News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश मिडिया काउन्सिलको भ्रमणमा लेखकले पर्साबाहेक मधेशका सात जिल्लामा राजदेवी मन्दिर रहेको पाए।
- जनकपुर, राजविराज, रौतहट, जलेश्वर, सर्लाही, सिरहा र बाराका स्थानीयले राजदेवीलाई फरक ऐतिहासिक सन्दर्भसँग जोडेर पूजा गर्ने गरेको लेखमा उल्लेख छ।
- लेखकका अनुसार राजदेवी मन्दिरहरूको इतिहास, स्थापना समय र जनक वा सेन वंशसँगको सम्बन्धबारे अझ अनुसन्धान आवश्यक छ।
यसपटक २०८१ असारको २ गतेदेखि १५ गतेसम्म मधेश प्रदेशका सबै जिल्लाको भ्रमण गर्ने अवसर मैले पाएको थिएँ। हुन त यसअघि पनि मैले थुप्रैपटक मधेशको भ्रमण गरेको हुँ, तर सायद यसपटकको भ्रमणको उद्देश्य र प्रक्रिया अलिक फरक थियो।
मधेश मिडिया काउन्सिलको संयोजनमा सम्पन्न यो भ्रमणका क्रममा मैले मधेशलाई नयाँ ढङ्गले चिन्ने र बुझ्ने अवसर पाएको थिएँ। मैले थाहा पाएँ- मैले सुनेको, चिनेको र बुझेको राजदेवीको उपस्थिति जनकपुर र राजविराजमा मात्र रहेनछ। मैले त पर्साबाहेक मधेशका सात जिल्लामा राजदेवीलाई तिनकै मन्दिरमा भेटेँ।
यो भेटसँगै राजदेवीका बारेमा ममा रहेको मान्यता र अवधारणामा परिवर्तन आएको थियो। राजदेवीका बारेमा केही नयाँ तथ्य र ऐतिहासिक पक्षका बारेमा पनि अध्ययन–अनुसन्धानको लाभ लिने अवसर मिल्यो मलाई।
मधेशमा सबैतिर राजदेवी
जनकपुर (धनुषा) मेरो घर हो र सप्तरी ससुराली। यस आधारमा पनि होला, यी दुई जिल्लामा मेरो आउजाउ बाक्लै हुने गरेका आधारमा जनकपुर र राजविराजको राजदेवी मन्दिरका बारेमा राम्रै सुनाइ भए पनि अन्यत्रका बारेमा मलाई खासै जानकारी थिएन। राजदेवीका बारेमा मेरो बुझाइ नितान्त अधुरो रहेको निष्कर्ष मेरो यसपटकको भ्रमणको थियो। राजदेवी नामका अनेक मन्दिर मिथिला–मधेशको भूगोलमा अवस्थित रहेछन्।
यसपटकको यात्रामा मैले जनकपुर र राजविराजका अतिरिक्त सर्लाहीको मलङ्गवा (बजारबाट करिब दुई किलोमिटर पूर्वोत्तर), महोत्तरीको जलेश्वर (प्रहरी कार्यालयको छेउमा), सिरहाको लहाननजिकको ढोढना, बाराको कलैया (अदालतनजिक) र रौतहटको गौरबाट करिब चार/पाँच किलोमिटरको दूरीमा रहेको कटरवनमा राजदेवी मन्दिर रहेको जानकारी पाएँ।
रौतहटमा त राजदेवीको नामबाट एउटा नगरपालिकाको नामकरण नै गरिएको छ। इतिहासकार स्व. हरिकान्तलाल दासले आफ्नो पुस्तक ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरू’ मा भने पर्साको वीरगन्जमा पनि राजदेवी मन्दिर रहेको उल्लेख गरेका छन्। तर यो पङ्क्तिकारले यसको स्वतन्त्र पुष्टि गर्न सकेको छैन। मिथिलाको इतिहास तथा संस्कृतिका अनुसन्धानकर्ता राकेशप्रसाद चौधरीका अनुसार यसबाहेक मिथिलाका अनेक गाउँमा विभिन्न आकार र अवस्थामा राजदेवी मन्दिर रहेका छन्।
