+
+
Shares
बहस :

सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

सर्प उद्धारमा अहिले देखिएको सुरक्षा र नैतिक सवाललाई समाधान गर्ने उपाय भनेको उद्धार मात्र होइन, नैतिकतासहितको उद्धार हो, जसले स्वयं उद्धारकर्ता, अन्य मानव र सर्पको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ।

विष्णुप्रसाद आचार्य विष्णुप्रसाद आचार्य
२०८३ कात्तिक २७ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डिभिजन वन कार्यालय चितवनले वन्यजन्तु उद्धारमा पालिका, साझेदार संस्था र वन हेरालुसँग समन्वय गरेर काम सुरु गर्ने जनाएको छ।
  • सर्प उद्धारमा भ्युजका लागि स्टन्ट, सुरक्षा अभाव र कार्यविधि नहुँदा वास्तविक उद्धारकर्ता चिन्तित बनेका छन्।
  • सरकारले सर्पदंश रोकथाम र नियन्त्रणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०८३ जारी गर्दै प्रमाणित तालिम र स्नेक रेस्क्यु टिम गठनको बाटो खोलेको छ।

वन व्यवस्थापनका साथै वन्यजन्तु उद्धार

डिभिजन वन कार्यालय चितवनमा कार्यरत भएको एक वर्षभित्र हामीले सबैभन्दा धेरै प्राप्त गरेको फोन वन्यजन्तुको उद्धारका लागि हो। ठूला जनावरको सन्दर्भमा हामीले तत्काल चितवन राष्ट्रिय निकुञ्ज वा राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहासँग समन्वय गरेर परिस्थितिअनुसार उद्धारको काम सम्पन्न गर्छौं र साना तथा कम हानि हुने प्रजातिको उद्धारको कार्य हामीले गर्ने गरेका छौं।

हाम्रो कार्यालयले वन व्यवस्थापन र संरक्षणका अतिरिक्त वार्षिक रूपमा धेरै सङ्ख्यामा वन्यजन्तुको उद्धारको काम पनि गर्ने गर्छ र यिनलाई यथासम्भव प्राकृतिक बासस्थान मिल्दो स्थानमा छाड्छौं।

वन्यजन्तुमा धनी चितवन राष्ट्रिय निकुञ्ज भएको जिल्लाको वन कार्यालय हुनुको यो एउटा फाइदा हो। यसले हामीलाई वनक्षेत्रको अलावा यस्तो फरक प्रकारको सेवा गर्ने मौका दिन्छ। यसले हाम्रा स्टाफको विज्ञता बढाएको र हामीप्रतिको जनताको दृष्टिकोण सकारात्मक बनाउन भूमिका खेलेको हामीले महसुस गरेका छौं।

उद्धारमा बहुपक्षीय संयोजनको अभाव

धेरै स्थानबाट वन्यजन्तु देखेर त्यसलाई त्यहाँबाट हटाइदिन वा भगाइदिन (हाम्रो भाषामा वन्यजन्तुको उद्धार) जनप्रतिनिधि, स्थानीय र सुरक्षा निकायको फोन आउँछ। वन्यजन्तुमध्ये पनि पछिल्लो पटक हामीले धेरै प्राप्त गर्ने फोनचाहिँ अजिङ्गरको उद्धार हो। अचम्म लाग्छ, चितवनमा कति धेरै अजिङ्गर हुन् ! सानादेखि ठूलासम्मका अजिङ्गरको उद्धार गर्दागर्दै अब त सामान्य नै लाग्न थालेको छ।

कहिलेकाहीँ भने हामी हैरान हुन्छौं। स्टाफ फिल्ड वा गस्ती गएका हुन्छन् या भर्खरै दिनभरिको फिल्ड र गस्ती सकेर आएका हुन्छन्, लगातार फोन आउँछ; अलिक ढिलो भयो कि अनेक कुरा हुन्छ। यस्तो बेलामा सोच्ने गर्छु- चितवनजस्तो जिल्लामा पनि हामीले पालिकासँगको समन्वयमा वन्यजन्तुको उद्धार गर्ने काम किन सिकाएनौं ?

