News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको भीमफेदी गाउँपालिका–८ चिसापानी गढीमा बिहान ईभी हाइस सडकबाट करिब ५०० मिटर तल खस्दा ११ जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।
- दुर्घटनामा ज्यान गुमाउनेमा चालकसहित सर्लाहीका ६ पुरुष, २ महिला र ३ बालिका रहेका छन्, र सबै मृतकको पहिचान खुलेको छ ।
- घाइते ६ जनामध्ये ३ जनालाई काठमाडौं र भरतपुर रिफर गरिएको छ भने ३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी हाइस दुर्घटनामा मृत्यु भएका ११ जनाकै पहिचान खुलेको छ ।
दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी हाइस सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटनाको समयमा गाडीमा चालकसहित १७ जना सवार थिए ।
दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । दुर्घटनामा ज्यान गुमाउनेमा चालकसहित ६ पुरुष, २ महिला र ३ बालिका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका ६ जनाको समेत पहिचान खुलेको छ ।
मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डल रहेका छन् । अन्य मृतकहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका हुन् ।
मृत्यु हुनेमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीय पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, अन्दाजी ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
यसैगरी, दुर्घटनामा घाइते भएका ६ जनाको हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि काठमाडौं र भरतपुरका अस्पतालमा रिफर गरिएको छ भने तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।
डीएसपी काफ्लेका अनुसार, घाइते हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका करिब ३३ वर्षीय मुकेश यादव रहेका छन् । टाउको र ढाडमा चोट लागेको उनको अस्पतालबाट डिस्चार्ज भएको छ । सोही स्थानका गुड्डु यादवका ५ वर्षीय छोरा सक्षम कुमार यादवको शरीरमा भित्री चोट लागेको र डिस्चार्ज भएका छन् । गुड्डु यादवकै ३ वर्षीय छोरा सुजन यादवको टाउको र मुखमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेकाले थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ । उनको उपचारमा आफन्त दिनेश यादव संलग्न छन् ।
त्यस्तै, सोही ठाउँका करिब ३१ वर्षीय बेचु भन्ने देवेन्द्र रायको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । मध्यम अवस्था रहेका उनलाई थप उपचारका लागि भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको छ । सोही स्थानका २६ वर्षीय देवेन्द्र रायको टाउको र दुवै खुट्टामा चोट लागेको थियो ।
मध्यम अवस्था रहेका उनी हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै, अवधेश यादवका १४ महिनाका छोरा सुदिप यादव घाइते अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ ।
प्रतिक्रिया 4