मैले खोज्दै जाँदा पर्साबाहेकका मधेशका सातै जिल्लामा राजदेवीलाई भेटेँ। मैले खोज्ने प्रयत्न त गरेँ तर यी सात जिल्लाबाहेक नेपालका अन्य जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमा मैले राजदेवी भेटिनँ। यद्यपि मेरो यो निष्कर्ष अन्तिम भने होइन। खोजी जारी छ। तर इतिहासकार दासले आफ्नो पुस्तकमा भने वीरगन्जका अतिरिक्त मकवानपुरगढी र धनकुटाको मुगामा पनि राजदेवी थान भएको उल्लेख गरेका छन्।
राजदेवी मन्दिरको इतिहास के हो ? धेरैको विश्वास छ- यिनी राजा जनककी कुलदेवी हुन्। अर्कोथरी मत छ- राजदेवीको सम्बन्ध मकवानपुरे सेनवंशी राजाहरू सँग छ। इतिहासकार दास त राजदेवी सेनहरूको इष्टदेवी नै रहेको दाबी गर्छन्। अर्को मत पनि छ- शाहवंशीय राजाहरूको समयमा मधेशमा राजदेवी मन्दिरहरूको स्थापना भएको हो।
जनकपुरको राजदेवीलाई त्रेतायुगका राजा जनककी कुलदेवीका रूपमा पुजिन्छ भने सप्तरीको मन्दिर सेनवंशी राजाको समयमा निर्माण गरिएको मानिन्छ। खासमा राजदेवी मन्दिरको इतिहास र महत्त्व के हो भन्ने विषय अनुसन्धानको विषय हुनुपर्ने कुरा पत्रकार, प्राध्यापक, इतिहासकार तथा अनुसन्धानकर्मी एवं ‘जनकपुरको इतिहास’ पुस्तकका लेखक श्यामसुन्दर शशि बताउँछन्।

जनकपुरकी राजदेवी
जनकपुर नगरपालिका क्षेत्रमा राजदेवीका कम्तीमा तीनवटा मन्दिर प्रसिद्ध छन्- पहिलो राम मन्दिर प्राङ्गणमा रहेको राजदेवी, वडा नम्बर १२ कुवा रामपुरमा अवस्थित राजदेवी र वडा नम्बर १० देवीचोकको राजदेवी। राजदेवीको एउटा मन्दिर लक्ष्मिनियाँमा पनि अवस्थित छ।
जानकी मन्दिरनजिकैको राम मन्दिरको प्राङ्गणमा रहेको राजदेवीको मन्दिरलाई मुख्य मानिन्छ। स्थानीय स्तरमा राजा जनकको कुलदेवीका रूपमा स्वीकृत यस देवीको सम्बन्ध मिथिलाको इतिहाससँग जोडिएको मानिन्छ। बडादशैँ (विशेषगरी महाअष्टमी र महानवमी) का दिन यहाँ तान्त्रिक विधिद्वारा पूजा–आराधना गरिन्छ। यहाँ बोकाबलिको विशेष परम्परा छ।
राम मन्दिर प्राङ्गणमा रहेको राजदेवीलाई राजा जनककी कुलदेवी मानिने कुरा मन्दिरको द्वारमा पनि उल्लेख छ। पत्रकार शशि भने यो कुरामा सहमत छैनन्। उनी भन्छन्, “राजा जनककी कुलदेवी गिरिजा हुन्, जो फुलहर गिरिजास्थानमा विराजित छिन्।” उता अर्का पत्रकार तथा अनुसन्धानकर्मी वीरेन्द्र रमण कुलदेवी र इष्टदेवीमा भेद गरिनुपर्ने बताउँछन्। उनको भनाइ छ- कुनै रूपमा होस्, राजदेवीको सम्बन्ध जनक वंशसँग हुन सक्छ। पुरातत्त्व विभागको कुरा उल्लेख गर्दै उनी भन्छन्- विभागद्वारा २०६६/६७ मा प्रकाशित ‘धनुषा जिल्लाको सांस्कृतिक सम्पदाहरूको सर्वेक्षण : एक अध्ययन’ प्रतिवेदनको पृष्ठ ४६ मा राजदेवी मन्दिरलाई जनक वंशकी इष्टदेवी मानिएको उल्लेख छ। अनुसन्धानकर्मी रमणका अनुसार इष्टदेवी र कुलदेवी दुई फरक विषय हुन्। कुलदेवी वंशपरम्परामा आधारित हुन्छिन् भने इष्टदेवी व्यक्तिको आफ्नै आन्तरिक आस्था, गुरुको सल्लाह र विशेष आध्यात्मिक झुकावमा आधारित हुन्छिन्।