यत्रो पालिका छ, सबै पालिकामा नगर प्रहरी छन्, हाम्रा सामुदायिक वन छन् र प्रायः धेरै सामुदायिक वनमा वन हेरालु छन्। पालिका, समूह र यहाँ कार्यरत साझेदार संस्थासँग समन्वय गर्ने हो भने यो कठिन विषय पनि होइन। समूह पनि उद्धारका केही सामान किन्न र केही वन हेरालु र अन्य इच्छुकलाई आफ्नै खर्चमा तालिम दिन तत्पर छ। यो तमाम दिगो र भरपर्दो उपायलाई छाडेर हामी भरतपुरबाट मात्रै कुदिरहेका छौं।

अझ कतिपय अवस्थामा त हामी पुगुन्जेल जे उद्धार गर्न गएका हौं, त्यो जनावर कता पुगिसकेको हुन्छ। कतै जुन जनावर भनेर गयो त्यो हुँदैन; नहुने मात्र होइन, यति सामान्य जनावर हुन्छन् कि त्यसलाई सजिलै स्थानीयले पनि ह्यान्डल गर्न सक्ने हुन्छन्। अनि हामी समय, इन्धन नाश भन्दै फत्फताउँदै सयौं किलोमिटरको दूरी तयपश्चात् फर्किन्छौं। यस्ता विषयमा बहुपक्षको संयोजन गराउँदै सबैलाई जिम्मेवार बनाएर केवल केही दिनको तालिम दिएर हिंस्रक बाहेकका सहज जनावरको उद्धार गर्न हामी किन अलमल गरिरहेका छौं ? आफैलाई अचम्म लाग्छ। यो विषयमा अब हामीले तत्कालै पालिका र अन्य साझेदार संस्थाको सहकार्यमा काम प्रारम्भ गर्नेछौं।

सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

हामीलाई अजिङ्गरपछि सर्पको उद्धार गरिदिन आग्रहसहित कयौंपटक फोन आउँछ, तर हामी त्यो बेला करिब निरुपाय हुन्छौं र सहजै भन्छौं, ‘सर्पको उद्धार गर्न हामी सक्दैनौँ हजुर !’ यसका लागि हामीसँग दक्ष जनशक्ति र सम्पर्कमा अरू पनि छैनन्। अनि हामी मसिनो स्वरले भन्छौं, ‘कोही अन्य उद्धारकर्तालाई वा नजिकको प्रहरीलाई भन्नुस् है।’ उताबाट ‘ए हस हस’ भन्ने जवाफ आउँछ।

त्यसपछि थाहा छैन, यस्ता सर्पको उद्धार हुन्छ वा कसले झन्झट र असुरक्षा बोक्ने ? ‘जाबो सर्प त हो, हामीसँग यस्ता सर्प कति छ कति’ भनेर सहजै मारिन्छन्, त्यसको जानकारी हामीलाई आउँदैन र हामी पनि ‘सर्प त हो’ भनेर चुप लाग्छौं, खोजेर बस्दैनौं। यदि हामीसँग प्रमाणित तालिम भएका उद्धारकर्ता स्टाफ वा अभियन्ता भए कम्तीमा केही सर्पको बाँच्न पाउने अधिकारको त सुरक्षा हुन्थ्यो भन्ने लागिरहन्छ।

कहिलेकाहीँ लाग्छ- अन्य उद्धारकर्ता भनेको को हो ? जसले जान्नुपर्ने हो (वन कार्यालय), उसले जानेको छैन, अनि अरू कसले गरिदिने हो ? जसलाई हामीले उद्धारकर्ता भनेका छौं, उनी आफैं पनि सिकारु हुन् कि विज्ञ हुन्, हामीलाई थाहा छैन। उसले किन र केको आधारमा यस्तो जोखिमयुक्त काम गरिरहेको छ ? उसले गरेको उद्धार विशुद्ध समाज सेवा हो वा पछिल्लो समय डरलाग्दो रूपमा देखिएको भ्युजका लागि गरिएको केवल कन्टेन्ट क्रिएसन हो ? यसको जवाफ हामी कसैसँग छैन।

विशुद्ध स्वयंसेवा वा हिरोइज्मको धुन ?

आजभोलि सामाजिक सञ्जालमा सर्प उद्धार तथा पुनर्स्थापनाका सयौं भिडियो/फोटो आउने गरेका छन्। यी फोटो/भिडियोले एकैपटक धेरै प्रश्न सिर्जना गरेका छन्। केही उद्धारकर्मीले अत्यन्त विषालुमध्ये एक किङ कोबरा (राज गोमन) लगायतका अन्य सर्पको उद्धार अत्यन्त सहजता र सजगताका साथ सचेतना फैलाउँदै गरिरहनुभएको छ। उद्धार गर्नेदेखि पुनर्स्थापनासम्मको काममा सावधानी अपनाउनुपर्ने कुरा, यदि दुर्घटना भइहाले पनि नआत्तिकन ‘यो पछि यो गर्नुस्’ भनेर जानकारी गराउनुहुन्छ। यस्तो देख्दा राज्यले गर्नुपर्ने काम केही साथीहरूले निस्वार्थ ढङ्गले गरिरहेको देखेर मनै आनन्द हुन्छ र आभार व्यक्त गर्न मन लाग्छ।

