News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले भारतीय विदेश सचिव विक्रम मिस्रीको हालैको नेपाल भ्रमणका क्रममा नेपाल–भारत खेलकुद सहकार्य विस्तार गर्ने प्रस्ताव अघि सारेका छन् ।
- लेखमा नेपाली क्रिकेटलाई भारतका आधुनिक एकेडेमी, प्रशिक्षण, अभ्यास खेल र घरेलु प्रतियोगितामा पहुँच दिलाउन औपचारिक सहकार्य आवश्यक रहेको उल्लेख छ ।
- पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि भारतबाट आर्थिक, प्राविधिक र डिजाइन सहयोग माग्न सकिने लेखमा भनिएको छ ।
नेपाल र भारतबीचको सम्बन्ध परम्परागत रूपमा राजनीति, अर्थतन्त्र, व्यापार र संस्कृतिमा केन्द्रित रहँदै आएको छ । तर, दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्ने अर्को प्रभावकारी माध्यम खेलकुद पनि हुन सक्छ । विशेषगरी क्रिकेटमा भारतको अनुभव, लगानी, पूर्वाधार र अन्तर्राष्ट्रिय प्रभावबाट नेपालले ठूलो लाभ लिन सक्छ ।
नेपाली क्रिकेटले पछिल्लो एक दशकमा उल्लेखनीय प्रगति गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीको प्रदर्शन, विश्वकपमा सहभागिता, घरेलु क्रिकेटको विस्तार र नेपाल प्रिमियर लिग (एनपीएल) को सुरुवातले नेपाललाई विश्व क्रिकेटमा नयाँ पहिचान दिएको छ । तर, यो प्रगतिलाई दिगो बनाउन आवश्यक पूर्वाधार, नियमित प्रतिस्पर्धा, उच्चस्तरीय प्रशिक्षण र आर्थिक स्रोतको अझै अभाव छ ।
यही सम्भावनालाई ध्यानमा राखेर हुनुपर्छ, भारतीय विदेश सचिव विक्रम मिस्रीको हालैको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीच खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने प्रस्ताव अघि सारे । भारतसँग विश्वस्तरीय क्रिकेट एकेडेमी, दक्ष प्रशिक्षक, खेलविज्ञान केन्द्र, अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव र विशाल क्रिकेट पूर्वाधार छ । यी स्रोतको उपयोग गर्न सके नेपाली क्रिकेटको विकासले नयाँ गति लिन सक्छ ।
भारतले यसअघि पनि नेपाली क्रिकेटलाई विभिन्न रूपमा सहयोग गर्दै आएको छ । तर, अब त्यो सहयोगलाई संस्थागत र दीर्घकालीन बनाउनुपर्ने बेला आएको छ ।
सन् १९९० को दशकदेखि नै भारतीय पक्षले नेपाली क्रिकेटको पूर्वाधार विकासमा सहयोग गरेको इतिहास छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विकासमा पनि भारतीय पक्षको भूमिका थियो । सन् १९९० को दशकमा नेपालमा मैदान खोज्ने क्रममा भारतीय टेलिभिजन संस्था जी टीभीको चासोपछि कीर्तिपुरको मैदानलाई क्रिकेट मैदानका रूपमा विकास गर्ने प्रक्रिया अघि बढेको थियो । सो स्थान त्यसअघि फुटबल मैदानका रूपमा प्रयोग हुँदै आएको थियो ।
त्यस्तै, सन् २०१३ मा भारतले नेपाल क्रिकेट संघलाई एउटा बस उपहार दिएको थियो । सन् २०२३ अक्टोबरमा भारतीय राजदूतावासले बीपी कोइराला भारत–नेपाल फाउन्डेसन र भारत सरकारको सार्वजनिक क्षेत्रको उपक्रम एसजेभीएनको सहयोगमा नेपाली राष्ट्रिय टोलीलाई २० वटा व्यावसायिक क्रिकेट ब्याटसहित खेल सामग्री हस्तान्तरण गरेको थियो । सन् २०२३ मै नेपाली डेफ क्रिकेट टोलीलाई कोलकातामा आयोजित त्रिकोणात्मक प्रतियोगितामा सहभागी हुन पनि सहयोग गरिएको थियो ।
पछिल्ला वर्षमा भारतको सहयोग खेल सामग्री र पूर्वाधारका साथै नेपाली खेलाडीलाई भारतमा प्रशिक्षण र अभ्यास खेलको अवसर उपलब्ध गराउने क्रम पनि बढेको छ ।