एउटा कुरा त निश्चित छ, आम जनकपुरवासीको मनमा यो कुरा गडेको छ कि राजदेवी राजा जनककी कुलदेवी हुन्। राम मन्दिरमा रहेको राजदेवी मन्दिरको इतिहास के हो ? अध्ययन हुन सकेको छैन। राम मन्दिरका पहिलो निर्माणकर्ता चतुर्भुज गिरीभन्दा पहिले पनि राजदेवी यहाँ विराजित थिइन् कि थिइनन् ? सायद यो प्रश्नको उत्तरले धेरै कुरा स्पष्ट पार्छ। के मकवानपुरे सेन राजवंशकालमा पनि यो मन्दिरको अस्तित्व थियो ? स्पष्ट उत्तर पाउन सकिन्न।

राजविराजकी राजदेवी
मधेशका धेरैजसो ठाउँमा रहेका राजदेवी मन्दिरको अध्ययन गर्दै गएका खण्डमा यसको सम्बन्ध मध्यकालका डोय/कर्णाट वंश तथा पछि विकसित सेनवंशीय राजाहरू (१४औँ देखि १८औँ शताब्दी) सँग रहेको मान्नेहरूको कमी छैन। राजविराज नगरको पूर्वी भागमा भलुवाही नदीको पूर्वपट्टि अवस्थित छ राजदेवी मन्दिर। राजविराजका अवकाशप्राप्त शिक्षक तथा अनुसन्धानकर्मी खेलानन्द झा भन्छन्, “अन्यत्रका बारेमा त थाहा भएन, तर राजविराजका हकमा भने राजदेवीको सम्बन्ध सेन राजाहरूसँग रहेको देखिन्छ।” उनी भन्छन्- सेन राजाहरूले आफ्नो राज्यको रक्षा र कुलदेवी/इष्टदेवीका रूपमा राजदेवीको पूजा गर्ने गर्दथे।
राजविराजस्थित राजदेवी मन्दिरमा रहेको भगवतीको प्राचीन मूर्ति करिब १,००० वर्ष पुरानो मानिन्छ। राजविराजमा हाल राजदेवी मन्दिरका रूपमा स्थापित मन्दिरको १४औँ शताब्दीमा मकवानपुरका सेन राजाहरूले जीर्णोद्धार वा स्थापना गराएको हुन सक्ने विश्वास गरिन्छ। तर कुन सेनवंशी राजाको समयमा यो मन्दिरको निर्माण वा जीर्णोद्धार भएको हो, त्यसको भने यकिन गर्न सकिएको छैन।
इतिहासकार स्व. दासले आफ्नो पुस्तकमा यहाँको राजदेवी मन्दिर पहिला गुम्बज शैलीमा निर्मित थियो भन्ने उल्लेख गरेका छन्। दासका अनुसार यसभन्दा अघि त्यहाँ एउटा गुफाजस्तै मन्दिर थियो जसमा प्रवेश गर्ने र निस्कने दुइटा बाटा थिए। त्यसमा प्रयोग गरिएको इँटा अहिलेको भन्दा लामो, मोटो र चौडा, राम्ररी पोलेको तर केही नलेखिएको थियो।
दासले पुस्तकमा लेखेका छन्- मन्दिरको गर्भगृह जमिनको सतहभन्दा मुनि रहेको छ। मन्दिरको गर्भगृहमा ढुङ्गाका चारवटा कलात्मक चौकसका टुक्राटुत्री राखिएका छन्। त्यसमध्ये एउटा कलात्मक चौकसको टुक्रामा एक नारीको मूर्ति कुँदिएको छ, जसलाई स्थानीय भक्तजनहरू ‘राजदेवी’ भनी पूजा गर्दछन्। दासका अनुसार मन्दिरभन्दा केही पर राजदेवीगढी नामको एउटा गढी छ, जसको सम्बन्ध राजदेवी मन्दिरसँग छ।