अर्कोतर्फ हेर्छु- सर्प उद्धार भनिएको छ, न हातमा पन्जा छ, न हातमा स्टिक/हुक, सर्प उद्धारपश्चात् सफा र सुरक्षित झोलामा अनिवार्य राखिनुपर्नेमा प्लास्टिकको बोतलमा राखिएको छ, न खुट्टामा बुट वा यस्तै अन्य सुरक्षाका साधन, नाङ्गो हातले सिधै समातेर तानिएको छ, तानेर हल्लाइएको छ। कतिपयले त अझ घाँटीमा माला लगाएको जस्तो बेरेका छन्, मानौँ त्यो किङ कोबरा वा अरू कुनै विषालु सर्प होइन, प्लास्टिकको डोरी हो। लाग्छ, त्यो किङ कोबरा अत्यन्त भलादमी छ, उद्धारकर्तासँग वर्षौंदेखि आत्मीय सम्बन्ध छ, यसले टोक्दैन र टोके पनि उद्धारकर्तालाई विष लाग्दैन। कति बिन्दास !

हेर्दै जिउ सिरिङ्ग हुन्छ र आफैलाई सोध्छु- के त्यो उद्धार नै हो ? कि स्टन्टबाजी वा हिरोइज्म हो ? आफै अलमल हुन्छौं, तर हामीसँग हेर्नु र छिटोछिटो स्क्रिन स्क्रोल गर्नुको कुनै विकल्प छैन। किनकि न मसँग उद्धार गर्ने त्यो ढंग छ, न हिम्मत, न अरूलाई सिकाउने कुनै तरिका, नियमन गर्ने प्रष्ट कार्यविधि र कुनै निकाय ? अनि के गर्नु ?

स्वयं उद्धारकर्मी नै चिन्तित

सामाजिक सञ्जालमा देखिएको यस्तो स्टन्टवाज प्रवृत्तिले धेरै वास्तविक उद्धारकर्ता चिन्तित छन्। उहाँहरू पनि स्वीकार गर्नुहुन्छ- पछिल्लो समय सर्प उद्धारको नाममा, भ्युजको लोभमा यसको बाढी नै आएको छ, यो हामी सबैका लागि घातक छ र यसको गन्तव्य खराब नतिजा नै हो, तसर्थ समयमा नै यसलाई हामी सबै भएर सुधार्नुपर्छ।

उहाँहरू भन्नुहुन्छ- हामीले गर्मी, वर्षाद, बिहान, बेलुका, मध्यराति केही नभनी, कहिले घर, गोठ, भान्छाका कुनाकाप्चा त कहिले शौचालयमा समेत पसेर ज्यान जोखिममा राखेर, घरपरिवारबाट ‘यस्तो काम किन गरेको?’ भन्ने गाली खाँदै भए पनि निःशुल्क सेवा गरेका छौं।

यसबापत न हामीलाई कुनै सम्मान छ, न कुनै धन्यवाद, न सरकारी वा गैरसरकारी संस्था कसैको तर्फबाट कुनै सेवा–सुविधा। सबै व्यवहार मिलाएर, सम्पूर्ण खर्च आफैंले व्यहोरेर (पेट्रोल, फोन र खाजा खर्च पनि आफ्नै) गरिएको यस्तो पवित्र कामलाई कसैले भ्युजका लागि गरिएको स्टन्ट मात्रै हो भनिदियो भने हामीलाई कस्तो महसुस होला ? उहाँहरूको प्रश्न छ, ‘यदि तपाईं पनि उद्धारकर्ता हो र कसैले यस्तो भनेमा तपाईंलाई कस्तो महसुस होला ?’

उहाँहरूको कुरा सुन्दा लाग्छ- अब यो विषय कानुनी र प्राविधिक विषय मात्र होइन, यो अत्यन्त गहिरो मानवीय र सामाजिक विषय पनि हुन पुगेको छ र यसलाई नयाँ ढंगले विश्लेषण, सहजीकरण र सेवा–सुविधासहित नियमन गर्नुपर्छ।

कुनै भवितव्य दुर्घटना भएमा के हुने ?

एउटा अहम् सवाल छ- यदि उद्धारको क्रममा कुनै उद्धारकर्तालाई नै टोकेर कुनै दुर्घटना भयो वा अन्य कोही व्यक्तिलाई कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवार को हो ? मानिसको मृत्यु नै भएमा त्यसको क्षतिपूर्ति दिने वा घाइते मात्र भएमा पनि उसको औषधि गर्ने जिम्मा कसको हो ? यदि दुर्घटना भएमा यो विषयले कानुनी रूप लिन्छ कि लिँदैन ?

