+
+
Shares

पाँचखालबाट पक्राउ परेका ३६ चिनियाँ अध्यागमन विभाग पठाइए

पनौतीबाट पनि ४० विदेशी नियन्त्रणमा

नियन्त्रण लिईएका मध्ये ३१ जना पुरुष र ५ जना महिला छन् । उनीहरूबाट ४९ थान ल्यापटप र १५५ थान मोबाइल फोन समेत बरामद गरिएको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८३ मंसिर २ गते १८:०५

२ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट पक्राउ परेका ३६ जना चिनियाँ नागरिकलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अध्यागमन विभागमा पठाइएको छ ।

पक्राउ परेका सबै ३६ जनालाई आवश्यक अनुसन्धान तथा थप कानुनी प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाउन लागिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रवीन विष्टले जानकारी दिए ।

‘छापा मार्ने क्रममा २६ जनाको पासपोर्ट फेला परेको छ । उनीहरू सबै भिजिट भिसामा नेपाल आएको देखिएकाले अध्यागमन विभागमा बुझाउन लागेका हौं,’ उनले भने ।

नियन्त्रण लिईएका मध्ये ३१ जना पुरुष र ५ जना महिला छन् । उनीहरूबाट ४९ थान ल्यापटप र १५५ थान मोबाइल फोन समेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार उनीहरू करिब एक महिनादेखि रिसोर्ट भाडामा लिएर बस्दै आएका थिए । प्रारम्भिक जाँचका क्रममा मोबाइल र ल्यापटपका क्यामेरामा टेप टाँसिएको तथा सर्भरजस्तो देखिने छुट्टै कोठा बनाइएको पाइएको छ ।

प्रारम्भिक रूपमा अहिले भन्न सक्ने केही नभेटिएपनि ती संरचना र उपकरणको प्रयोगबारे अनुसन्धान पश्चात् मात्र थप कुरा भन्न सकीने विष्टले जानकारी दिए । ‘उपकरणहरूको प्राविधिक परीक्षणपछि मात्रै उनीहरू कुन गतिविधिमा संलग्न थिए भन्ने विषयमा विस्तृत विवरण खुल्नेछ,’ डीएसपी विष्टले भने ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत परिचालन गरिएको छ । बरामद गरिएका ४९ थान ल्यापटप र १५५ थान मोबाइल फोन फरेन्सिक परीक्षणका लागि पठाउने तयारी भइरहेको डीएसपी विष्टले जानकारी दिए ।

पनौतीको बल्थली माउन्टेन रिसोर्टबाट ४० विदेशी नियन्त्रणमा

यस्तै, पनौती नगरपालिका–११ बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३५ जापानी र ५ चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी राकेश थापाको नेतृत्वमा बुधबार बिहान करिब ११ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूले रिसोर्ट पूरै भाडामा लिएर बसेको प्रहरीले जनाएको छ ।

रिसोर्टमा बसेका विदेशी नागरिकहरूलाई नियन्त्रणमा लिनुको कारण भने खुलाइएको छैन । उनीहरूको गतिविधिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूको गतिविधि र उद्देश्यबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

रिसोर्टभित्र छुट्टाछुट्टै क्याबिन र प्रहरी स्टेसन

बल्थली माउन्टेन रिसोर्टभित्र छुट्टाछुट्टै क्याबिन, फोटो स्टुडियो र प्रहरी स्टेसनजस्तै देखिने दुईवटा संरचनासमेत बनाइएको पाइएको छ ।

प्रहरीका अनुसार उनीहरूले कार्यालयभित्रै छुट्टै फोटो स्टुडियो स्थापना गरेका थिए । उनीहरूले प्रहरी स्टेसनजस्तै देखिने दुईवटा संरचनासमेत बनाएको पाइएको छ ।

ती संरचनाको प्रयोग प्रहरी कार्यालयको झल्को दिने गरी गरिएको हुनसक्ने र प्रहरीकै परिचय दिएर विभिन्न व्यक्तिसँग कुराकानी गर्ने गरेको हुन सक्ने आशंका गरिएको छ ।

कार्यालयभित्र विभिन्न व्यक्तिका लागि छुट्टाछुट्टै क्याबिनसमेत बनाइएको थियो । प्रत्येक व्यक्ति आ–आफ्नो क्याबिनमा बसेर काम गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्टले जानकारी दिए ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?