रौतहटकी राजदेवी
पछिल्लो पटकको मधेश यात्राका सन्दर्भमा मैले २०८१ असार २ गते रौतहटको यात्रा गरेको थिएँ। त्यस दिन चन्द्रनिगाहपुरमा पत्रकारहरूका लागि आयोजित कार्यक्रमपछि पत्रकार दिपु मिश्रसँगको बसाइमा मैले यहाँको राजदेवी मन्दिरबारे केही जानकारी प्राप्त गरेँ। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ६, कटरवनमा सो मन्दिर अवस्थित छ।
स्थानीयका अनुसार बागमती नदीनजिक रहेको यस मन्दिरको सम्बन्ध सेनवंशीय राजा र मधेशको ऐतिहासिक विकाससँग जोडिएको छ। पत्रकार मिश्रका अनुसार, १७औँ शताब्दी (वि.सं. १६८०–१७१० को आसपास) मा सेनवंशी राजाहरूले शक्तिस्वरूपा भगवती दुर्गालाई कुलदेवीका रूपमा पूजाआजा गर्दथे भन्ने विश्वास छ। पत्रकार मिश्र भन्छन्- आफ्नो राज्यको दक्षिण–पूर्वी भूभागमा अवस्थित रौतहटको सुरक्षा र समृद्धिका लागि राजा हरिहर सेनले कटरवन क्षेत्रमा माता राजदेवीको प्रतिमा स्थापना गरी मन्दिर निर्माण गराएका थिए।
स्थानीयलाई उद्धृत गर्दै पत्रकार मिश्रले जानकारी दिए- राजा हरिहर सेनको समयमा बागमती नदी कटरवनको निकै नजिकबाट बग्ने गर्दथ्यो। वर्षायाममा बाढी र नदीको कटानले गर्दा मन्दिर र आसपासका मानवबस्ती सङ्कटमा पर्ने गर्दथे। बागमतीको धार परिवर्तन र कटानका कारण मन्दिरलाई बचाउन कम्तीमा ३ पटक फरक–फरक स्थानमा स्थानान्तरण तथा पुनर्निर्माण गर्नुपरेको थियो। यस मन्दिरमा विजयादशमीको अवसरमा ठूलो मेला लाग्ने गर्दछ। यस मन्दिरमा महाअष्टमी र नवमीमा बलिपूजा र विशेष तान्त्रिक अनुष्ठान हुने गर्दछ।
जलेश्वरस्थित राजदेवी
यस वर्ष दशैँभन्दा केही पहिले (२०८१ असोज २१–२३) मैले धनुषा र महोत्तरीको यात्रा गर्दा महोत्तरीको जलेश्वर र मटिहानीको पनि भ्रमण गरेको थिएँ। यसै क्रममा जलेश्वरस्थित राजदेवीका बारेमा नयाँ ढङ्गले बुझ्ने अवसर प्राप्त भयो। मलाई यस क्रममा पत्रकार अनुसन्धानकर्ता राकेशप्रसाद चौधरीले सघाएका थिए।
जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालयनजिक रहेको राजदेवी मन्दिरभित्र नौवटा टाउको जोडिएको शिलाको प्रतिमा छ। प्रतिमामाथि पञ्चमुखी नाग र दायाँ छेउमा चाँदीको पत्रमा भैरवको चित्र छ। पत्रकार चौधरीका अनुसार विशेष अवसरमा राजदेवीको एकमुखी चाँदीको प्रतिमा राखेर पूजा गरिन्छ। भाकल पूरा हुनेहरूले सोमबार र शुक्रबार एवं दशैँको तीन दिन बोकाको बलि चढाउने गर्छन्।
