुर नहुने हो भने किसानले धेरै क्षति र दुःख बेहोर्नुपर्छ ।’
जङ्गलमा चितुवा, ब्वाँसो, भालु र स्यालको जोखिम हुने भएकाले कुकुरले गोठ र पशुधनको पहरेदारको काम गर्छन् । साँझ, राति र बिहान गोठ वरपर रुँगेर बस्ने कुकुरले अपरिचित मानिस वा जङ्गली जनावर देखेपछि चर्को स्वरमा भुकेर गोठालालाई सचेत गराउँछन् । आवश्यक पर्दा जनावरलाई लखेट्ने र प्रतिकार गर्ने भएकाले गोठालाको सुरक्षामा समेत सहयोग पुग्ने गरेको छ ।
पाउद्वारका किसान टेकजित तिलिजाका अनुसार टाढा पुगेका भेडाबाख्रा फर्काउन र हराएका पशु खोज्न पनि कुकुरले सघाउँछन् । ‘कुकुरले पशु कहाँ पुगेका छन् भन्ने पत्ता लगाउन र बथानलाई एकै ठाउँमा राख्न सहयोग गर्छन्’, उनले भने।
मनिराम पाइजाले पनि कुकुरबिनाको गोठालो जीवन कल्पना गर्न नसकिने धारणा राखे ‘पशु चराउन लैजाँदा कुकुर बथानको पछिपछि लाग्छन् । अप्ठ्यारो भीरमा जान नदिने, साँझ परेपछि पशुलाई खेदेर गोठमा फर्काउने र जङ्गली जनावर देखेपछि भुकेर सूचना दिने उनीहरूको विशेषता हो । चितुवा, ब्वाँसो र स्यालजस्ता जनावर देखेपछि कुकुरले भुकेर खबर गर्छन् र आक्रमण गर्न आएमा प्रतिकार गरेर भगाउँछन्’, उनले भने।
गोठमा पालिएका कुकुरलाई बिहान र बेलुका पिठोको खोले, भेडाको दूध र मासु खुवाउने गरिन्छ । पशु चरनका लागि एक ठाउँमा १० देखि १५ दिनसम्म गोठ राख्ने र त्यसपछि अर्को खर्कमा सार्ने परम्परा छ । गोठालासँगै लेकबेँसी गर्ने कुकुर पनि यही जीवनशैलीमा अभ्यस्त भएका हुन्छन् ।
बर्खायाममा धवलागिरि र अन्नपूर्ण हिमालको फेदी तथा ढोरपाटन क्षेत्रका बुकीमा पुगेका पशुगोठ चिसो बढेसँगै बेँसीतर्फ झर्न थालेका छन् । हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने स्थानलाई खर्क भनिन्छ । लेकमा पोषिलो घाँस खाएर मोटाएका पशु लिएर गोठाला बन्दोबस्तीका सामानसहित क्रमशः तल झर्ने गर्छन् । बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर पशुबाट प्राप्त मलले जमिनको उर्वराशक्ति बढाउने परम्परा म्याग्दीमा कायमै छ ।
धवलागिरि गाउँपालिकाका गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ र मल्कवाङ तथा रघुगङ्गाका कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम र ठाडाखानीका किसानले परम्परागत घुम्ती गोठ प्रणालीमा पशुपालन गर्दै आएका छन् । त्यस्तै अन्नपूर्ण गाउँपालिकाका दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख र राम्चेका किसान पनि यही पेसामा आबद्ध छन् ।
आधुनिक जीवनशैली र रोजगारीका अवसरले परम्परागत घुम्ती गोठ प्रणाली चुनौतीमा परिरहेका बेला भोटे कुकुर भने अझै गोठालाका अभिन्न सारथि बनेका छन् । निर्जन जङ्गल र उकाली–ओरालीको कठिन यात्रामा गोठालालाई साथ दिने यी बफादार जनावरले पुस्तौँदेखि पशुपालन संस्कृतिको संरक्षण र निरन्तरतामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
प्रतिक्रिया 4