News Summary
Generated by OK AI. Editorially reviewed.- ज्याकी श्रफ चर्चित भएपछि मुम्बईको चौलका छिमेकीहरूले उनलाई छुट्टै ट्वाइलेट उपहार दिएर ताल्चा लगाएर प्रयोग गर्न दिए।
- दीपिका पादुकोण र आलिया भट्ट बर्लिनमा कोल्डप्ले कन्सर्टका क्रममा महिलाको लाइन लामो भएपछि पुरुषको ट्वाइलेटमा गएका थिए।
- आयुष्मान खुराना चण्डीगढको मलमा झुक्किएर महिलाको ट्वाइलेटमा पुगेपछि तुरुन्तै बाहिर निस्किएका थिए।
बलिउड सेलिब्रेटीको जीवनमा फिल्म, प्रेम र विवादका अनेक किस्सा सुनिन्छन् । तर, उनीहरूको ट्वाइलेट र बाथरुमसँग जोडिएका केही घटना पनि उत्तिकै रोचक छन् । कसैले गलत ट्वाइलेटमा प्रवेश गरे, कसैले अरूको बाथरुममा नुहाए त कसैले अरूको घरको ट्वाइलेट प्रयोग गर्नसमेत अस्वीकार गरे । यस्ता आठ रोचक किस्सा :
१. ज्याकी श्रफलाई उपहारमा दिइयो ट्वाइलेट
बलिउड अभिनेता ज्याकी श्रफले फिल्ममा सफलता पाएपछि आफ्नै छिमेकीबाट अनौठो उपहार पाए । उनी मुम्बईको एउटा चौल (सामूहिक आवास) मा बस्थे । त्यहाँ ३० जनाका लागि जम्मा तीनवटा ट्वाइलेट थिए । ज्याकी चर्चित भएपछि उनलाई भेट्न निर्माता र निर्देशकसमेत घर पुग्न थाले ।
ट्वाइलेट प्रयोग गर्न उनीहरू पनि लाइनमा बस्नुपर्ने भयो । यो देखेर छिमेकीहरूले उनलाई छुट्टै ट्वाइलेट उपहार दिने निर्णय गरे। ज्याकीले सुरुमा अस्वीकार गरे पनि छिमेकीहरूको आग्रहपछि त्यो ट्वाइलेटमा ताल्चा लगाएर उनलाई प्रयोग गर्न दिए ।
२. दीपिका र आलिया पुरुषको ट्वाइलेटमा पुगेपछि
अभिनेत्री दीपिका पादुकोण र आलिया भट्ट एकपटक जर्मनीको बर्लिनमा आयोजित कोल्डप्ले कन्सर्ट हेर्न पुगेका थिए । त्यहाँ महिलाको ट्वाइलेटमा लामो लाइन थियो, तर उनीहरूलाई ट्वाइलेट जान हतार भइसकेको थियो । अन्ततः दुवैले पुरुषका लागि छुट्याइएको ट्वाइलेटमा प्रवेश गर्ने निर्णय गरे ।
दीपिकाले एक अन्तर्वार्तामा यो घटना सुनाउँदै आफू र आलिया पुरुषको ट्वाइलेटमा गएको बताएकी थिइन् । उनले ट्वाइलेटको सरसफाइभन्दा आफ्नो आवश्यकता ठूलो भएको रमाइलो पारामा बताएकी थिइन् ।
३. आयुष्मान खुरानाले गल्तीले महिलाको ट्वाइलेटमा प्रवेश गरे
अभिनेता आयुष्मान खुराना एकपटक चण्डीगढको एउटा मलमा ट्वाइलेट खोज्दै थिए । त्यहाँ भुइँतलामा पुरुषको ट्वाइलेट दायाँ र महिलाको बायाँतिर थियो । तर, पहिलो तलामा यसको ठीक उल्टो व्यवस्था थियो। उनी झुक्किएर महिलाको ट्वाइलेटमा पुगे। भित्र सबै कुरा गुलाबी देखेपछि र महिलाको आवाज सुनेपछि मात्र आफू गलत ठाउँमा आएको थाहा पाए । त्यहाँ एउटी महिला फोनमा कुरा गरिरहेकी थिइन् ।
आयुष्मान तुरुन्तै बाहिर निस्किएर पुरुषको ट्वाइलेटतिर दौडिए। यो घटना उनले एक अन्तर्वार्तामा सुनाएका थिए ।
४. राजकुमारले राज कपुरको घरको ट्वाइलेट प्रयोग गर्न मानेनन्
बलिउडका चर्चित अभिनेता राजकुमार आफ्नो अलग स्वभावका लागि चिनिन्थे । एकपटक उनी राज कपुरको घरमा आयोजित होली पार्टीमा पुगेका थिए ।