यसो हेर्छु, नेपाल र छिमेकी देश भारतमा पनि उद्धारको क्रममा घाइते र मृत भएका घटना छन्, यीमध्ये कति त बाहिर आउँदैनन्, आएपनि उद्धारको क्रममा नभनी सर्पदंश भनेर कुरा मिलाइन्छ।

राष्ट्रिय निकुञ्ज ऐनले संरक्षित वन्यजन्तुको (सरीसृप) सूचीमा राखेको अजिङ्गर यदि उद्धारको क्रममा मर्यो वा केही भयो भने उसलाई मुद्दा लाग्ला नलाग्ला ? उद्धारकर्ताको उद्देश्य पवित्र छ, तर भवितव्य भएमा पनि कानुन त निकै कडा छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले यस्तो संरक्षित जनावर मारेमा ५ देखि १५ वर्षसम्मको जेल सजाय वा पाँच लाखदेखि १० लाखसम्मको जरिवाना वा दुवै तोकेको छ। अनि सोच्छु- यो सजिलो काम हो र ? पक्कै सजिलो होइन।

छैन कुनै सेवा–सुविधा र प्रमाणीकरण तालिम

नेपालमा अहिलेसम्म सर्प उद्धारको लागि प्रमाणित तालिम दिने सरकारी संस्था वा निकाय भएको थाहा छैन, यद्यपि सर्प उद्धारको क्रममा नेपालमा केही गैरसरकारी संस्थाले लामो समयदेखि प्राविधिक सहयोग, तालिम र आफैं पनि उद्धारको काम गर्दै आउनुभएको छ। तपाईं-हामीले जेजति उद्धारकर्ता देखेका छौं, उहाँहरू सबै नै अनुभवको आधारमा उद्धार गर्दै आउनुभएको छ।

यी तालिम पाएकामध्ये पनि सोही पेसामा निरन्तरता दिनेको सङ्ख्या अत्यन्त थोरै छ। कहिलेकाहीँ कुनै सरकारी वा गैरसरकारी कार्यक्रम आउँछ, सहभागी जम्मा पारेर तालिम दियो, त्यसपछि नियमित फलोअप हुँदैन, न उद्धारका सामग्री दिन सकिन्छ, न उसलाई कुनै प्रकारको सेवा–सुविधा दिन सकिन्छ; त्यसपछि निरन्तरता नपाउनु स्वाभाविक हो।

अझ सरकारी कर्मचारी, प्रहरीलाई तालिम दियो, उहाँहरू त्यहाँबाट सरुवा भएर गएपछि त्यो कुरा सकिन्छ। त्यसैले अबका दिनमा यस्ता कामलाई निरन्तरता दिन सरकारी कार्यविधिसहित सर्पको अधिक जोखिम रहेका जिल्लाहरूले एकजना दरबन्दी नै खडा गरेर सेवा–सुविधासहित काम गर्ने, गराउने, तालिम दिने, तथ्यांक राख्ने आदि काम गर्नुपर्दछ। कयौं जिल्लामा वन वा निकुञ्जका स्टाफहरूले उद्धार त गर्दै आउनुभएको छ, तर यसबापत उहाँहरूलाई थप कुनै सुविधा छैन, न कुनै सम्मान।

विज्ञहरूको भनाइ अनुसार नेपालमा पाइने सर्पमध्ये २० प्रतिशत मात्र विषालु सर्प छन् र ८० प्रतिशत सर्प अविशालु छन् र यिनले पर्यावरण सन्तुलनमा ठूलो भूमिका खेल्छन्।

हामीसँग देशभरिमा सर्प उद्धारकर्ताको सङ्ख्या कति छ, त्यसको यकिन तथ्यांक पनि छैन। सर्प उद्धारकर्ताको रूपमा केही महिला अगाडि आउनुभएको छ। उहाँहरूमध्ये केही स्वेच्छिक रूपमा र केही क्याम्पसमा सर्पको विषयमा अध्ययन गर्दागर्दै यता आकर्षित हुनुभयो, तर यसको निरन्तरता वा थप परिष्कृत हुन्छ हुँदैन, कसैलाई थाहा छैन।

हालसालै काठमाडौं उपत्यकामा सर्प लगायतका सरीसृपको उद्धार तथा पुनर्स्थापनाको काममा वृद्धि भएसँगै डिभिजन वन कार्यालयले सन् २०१९ देखि नै सर्प उद्धारमा संलग्न सुबोध आचार्यलाई सर्प उद्धारकर्ताको रूपमा नियुक्ति नै गरेको छ।