पत्रकार चौधरी जानकारी दिँदै भन्छन्- विक्रम संवत् १९९० सालअगाडिसम्म रहेको कच्ची मन्दिर भूकम्पका कारण भत्किएपछि पक्की मन्दिर निर्माण भएको थियो। प्रारम्भिक मन्दिर कहिले स्थापना भयो र कहिले नौवटा टाउको जोडिएको राजदेवीको प्रतिमा राखियो भन्नेबारे अनुसन्धान हुन सकेको छैन। चौधरीका अनुसार सुरुमा माटोको पिण्ड रहेकोमा पछि प्रतिमा राखिएको हुन सक्ने अनुमान छ।
सर्लाहीको राजदेवी अर्थात् फुलमत माता
सर्लाहीको मेरो पछिल्लो यात्राका क्रममा पत्रकार अनुज विश्वनाथ ठाकुरको सहयोगले सर्लाहीकी राजदेवीबारे जान्ने–बुझ्ने मौका मिलेको थियो। मलङ्गवा नगरपालिका–९ र ब्रह्मपुरी गाउँपालिका–३ को सीमा भेल्हीस्थित नेपाल–भारत सीमा क्षेत्रनजिक रहेको राजदेवी माई जसको प्रसिद्धि फुलमत माताका नामले पनि छ, को मन्दिर अवस्थित छ।
मलङ्गवा बजार क्षेत्रबाट पूर्वोत्तर दिशामा झिम नदीनजिक अवस्थित यस मन्दिरको वातावरण निकै मनमोहक र रमणीय छ। चारैतिर हरियाली रूखबिरुवाले घेरिएको मन्दिर परिसरले धार्मिक तथा प्राकृतिक सौन्दर्यलाई समेटेको छ।
संस्कृतिकर्मीसमेत रहेका पत्रकार ठाकुरका अनुसार राजदेवी माईप्रति श्रद्धा राख्ने नेपाल तथा भारतका ठूलो सङ्ख्याका भक्तजन यहाँ पूजाअर्चना, आराधना तथा दर्शनका लागि आउने गरेका छन्। नेपाल–भारत सीमा क्षेत्रमा अवस्थित भए पनि यस मन्दिरमा पूजाअर्चना गर्न कुनै सीमा बाधक बनेको छैन। दुवै देशका नागरिकले समान श्रद्धा र भक्तिभावका साथ यहाँ पूजा गर्ने गरेका छन्।
मन्दिरका पुजारी राज वर्माका अनुसार प्रत्येक शुक्रबार बिहान यहाँ पूजा तथा दर्शन गर्न आउने भक्तजनको विशेष भीड लाग्ने गर्दछ। यो मन्दिरको स्थापना कहिले भयो ? यकिन जानकारी उपलब्ध छैन। यसबारे स्थानीय स्तरमा अनेक किंवदन्ती प्रचलित छन्। शिक्षक सुनील ठाकुरका अनुसार यो मन्दिरको यकिन इतिहासबारे निर्क्योल गर्न अनुसन्धान आवश्यक छ। उनी भन्छन्, “यो मन्दिरको इतिहास पनि मधेशका अन्य स्थानमा भएका राजदेवी मन्दिरकै हाराहारीको हुन सक्छ।”

सिरहाको ढोढनामा राजदेवी पञ्चावती भगवती मन्दिर
सिरहाको लहाननजिकको बस्तीपुर मेरो पैतृक गाउँ हो। म जतिपटक यहाँ जान्छु, प्रत्येकपटक केही नयाँ अनुभव हुन्छ। पछिल्लोपटक २०८१ को असार १३ र १४ गते म लहानमा थिएँ। यसै क्रममा मैले पहिले खासै जानकारी नभएको राजदेवीका बारेमा जानकारी प्राप्त गर्न सकेको थिएँ। समय उपलब्ध गराइदिएकोमा सामाजिक अभियन्ता एलिना हिङमाङप्रति आभार।
लहान नगरपालिका–१५ ढोढनामा अवस्थित छ राजदेवी मन्दिर। लहानबाट करिब १० किलोमिटरको दूरीमा अवस्थित यस मन्दिरले प्रसिद्ध धार्मिक स्थलको परिचय बनाएको छ। हिङमाङका अनुसार यहाँ वैशाख पूर्णिमाका दिनमा विशेष मेला लाग्ने गर्दछ। यस दिन नेपालका मेचीदेखि महाकालीसम्मका श्रद्धालुहरू यहाँ आउँछन्। यस दिन मन्दिरमा बोका र परेवाको बलि चढ्ने भएकाले बलि चढाउनका लागि श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गर्दछ।