त्यहाँ उनलाई पिसाब फेर्नुपर्ने भयो, तर उनले घरभित्रको ट्वाइलेट प्रयोग गर्न मानेनन्। बरु बाहिर जान चाहे। अभिनेता रणधीर कपुरले ‘द कपिल शर्मा शो’ मा यो किस्सा सुनाएका थिए। उनका अनुसार राजकुमारले राज कपुरलाई पनि ‘राजा’ र आफूलाई पनि ‘राजा’ भन्दै राज कपुरको घरमा पिसाब फेर्नु उनको अपमान हुने बताएका थिए। त्यसैले उनी बाहिरै जान चाहन्थे।
५. सैफ अली खान नुहाइरहेको बाथटबमा पुगे सईद जाफरी
यो बलिउडका सबैभन्दा रमाइला बाथरुम किस्सामध्ये एक हो । फिल्म ‘ये दिल्लगी’ को छायांकनका क्रममा अभिनेता सैफ अली खान र दिवंगत अभिनेता सईद जाफरीसँग जोडिएको यो घटना भएको थियो ।
अभिनेता अक्षय कुमारले ‘टु मच विथ काजोल एन्ड ट्विंकल’ कार्यक्रममा यो प्रसंग सुनाएका थिए । उनका अनुसार सैफ आफ्नो बाथटबमा नुहाइरहेका थिए । त्यही बेला नजिकैको कोठामा बसेका सईद जाफरी झुक्किएर सैफकै बाथरुममा पुगे। उनले पर्दा खोल्दा सैफ नुहाइरहेको देखे । तर, आफ्नै बाथरुममा आएको ठानेर सईद पनि नुहाउन भित्रै पस्न खोजे। यो कुरा सुनेपछि सैफ आफैं अचम्ममा परेका थिए। अक्षयले रमाइलो पारामा दुवै एउटै बाथटबमा पुगेको भन्दै थप हँसाएका थिए ।
६. करिनाको ट्वाइलेटमा थियो सलमानको पोस्टर
बलिउड अभिनेता सलमान खानले ‘द ग्रेट इन्डियन कपिल शो’ मा एउटा रमाइलो प्रसंग सुनाएका थिए । उनका अनुसार अभिनेत्री करिना कपुर सानै हुँदा उनको घरको ट्वाइलेटमा सलमानको पोस्टर राखिएको थियो । करिना करिब ८–९ वर्षकी हुँदा सलमानकी ठूली फ्यान थिइन् । त्यसैले उनको ट्वाइलेटमा सलमानको पोस्टर राखिएको थियो ।
तर, करिना १५–१६ वर्षकी भएपछि त्यो पोस्टर हटाएर अभिनेता राहुल रोयको पोस्टर राखियो। यो कुरा थाहा पाएर सलमान आफैं पनि हाँसेका थिए ।
७. जान्हवी कपुरले ट्वाइलेट फ्लस आफैं गर्छिन् !
अभिनेत्री जान्हवी कपुर आफ्नो फिल्म ‘मिली’ को प्रचारका लागि बुबा बोनी कपुरसँग ‘द कपिल शर्मा शो’ पुगेकी थिइन् । त्यहाँ बोनीले छोरीका केही व्यक्तिगत बानीबारे रमाइलो खुलासा गरे ।
उनका अनुसार जान्हवी आफ्नो कोठामा लुगा जथाभावी छोड्छिन् र टुथपेस्ट प्रयोग गरेपछि त्यसको बिर्कोसमेत लगाउँदिनन् । बुबा आफैंले गएर बिर्को लगाइदिनुपर्ने अवस्था छ । तर, बोनीले अर्को कुरा भन्दै सबैलाई हँसाए । उनले भने, ‘धन्य छ, ट्वाइलेटको फ्लशचाहिँ आफैं गर्छे ।’ बुबाको यस्तो खुलासापछि जान्हवी लाजले रातोपिरो भइन् र ‘पापा !’ भन्दै बुबालाई रोक्ने प्रयास गरिन् ।
८. शाहरुख खान बाथरुममा चार घण्टा बिताउँछन् !
बलिउडका बादशाह शाहरुख खान बाथरुममा निकै लामो समय बिताउँछन् । यो कुरा फिल्म निर्माता तथा निर्देशक करण जोहरले ‘द कपिल शर्मा शो’ मा खुलासा गरेका थिए ।
करणका अनुसार शाहरुख खान एकपटक बाथरुम छिरेपछि करिब चार घण्टासम्म बाहिर निस्कँदैनन् । उनी बाथरुम जान्छु भनेर भित्र पसेपछि लामो समयसम्म नफर्किने भएकाले उनकी पत्नी गौरी खान र छोराछोरीसमेत उनलाई रोक्ने गर्छन् । शाहरुखको यो बानीबारे करणले सुनाउँदा ‘द कपिल शर्मा शो’ मा निकै हाँसो चलेको थियो ।
प्रतिक्रिया 4