सुरुमा उनी स्वयंसेवकको रूपमा उपत्यकाका वन कार्यालय र दक्षिणकाली नगरपालिकासँग समन्वय गरेर काम गर्थे र हालचाहिँ उनी करारमा भए पनि सरकारी उद्धारकर्ताको रूपमा दर्ज भएका छन्। सम्भवतः सरकारी तलब खाने गरी नियुक्ति भएका उनी पहिलो उद्धारकर्ता हुलान्, यसले अन्य डिभिजनलाई पनि थप काम गर्न प्रेरणा र आधार दिएको छ।

अहिले देशका केही पालिकामा उद्धार टोली गठन गरेर नै राम्रोसँग काममा सक्रिय हुनेको सङ्ख्या पनि छ र सर्पको जोखिम भएका अरू पालिकाले पनि यो क्षेत्रमा कदम बढाउनुपर्छ।

‘यी पक्कै सरकारी जागिरे हुन्’

सर्प उद्धार भन्नासाथ म एक समयका प्रख्यात सर्प उद्धारक, आफूले पनि सयौं सर्प उद्धार गरेका र कयौलाई तालिम दिएर सक्षम बनाएका ‘मिथिला वाइल्ड लाइफ ट्रस्ट’ का देवनारायण मण्डलको कुरा सम्झन्छु।

‘हामी अहिले संस्थागत वा व्यक्तिगत रूपमा सर्पको उद्धार गर्दैनौं। पहिलो कुरा त यो पालिका, वन कार्यालयको मुख्य जिम्मेवारी हो, हिजो कोही नहुँदा, कसैलाई थाहा नहुँदा हामीले यो काम ठूलो जोखिम मोलेर भए पनि गर्यौं। यसले सर्प देख्नासाथ मार्नेबाट उद्धारसम्म आइपुग्यो, अब यो विषयमा केही कार्यविधि पनि आयो, अब वन कार्यालय या पालिकाले नै अगुवाइ गर्नुपर्छ। हामी अब सहयोगी मात्र हौं।’

‘यो हाम्रोलागि असाध्य महँगो भयो, एउटा सर्प उद्धार गर्न लामो दूरी तय गरेर गयो, स्थानीयको बुझाइ यी पक्कै सरकारी तलबी कर्मचारी हुन् वा पक्कै कुनै एनजीओको पैसा खाएर आएका हुन्, नभए यस्तो जोखिम मोलेर किन आउँथे भन्ने सवालले कयौंपटक घेरिएको र हामी स्वयंसेवक हौं भन्दा पनि सुख नपाएका कयौं दुःखद क्षण छन्। सर्प उद्धारको लागि धेरैजसो अवस्थामा अनुरोधात्मक होइन कि निर्देशनात्मक फोन आउने, सबै काम मिलाएर गयो अनि अनेक माग, घेराबन्दीमा पर्ने, सर्पलाई छाड्ने बेलामा हाम्रो वरिपरिको जङ्गलमा छाड्न पाइँदैन भन्ने र रोक्ने, न सरकारबाट सामान्य सुविधा, न बीमा, न राहत। कतिपय स्थानमा उद्धार भन्नासाथ जङ्गलको छेउछाउ रहेको वा आफैं पनि अन्यत्र जान सक्ने सर्पलाई हल्ला गरेर घेराबन्दी गर्ने र कुनै ट्र्यापमा पार्ने र उद्धार भन्ने, कति दिन यसरी गर्ने ?’

उहाँको अर्को चिन्ता थियो- ‘हामी उद्धारकर्ताले उद्धार गरेर बासस्थानमा छाडेको सर्प पनि अधिकांश एक हप्तादेखि एक महिनाभित्र आफैं मर्छन्, किनकि हामीले यहाँ प्रयोग गर्ने अधिकांश औजार (स्टिक/हुक) धारिलो छ र यो सर्प उद्धारको लागि उपयुक्त छैन।

उद्धार गर्ने क्रममा सर्पलाई समाउँदा हामी अत्यन्त जोडले समात्छौं, जसले उसको भित्री अङ्गमा ठूलो चोट पुग्छ र केही समयपश्चात् सोही चोटले मर्छ। तसर्थ यो उद्धार मात्र होइन, असावधानी र ज्ञानको अभावले यो एक प्रकारको सर्प हत्या नै हो। तसर्थ सर्प उद्धारमा पनि प्रयोग गरिने औजार, प्रविधि र सीपको ठूलो महत्त्व छ। राम्रो उपकरण महँगो छ, हामी सस्तोले नै काम चलाउँछौं, ज्यान जोखिममा राखेर उद्धार पनि गर्छौं, तर उद्देश्य पूरा हुन सक्दैन। तसर्थ यसको लागि सरकारी कार्यविधि, तालिम, सुविधा र नियमन अनिवार्य हुनुपर्छ।’