हिङमाङको भनाइ छ- यस मन्दिरमा वैशाख पूर्णिमाका दिनमा करिब २० हजारको हाराहारीमा बोकाको बलि चढ्ने गर्दछ तर त्यो रगतमा एउटा पनि झिँगा बस्दैन र त्यो रगतबाट दुर्गन्ध पनि आउँदैन। अरू बेला देवताहरू मन्दिरमा बस्ने र पूर्णिमाका दिनचाहिँ वरिपरिका रूखमा बसेर ती देवताले दर्शनार्थीलाई हेर्छन् भन्ने किंवदन्ती छ।
हाल अस्तित्वमा रहेको मन्दिर नयाँ संरचना हो तर यहाँ देवीको बास भने निकै पुरानो रहेको विश्वास छ। यो मन्दिरको निर्माण कहिले भयो ? यसको इतिहास के हो ? भन्नेबारे अध्ययन हुनु आवश्यक रहेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष वीरेन्द्र चौधरी बताउँछन्।
कलैयामा पनि राजदेवी
बाराको कलैयास्थित जिल्ला अदालतको छेउमा राजदेवीको मन्दिर अवस्थित छ। मधेशका अन्य राजदेवीजस्तै यहाँको राजदेवीको पनि स्थानीयबीच ठूलो महत्त्व रहेको यहाँका अग्रज पत्रकार सत्यप्रकाश श्रेष्ठ बताउँछन्। स्थानीय समाजसेवी राजनीतिकर्मी सिकेन्द्र पासवानका अनुसार यो मन्दिरको इतिहास पनि अन्यत्रको जस्तै मकवानपुरे सेन राजवंशसँग जोड्ने गरिन्छ।
यद्यपि बारा जिल्लाको बरियारपुरमा अवस्थित गढीमाईको मन्दिर निकै प्रसिद्ध छ। जानकारहरूका अनुसार गढीमाई मन्दिरको इतिहास सेन वंशसँग जोडिन्छ। इतिहासकार दासका अनुसार पनि गढीमाई मन्दिरको सन्दर्भ सेनवंशी राजाहरूसँग सम्बन्धित छ।
स्पष्ट छैन इतिहास
यसपटकको मधेश यात्राका क्रममा मेरो निष्कर्ष रह्यो- पर्साबाहेक मधेशका सातै जिल्लामा राजदेवीका मन्दिर छन्। बाराका कलैया, पर्साको वीरगन्जबाट निकै नजिक छ, त्यहाँ राजदेवी मन्दिर भएकाले सायद पर्सामा यो मन्दिर नभएको हुन सक्छ। एउटा प्रश्न उठ्छ- मधेशमा भएका यी राजदेवीहरू एकै प्रकृतिका हुन् कि फरक–फरक ? जनकपुरकी राजदेवीलाई जनक वंशकी कुलदेवी मान्नेहरू पनि छन् भने कतिपयले राजविराज र रौतहटकी राजदेवीको सम्बन्ध सेनवंशी राजाहरूसँग जोड्ने गरेका छन्। अन्य राजदेवीको भने ‘राजकीय’ सम्बन्धका बारेमा खोजीनीति आवश्यक छ।
धेरैको मान्नु छ- नेपालको एकीकरणपछि काठमाडौँमा रहेर शासन चलाउने शाहवंशीय राजाहरूको समयमा खासगरी अमरसिंह थापाको कार्यकालमा सैनिक हातहतियार र कोतको पूजा गर्ने परम्परा (राज्यशक्तिको प्रतीक) अनुसार मधेशका विभिन्न स्थानमा राजदेवीको स्थापना भएको हो।
यसैसँग जोडिएको अर्को तर्क पनि छ- नेपाल एकीकरणपछि नेपालमा गाभिएका बस्तीबाट ‘कुत’ उठाउन ‘कोत’ को स्थापना गरियो र कोतलाई जनस्तरमा शक्तिशाील रूपमा स्थापित गर्न धार्मिक विश्वासलाई आधार बनाउने सन्दर्भमा एउटा देवीको स्थापना गरियो जसलाई ‘राजदेवी’ भनियो।
