News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले कोप–३१ मा जानेहरूले सरकारी खर्चमा गएका हुन् कि होइनन् सार्वजनिक रूपमा घोषणा गर्नुपर्ने बताएका छन्।
- कार्कीले कोपमा व्यक्तिगत इच्छालाई सरकारी खर्चमा दपेट्न नपाइने भन्दै सामाजिक सञ्जालमा लेखेका छन्।
- कोप–३१ टर्कीको अन्ताल्यामा कात्तिक २३ देखि मंसिर ४ गतेसम्म चल्नेछ।
२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जानेहरूले सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नुपर्ने बताएका छन् ।
‘कोपमा जानेहरू दर्जनौं हुन्छन् । साह्रै धेरै व्यक्तिगत खर्चमा, कुनै संस्थाको प्रायोजनमा कोपमा पुग्छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनका अनुसार वातावरणका विद्यार्थीहरूले कोपकाबारेमा धेरै पढ्छन् र उनीहरूलाई एकपल्ट गएर हेरौँ भन्ने हुन्छ ।
‘देख्न पाइने र सिक्न पाइने कुरा असाध्यै धेरै हुन्छ कोपमा । तर त्यसो भन्दैमा व्यक्तिगत इच्छालाई सरकारी खर्चमा दपेट्न कसैले पनि पाइँदैन’, कार्कीले भनेका छन्, ‘अनि अहिलेको समयमा निर्णय वा छलफलको प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने हो भने त नजादैमा देख्न र बुझ्न नपाइने होइन ।’
यहाँनेर उनले कोपमा जानेहरूले सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नैपर्ने बताएका हुन् ।
‘सँधै झै यसपाली पनि कोपमा जानेहरुको लर्को छ । वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि धेरै साथीहरू कोपका लागि टर्किए पुगेको, पुग्दै गरेको देख्छु’ उनले लेखेका छन्, ‘जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिकरूपमा घोषणा गरुन् । गर्नैपर्छ ।’
यही कात्तिक २३ देखि टर्कीको अन्ताल्यामा आयोजना भएको सम्मेलन मंसिर ४ गतेसम्म चल्नेछ ।
कोप ३१ मा जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन, जलवायु वित्त, हानि तथा क्षति र स्वच्छ ऊर्जा संक्रमण लगायतका विश्वव्यापी मुद्दामा छलफल भइरहेको छ ।
प्रतिक्रिया 4