News Summary
Generated by OK AI. Editorially reviewed.- मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबले तिहारका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ र मर्मतसम्भार गरेको छ।
- क्लबका सचिव सुभास पुन मगरका अनुसार मङ्गलबार ३० जना युवाले श्रमदान गरी सडकमा जमेको माटो, ढुङ्गा र झाडी हटाएका हुन्।
- क्लबले सडक मर्मत अभियानमा खाजामा रु १० हजार ७९० खर्च भएको र लक्ष्मीकुमार पुन, रेशम घर्ती मगर तथा रेकबहादुर पुनले आर्थिक सहयोग गरेको जनाएको छ।
२६ कात्तिक, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ ।
क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा मङ्गलबार श्रमदान गरी मोटरबाटोमा जमेको माटो, ढुङ्गा तथा झाडी हटाउनाका साथै आवश्यक मर्मतसम्भार गरिएको हो ।
बर्खायाममा अवरुद्ध सडक मर्मतमा ढिलाइ हुँदा स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको थियो । सरकारी निकायको मुख ताकेर बस्दा ढिलाइ भएपछि युवाहरूले सडक मर्मतका लागि अगुवाइ गरेका हुन् ।
अभियानमा ३० जना युवा सहभागी भएको क्लबका सचिव सुभास पुन मगरले जानकारी दिए । उनका अनुसार तिहार मनाउन जन्मथलोमा भेला भएका युवीहरूले सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले सडक मर्मत गर्न श्रमदान गरेका हुन् ।
श्रमदान अभियानमा लक्ष्मीकुमार पुन, रेशम घर्ती मगर र रेकबहादुर पुनले ढुवानीका लागि ट्याक्टरको भाडा र खाजाका लागि आर्थिक सहयोग गरेको क्लबले जनाएको छ । खाजामा रु १० हजार ७९० खर्च भएको क्लबले जनाएको छ । रासस
प्रतिक्रिया 4