सरकारी नीति, नियम र कार्ययोजना

विगत लामो समयदेखि सर्पदंशको विषय सधैं स्वास्थ्यसँग सम्बन्धित घटनाको रूपमा लिने गरिएकोमा सरकारले अब सर्पदंशको घटनालाई स्वास्थ्यको मात्र समस्या नमानी विपत्को घटना हो भनी स्वीकार्दै गृह मन्त्रालय मातहतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत ‘सर्पदंश रोकथाम र नियन्त्रणसम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ जारी गरेको छ।

कार्ययोजनाले सर्पदंश भएमा के गर्ने, के नगर्ने भनेर भनेको छ, तर सर्प उद्धार कसरी गर्ने र योसँग सम्बन्धित अन्य आवश्यक विषयमा केही नबोलेता पनि सर्पको जोखिम न्यूनीकरण, उद्धारसम्बन्धी आवश्यक सुझाव र रणनीतिसहित पहिलोपटक केही कुरा बोलेको र सम्बन्धित निकायलाई आगामी बाटो तय गर्न, आफ्नो कार्यविधि आफैं बनाउन मार्गप्रशस्त गरेको छ, जसलाई सकारात्मक रूपमा लिनुपर्छ।

कार्ययोजनाले सर्प उद्धारमा कसले नेतृत्व लिने भनेर एउटा दिशा तय गरेको छ। अहिले हेर्दा सबैको समन्वयमा वन मन्त्रालय र सोअन्तर्गत रहेको डिभिजन वन कार्यालय र पालिकाले नेतृत्व लिनुपर्छ भन्ने देखिन्छ। कार्ययोजनाले घरभित्र सर्प देखिएर उद्धार गर्नुपरेमा सुरक्षा निकाय, वनकर्मी तथा संरक्षणकर्मी, उद्धारकर्ता वा स्थानीय निकायलाई खबर गर्ने, मानव-सर्प द्वन्द्व न्यूनीकरणअन्तर्गत स्नेक रेस्क्यु टिम गठन गर्ने र यसको जिम्मेवार निकायमा वन कार्यालय र संरक्षण क्षेत्रको कार्यालयलाई जिम्मेवार निकाय भनेर तोक्ने र अन्य साझेदार संस्थालाई सहयोगीको रूपमा राखेको छ।

अर्को महत्त्वपूर्ण सवाल- हालसम्म विभिन्न संस्थाले आफ्नै ढंगले सर्प उद्धारकर्ताको तालिम सञ्चालन गर्दै आएकोमा अबका दिनमा भने सरकारी निकायले प्रमाणित तालिम सञ्चालन गर्ने र यसको जिम्मेवार निकाय वन मन्त्रालय भनेर तोकिएको छ। हालसम्म संघीय तथा प्रदेश वन मन्त्रालयमा यस्तो तालिम दिने निकाय गठन नभएता पनि आगामी दिनमा गठन गर्न सक्ने स्पष्ट प्रावधानले आगामी दिनमा संघीय वन मन्त्रालयको अलावा सातवटा प्रदेशका वनसँग सम्बन्धित मन्त्रालयले तत्काल यो सम्बन्धमा यथाशीघ्र कार्यनीति बनाउने छन् भन्ने अपेक्षा गर्न सकिन्छ। यद्यपि यसका अनेकौं कानुनी र व्यावहारिक समस्या हामीसँग छन् र क्रमशः समाधान हुँदै जानेछन्।

मानव-सर्प द्वन्द्वदेखि उद्धार तथा पुनर्स्थापनासम्म

मानव र सर्पबीचको द्वन्द्व आजको होइन, सनातनदेखिकै हो। हामीले थाहा पाएसम्म पनि सबैजसो सर्प जहाँ हुन्थे, त्यहीं मारिन्थे। विगतका वर्षहरूमा कति सर्प मरे वा मारिए, आजभोलि वर्षैनी कति सर्प मारिन्छन्, यसको कुनै तथ्यांक र भोलि कति मारिने हुन्, यसको अन्दाज वा आकलन हामीसँग छैन र सायद राख्न पनि सम्भव देखिँदैन।

विज्ञहरूको भनाइ अनुसार नेपालमा पाइने सर्पमध्ये २० प्रतिशत मात्र विषालु सर्प छन् र ८० प्रतिशत सर्प अविशालु छन् र यिनले पर्यावरण सन्तुलनमा ठूलो भूमिका खेल्छन्। यी विषालु सर्पको टोकाइमध्ये पनि सबै सर्पले डस्नासाथ मानिस मारी हाल्दैन। तत्कालै उपचार केन्द्रमा पुग्ने हो भने सहज उपचार हुन सक्छ। हामीमा सबै सर्प विषालु हुन् र यि सबैले डस्छन्, यिनले डसेपछि मानिस अनिवार्य मर्छन् भन्ने भ्रमपूर्ण बुझाइ र त्यो बुझाइलाई अझै पनि चिर्न नसक्नु नै सर्प मारिनुको मुख्य कारण हो भने अर्को महत्त्वपूर्ण कारण सर्पप्रति हाम्रो प्रतिशोधपूर्ण व्यवहार हो।