सन् २०२४ अगस्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको बेंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमी (एनसीए) मा दुई साताको प्रशिक्षण लिएको थियो । विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि आयोजित उक्त प्रशिक्षणमा नेपाली खेलाडीले स्तरीय क्रिकेट पिच, नेट अभ्यास, फिटनेस र आधुनिक प्रशिक्षण सुविधाको उपयोग गर्ने अवसर पाएका थिए । सन् २०२५ मा पनि नेपाली राष्ट्रिय टोलीले यही एकेडेमीमा प्रशिक्षण लिएको थियो ।
त्यस्तै, सन् २०२५ मा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले दिल्लीमा प्रशिक्षण र अभ्यास खेल खेल्ने अवसर पाएको थियो । दिल्लीका महिला टोली र आरपी क्रिकेट एकेडेमीसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गरेको थियो ।
युवा खेलाडीको विकासमा पनि भारतले चासो देखाएको छ । सन् २०२५ जुलाई १५ देखि अगस्ट १४ सम्म तीन नेपाली युवा खेलाडी नरेन भट्ट, साहिल पटेल र पूजा महतोले भारतको भोपालस्थित एलबी शास्त्री क्रिकेट शालामा एक महिने व्यावसायिक प्रशिक्षण लिएका थिए । भारतीय राजदूतावासले सुरु गरेको ‘एम्बासडर्स क्रिकेट फेलोसिप फर नेपाली युथ’ अन्तर्गत उनीहरूले यो अवसर पाएका थिए । यसका अतिरिक्त, सन् २०२५ मार्चमा भारतको दिल्लीको यू–१९ टोलीले नेपाल आएर नेपाली युवा टोलीसँग अभ्यास शृंखला खेलेको थियो ।
यी उदाहरणले भारतले नेपाली क्रिकेटलाई खेल सामग्री र आर्थिक सहयोगमा मात्र सीमित नराखी प्रशिक्षण, अभ्यास खेल र खेलाडीको क्षमता अभिवृद्धिमा समेत सहयोग गर्दै आएको देखाउँछन् ।
नेपाल–भारत क्रिकेट सम्बन्धको चर्चा गर्दा नेपाली क्रिकेटर सन्दीप लामिछानेको इन्डियन प्रिमियर लिग (आईपीएल) सहभागिता बिर्सन सकिँदैन । सन् २०१८ मा नेपाली सन्दीप लामिछाने आईपीएलमा छनोट भए । सन्दीपको आईपीएल सहभागितालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत विशेष महत्व दिएका थिए । सन् २०१८ मे १२ मा नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौंमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै मोदीले भनेका थिए, ‘आज हामी क्रिकेटमार्फत जोडिएका छौँ, किनभने एक नेपाली युवा इन्डियन प्रिमियर लिगको हिस्सा बनेका छन् ।’
भारतसँग सहकार्य विस्तारका सम्भावना
भारतको सहयोगले नेपाली क्रिकेटका तत्कालीन आवश्यकता पूरा गर्न मात्र होइन, दीर्घकालीन रूपमा प्रतिस्पर्धी क्रिकेट राष्ट्रका रूपमा विकास गर्न पनि मद्दत गर्न सक्छ । यसका लागि केही क्षेत्रमा सहकार्य विस्तार गर्न सकिन्छ ।
पहिलो, राष्ट्रिय टोलीका खेलाडीलाई नियमित रूपमा भारतका आधुनिक क्रिकेट एकेडेमीमा प्रशिक्षणको व्यवस्था गर्न सकिन्छ । ब्याटिङ, बलिङ, फिल्डिङ, फिटनेस, खेल मनोविज्ञान, चोटपटक व्यवस्थापन र खेलविज्ञानमा भारतीय विज्ञहरूको सेवा लिन सकिन्छ । राष्ट्रिय टोलीका प्रशिक्षक तथा सहयोगी कर्मचारीलाई समेत भारतीय क्रिकेट एकेडेमीमा तालिम दिने व्यवस्था गर्न सकिन्छ ।
दोस्रो, युवा खेलाडीको विकासका लागि यू–१६, यू–१९ र महिला क्रिकेटका प्रतिभाशाली खेलाडीलाई छात्रवृत्ति तथा फेलोसिप कार्यक्रममार्फत भारतका प्रतिष्ठित क्रिकेट एकेडेमीमा प्रशिक्षणको अवसर दिन सकिन्छ । प्रत्येक वर्ष निश्चित संख्यामा खेलाडी छनोट गरेर छ महिनादेखि एक वर्षसम्म प्रशिक्षण दिने व्यवस्था गर्न सके राष्ट्रिय टोलीका लागि प्रतिभाशाली खेलाडी उत्पादन गर्न मद्दत पुग्छ ।