इतिहासकार शशिका अनुसार अमरसिंह थापाले जनकपुरको राम मन्दिरको जीर्णोद्धार गराएको उल्लेख पाइन्छ। यस क्रममा उनको समयमा त्यहाँ कोत (हतियार भण्डारण कक्ष) बन्यो र सो सन्दर्भमा एक देवीको स्थापना गरियो। शशिको तर्क छ- सायद अमरसिंह थापाकै समयमा जनकपुरबाहेकका अन्य स्थानमा पनि राजदेवीको स्थापना भएको हुन सक्छ।
शशिको भनाइ छ- अमरसिंह थापाको समयमा यहाँ निर्मित कोतमा राखिएको हतियारको पूजाअर्चनाको सन्दर्भमा स्थापित देवी नै कालान्तरमा नेपाल राजकीय देवी अर्थात् राजदेवीको रूपमा चर्चित भएको हुन सक्छ। शशिको भनाइ छ- यस मन्दिरको सम्बन्ध नेपालको सेनासँग छ।
पत्रकार रमणका अनुसार राणा प्रधानमन्त्री जङ्गबहादुरको समयमा जनकपुर क्षेत्रमा अनेक प्रकारको धार्मिक–सामाजिक बन्दोबस्त गरिएको पाइन्छ। रमण भन्छन्- जङ्गबहादुर धेरैपटक जनकपुर आएका थिए। उनको समयका प्राप्त शिलालेख र ताम्रपत्रमा राम मन्दिरको उल्लेख पाइए पनि राजदेवीको उल्लेख पाइँदैन।
रमणका अनुसार जनकपुर परिक्रमा क्षेत्रभित्र मद्य–मांस निषेधको व्यवस्था जङ्गबहादुरले गरेका हुन्। तर राम मन्दिरस्थित राजदेवीलाई बलिभोग लगाउने गरिन्छ, जो परिक्रमा क्षेत्रको केन्द्रमा अवस्थित छ।
त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्राध्यापक हिराकान्त कर्णका अनुसार शाहवंशीय राजाहरूले मधेशबाट कुत असुल गर्न धार्मिक त्रासलाई माध्यम बनाए र राजाको प्रतिनिधी देवीका रूपमा ‘राजदेवी’ को स्थापना गरे। केही अध्येताका अनुसार मधेश प्रदेशबाहेकको नेपालमा मात्र होइन, सीमावर्ती भारतीय क्षेत्रमा पनि राजदेवीको मन्दिर छैन। एकथरी अर्को तर्क पनि गर्ने गरिन्छ- सुगौली सन्धि (सन् १८१६) पछि मात्र राजदेवी मन्दिरहरूको स्थापना भएको हो।
सुगौली सन्धिपहिले राजदेवीको प्रभाव हुन्थ्यो भने हालको मधेश प्रदेशभन्दा अन्यत्र पनि राजदेवीको मन्दिर हुन्थ्यो। सुगौली सन्धिभन्दा पहिलेको नेपालको नक्सा फरक थियो। सेन वंशको समयको राजनीतिक भूगोल पनि फरक थियो। सेनवंशी राजाहरूको शासन आज भारतीय नक्साअन्तर्गत समेटिएका कतिपय भूगोलसम्म थियो।
यही अवस्था जनककालीन मिथिलाको पनि थियो। राजदेवीको सम्बन्ध जनक वा सेन वंशसँग हुन्थ्यो भने आजको मधेश प्रदेशभन्दा अन्यत्रको भूगोलमा पनि राजप्रभावका आधारमा राजदेवीको अस्तित्व हुन्थ्यो होला, तर अवस्था त्यस्तो देखिएको छैन। यस आधारमा राजदेवीबारे थप अनुसन्धान आवश्यक देखिएको छ।