पछिल्लो समयमा सर्पदंशका घटना सरकारी र गैरसरकारी तथ्यांकको रूपमा आउन थालेका छन्। फरक-फरक स्रोतका तथ्यांकमा केही फरक परेता यो सङ्ख्या सानो भने छैन। ‘सर्पदंश रोकथाम र नियन्त्रणसम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ को सरकारी तथ्यांकलाई आधार मान्ने हो भने पनि विगत १० वर्षमा (वि.सं. २०७३-२०८३ असार मसान्तसम्म) देशभरिमा १६७८ सर्पदंशका घटनामध्ये १४०१ जना घाइते र ३०१ को मृत्यु भएको देखिन्छ, जसमध्ये ठूलो सङ्ख्या महिलाको (४२ प्रतिशत ) र बालबालिकाको सङ्ख्या २२ प्रतिशत छ।

सर्प उद्धारमा अहिले देखिएको सुरक्षा र नैतिक सवाललाई समाधान गर्ने उपाय भनेको उद्धार मात्र होइन, नैतिकतासहितको उद्धार हो, जसले स्वयं उद्धारकर्ता, अन्य मानव र सर्पको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ। सर्पको सुरक्षा, मर्यादित उद्धार, अनुकूल बासस्थानको छनोट, सहज र अनुकूल पुनर्स्थापना यसका महत्त्वपूर्ण भाग हुन्।

यद्यपि, नेपालमा सर्पदंशको घटनाको तथ्यांक सम्बन्धमा सरकारी र गैरसरकारी डेटामा ठूलो अन्तर देखिन्छ। डा. सञ्जीवकुमार शर्मा (सहलेखन) समेतको समुदायस्तरमा गरिएको अध्ययनले यही नै पुष्टि गर्दछ। शर्मा लगायतको टिमले सन् २०१८/१९ मा नेपालको तराईमा गरेको सर्भे-अध्ययनको Lancet Global Health 2022 मा प्रकाशित ‘Snakebite epidemiology in humans and domestic animals across the Terai region in Nepal: a multicluster random survey’ लेखमा प्रकाशित भएको तथ्यांकलाई मात्र आधार मान्दा पनि वर्षमा २६,७४९-३७,६६१ सर्पको टोकाइ र २,३८६-३,२२५ जनाको मृत्यु भएको भन्ने छ। अन्य व्यक्ति वा संस्थाको स्वतन्त्र अध्ययनले पनि शर्मा लगायतको अध्ययनसँग मिल्दोजुल्दो रिपोर्ट देखाएको छ।

तथ्यांकमा यति धेरै फरक आउनुचाहिँ सरकारी तथ्यांकले सर्पदंशको कारणले अस्पतालमा नै मृत्यु भएका र प्रहरी रिपोर्टसमेतलाई आधार मानेको हुन्छ, जबकि सर्पदंशका ८० प्रतिशत भन्दा बढी मानिस अस्पताल पुग्नुअगावै मृत्यु हुन्छ, जसको मुख्य कारण यातायातको अभाव, नजिकै सर्पदंशको उपचार केन्द्रको अभाव, अन्धविश्वास, धामी-झाँक्रीकहाँ जाने प्रवृत्ति, घरेलु उपचार, करेत लगायतका सर्पले राति सुतेको बेला टोक्दा थाहा नपाई नै मृत्यु हुने घटना आदि छन्, जुन प्रायः तथ्यांकमा आउँदैनन्।

सर्पदंशको घटनाको तथ्यांकमा ठूलो अन्तर भएता पनि मूल कुराचाहिँ सर्पदंश एउटा मुख्य समस्या हो र यो संगै जोडिएर आउने सवाल भनेको सर्प उद्धार तथा पुनर्स्थापना हो, जसलाई कानुनले नियमन गर्नुपर्दछ। अहिले कम्तीमा पनि सर्पको सुरक्षित उद्धार र पुनर्स्थापना हुने गरेको छ, मानिसले तत्कालै मार्नुभन्दा पनि उद्धारकर्तालाई बोलाएर सर्पको सुरक्षित उद्धार गर्ने-गराउने भनेको हामी सबैको लागि सकारात्मक कुरा हो।