सुगौली सन्धिपछि मधेशमा राजदेवीको स्थापना भएको हुन सक्ने पक्षमा एउटा तर्क गर्न सकिन्छ- सुगौली सन्धिका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र भनेको हालको मधेश प्रदेश हो। सायद सन्धिपछि यो क्षेत्र राजनीतिक रूपमा अत्यन्त संवेदनशील बनेको थियो। यही संवेदनशीलतालाई दृष्टिगत गर्दै भौगोलिक सुरक्षाका लागि पनि ‘राजदेवी’ लाई माध्यम बनाइएको हुन सक्छ।
केही जानकारहरूका अनुसार मकवानपुरका सेनवंशी राजाहरूसँग पनि जनकपुरको राम मन्दिर र राजदेवी मन्दिरको सम्बन्ध छ। मकवानपुरे सेन राजाले यी मन्दिरहरूको सञ्चालनका लागि गुठीको व्यवस्था गरे भन्ने तर्क पनि प्रस्तुत गर्ने गरिएको छ। तर यस सम्बन्धमा पर्याप्त अध्ययन आवश्यक छ।
त्यस्तै एउटा तर्क अर्को पनि छ- रणबहादुर शाहकी मैथिल ब्राह्मणी रानीबाट जन्मेका गीर्वाणयुद्ध विक्रम शाहले आफ्नो कार्यकालमा तत्कालीन नेपालको भूगोलअन्तर्गत रहेको मिथिलाको भ्रमण गरेका थिए र सो समयमा राजदेवीलगायत विभिन्न मन्दिरको सञ्चालन व्यवस्थाहेतु सहजीकरण गरेका थिए।
राजदेवीको सम्बन्ध आदिवासीसँग पनि
प्राध्यापक हिराकान्त कर्णका अनुसार राजदेवी राजा जनककी कुलदेवी थिइन् कि थिइनन् भन्ने सम्बन्धमा अध्ययन हुनु जरुरी छ, तर एउटा कुरा निश्चित छ- राजा जनक स्वयं र उनको राज्यका जनतामा देवीप्रति अनन्त आस्था थियो। प्राध्यापक कर्ण राजदेवी र सेनवंशी राजाहरूका सम्बन्धमा पनि थप अध्ययन हुनुपर्ने मत व्यक्त गर्दछन्।
प्राध्यापक कर्ण ‘राजदेवी’ हरूको सम्बन्ध आदिवासी जनजातिसँग पनि रहेको हुन सक्ने धारणा राख्छन्। उनका अनुसार विगतमा चुरे पर्वत शृङ्खलाभन्दा मुनिको यो क्षेत्र जङ्गलले भरिपूर्ण थियो। यस क्षेत्रमा आदिवासीहरू बसोबास गर्दथे। पुरुष शक्तिहरूको वर्चस्व थियो। समाजमा आतङ्क–अत्याचार थियो। मातृशक्ति प्रताडित थिए। प्राध्यापक कर्ण भन्छन्- पुरुष शक्तिविरुद्ध मातृशक्तिले विद्रोह गरे र राजदेवीहरू अस्तित्वमा आए र पुरुषद्वारा पुजिन थालिए। कर्ण आफ्नो तर्कका पक्षमा भन्छन्- अध्ययनकै विषय हो, जुन ठाउँमा जुन समुदायको वर्चस्व थियो त्यस ठाउँमा त्यही समुदायका व्यक्ति राजदेवीका पुजारी भए।
उनी भन्छन्- राजदेवीका प्रायः मन्दिरमा ब्राह्मण पुजारी छैनन्, आदिवासी नै पुजारी छन्। उनका अनुसार राजदेवीको प्रायः कतै पनि प्रस्तर मूर्ति पाइँदैन, शिला वा थुम्कालाई नै राजदेवी मान्ने गरिएको छ। इतिहासकार स्व. दास पनि यस मतसँग सहमत छन्। उनले आफ्नो पुस्तकमा धनकुटा मुगाको मन्दिरमा भने प्रस्तर मूर्ति रहेको उल्लेख गरेका छन्।
यसपटकको मधेश भ्रमणको बिट मार्दै २०८१ असार १५ गते राजविराजबाट काठमाडौँका लागि प्रस्थान गर्दा मैले अनुभव गरेँ- राजदेवीका बारेमा ममा रहेका अनेक प्रश्नको उत्तर मैले पाएको त थिएँ, तर अनेक प्रश्न अझै अनुत्तरित नै थिए।
प्रतिक्रिया 4