अबको बाटो : रेस्क्यु होइन, इथिकल रेस्क्यु

सर्प उद्धारमा अहिले देखिएको सुरक्षा र नैतिक सवाललाई समाधान गर्ने उपाय भनेको उद्धार मात्र होइन, नैतिकतासहितको उद्धार हो, जसले स्वयं उद्धारकर्ता, अन्य मानव र सर्पको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ। सर्पको सुरक्षा, मर्यादित उद्धार, अनुकूल बासस्थानको छनोट, सहज र अनुकूल पुनर्स्थापना यसका महत्त्वपूर्ण भाग हुन्।

सर्प उद्धारमा आउने नैतिकतासँग जोडिएको एउटा गम्भीर सवाल भनेको सर्पको उद्धार गरिसकेपछि अध्ययन वा वैज्ञानिक प्रयोजनबाहेक उत्तेजित रूपमा यसको फोटो, भिडियो बनाउने, सामाजिक सञ्जालमा राख्ने वा उद्धारकर्तालाई रबिनहुड (मध्यकालीन इङ्गल्याण्डका लोककथाका नायक) चरित्रको रूपमा देखाउने र भ्युजको लागि मात्रै बनाउन मिल्ने वा नमिल्ने वा यस्ता कन्टेन्टलाई सरकारले नियमन गर्ने कि नगर्ने भन्ने पेचिलो विषय हो। अबका दिनमा तत्कालै यी विषयलाई सम्बोधन गर्दै जानुपर्छ र प्रमाणित तालिमसँगै यी र यस्ता विषयलाई लिखित रूपमा नै प्रतिबद्धता गराउनुपर्छ।

प्रिय उद्धारकर्ता साथी,

तपाईंले गरेको उद्धार कहिलेकाहीँ स्टन्टजस्तो देखिए पनि वा त्यो तपाईंको नियमित कामलाई नै हामीलाई अलिक अस्वाभाविक लागे पनि वा हामीमध्ये केहीले भ्युजको लोभमा नै यस्तो काम गरेता पनि मूल कुराचाहिँ यसको उद्धार तथा पुनर्स्थापनाको विज्ञ तपाईं मात्रै हो, हामी होइनौं; हामी कानुनी र प्राविधिक सहयोगी मात्र हौं।

तपाईंहरूले जोखिम मोल्दै इमानदारीपूर्वक गरेको कामलाई हामीले स्टन्टवाज मात्रै हो भनेर पन्छिन मिल्दैन, न धन्यवाद भनेर मात्र पुग्छ। यो सर्प उद्धार मात्र होइन, वन्यजन्तु संरक्षण र अधिकारको दृष्टिकोण, पर्यावरणीय चासो र सन्तुलनको हिसाबले पनि ठूलो महत्व राख्ने विषय हो। यति हुँदाहुँदै पनि यो असाध्य जोखिमयुक्त काम हो।

जोखिमको मामलामा एउटा भनाइ छ- जोखिममा ‘यति प्रतिशत जोखिम’ र ‘सुरक्षित’ भन्ने हुँदैन। कहिलेकाहीँ रौं बराबरको जोखिम पनि शतप्रतिशत जोखिममा बदलिन सक्छ र ठूलो नोक्सानी हुन पुग्छ।

तसर्थ यो विषयलाई गम्भीर सुरक्षा सम्वेदनशीलतासँग जोडेर तत्काल आफ्नो कार्यविधि बनाउन पहल, लबिङ गर्नुस्, यसको लागि आफ्नो सुरक्षा र नैतिक प्रोटोकल आफैं बनाउनुस्- के गर्न हुने, के नहुने, कसले उद्धार गर्न सक्ने, कसले नमिल्ने, फोटो, भिडियो राख्ने वा नराख्ने, अनुगमन कसले गर्ने, कसरी गर्ने, प्रमाणीकरण, सुरक्षा, बीमा वा अन्य आवश्यक प्रावधान राखेर आफैं तय गर्नुस्।

हामीसँग कम्तीमा एउटा कार्ययोजना आएको छ, यो हाम्रो लागि पर्याप्त छैन, तर यसलाई आधार मानेर हामीले थप योजना र विधि बनाउने बाटो खोलेको छ। यो विषयलाई कार्यान्वयनयोग्य बनाउने मौकालाई अत्युत्तम सदुपयोग गरौं, सर्प उद्धारलाई नैतिकतासहितको सम्मानित, मर्यादित, सुरक्षित बनाऔं। यसको लागि हामी सरकारी कर्मचारी, जनप्रतिनिधि र साझेदार संस्था सदैव तपाईंको सहयोगी भूमिकामा रहनेछौं। 

लेखक
विष्णुप्रसाद आचार्य

आचार्य डिभिजन वन कार्यालय, चितवनका डिभिजनल वन अधिकृत हुन्। उनी सामाजिक, साहित्यिक र वातावरणीय सवालमा समेत सक्रिय छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?