तेस्रो, नेपाली खेलाडीलाई भारतीय घरेलु क्रिकेटमा पहुँच दिलाउन सकिन्छ । भारतका विभिन्न राज्यका क्रिकेट टोली, उमेर समूहका प्रतियोगिता र आमन्त्रित प्रतियोगितामा नेपाली खेलाडीलाई सहभागी गराउने व्यवस्था गर्न सकिन्छ । रणजी ट्रफी, विजय हजारे ट्रफीलगायतका प्रतियोगिताको संरचना र प्रतिस्पर्धाबाट नेपाली खेलाडी तथा प्रशिक्षकले धेरै कुरा सिक्न सक्छन् । त्यस्तै, आईपीएलका फ्रेन्चाइज टोलीसँग नेपाली खेलाडीका लागि ट्रायल, नेट अभ्यास र प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।
चौथो, भारतका विभिन्न राज्यका टोलीसँग नेपालले नियमित द्विपक्षीय शृङ्खला खेल्ने व्यवस्था गर्न सकिन्छ । भारतको ए टोली, यू–१९ टोली, महिला टोली र घरेलु क्रिकेटका उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्ने अवसरले नेपाली खेलाडीको क्षमता र अनुभव बढाउन सक्छ ।

पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान
नेपालको क्रिकेट पूर्वाधार विकासको चर्चा गर्दा पोखरालाई विशेष रूपमा लिनुपर्छ । प्राकृतिक सौन्दर्य, पर्यटन र अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणका कारण पोखरा क्रिकेट पूर्वाधार विकासका लागि पनि सम्भावना भएको सहर हो ।
सन् २०१९ मा गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिका–३३ स्थित भरतपोखरीको पशुपतिघाट क्षेत्रमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने योजना अघि सारेको थियो । त्यसका लागि करिब २०० रोपनी जग्गाको सम्भाव्यता अध्ययनसमेत गरिएको थियो ।
यसअघि सन् २०१४ मा नेपाल र भारतका विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि जारी संयुक्त वक्तव्यमा पनि पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको विषयमा छलफल भएको उल्लेख थियो । यसले पोखराको क्रिकेट मैदान निर्माणमा भारतीय सहयोगको सम्भावना कूटनीतिक तहमा समेत उठिसकेको देखाउँछ । प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणका क्रममा यो विषयलाई पनि आफ्नो एजेन्डा बनाउन सक्छन् । भारतले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि आर्थिक अनुदान, प्राविधिक सहयोग, डिजाइन, निर्माण व्यवस्थापन र आवश्यक खेल सामग्री उपलब्ध गराउन सक्छ ।
पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण भए त्यसले नेपाली क्रिकेटलाई मात्र नभई पर्यटनलाई पनि फाइदा पुर्याउन सक्छ । भारत, बंगलादेश, श्रीलङ्का र अन्य देशका टोलीलाई पोखरामा आमन्त्रण गरेर प्रतियोगिता आयोजना गर्न सकिन्छ ।
अफगानिस्तानको उदाहरण
भारतले अफगानिस्तानको क्रिकेट विकासमा गरेको सहयोग पनि नेपालका लागि उदाहरणीय हुन सक्छ । अफगानिस्तानमा राजनीतिक अस्थिरता र सुरक्षासम्बन्धी चुनौतीका कारण अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्न कठिन थियो । यस्तो अवस्थामा भारतले आफ्नो भूमिमा अफगानिस्तानलाई घरेलु खेल आयोजना गर्ने सुविधा उपलब्ध गराएको थियो ।
सन् २०१५ मा भारतीय क्रिकेट नियन्त्रण बोर्ड, अफगानिस्तान क्रिकेट बोर्ड र ग्रेटर नोएडा औद्योगिक विकास प्राधिकरणबीच भएको सहमतिअनुसार ग्रेटर नोएडास्थित शहीद विजय सिंह पथिक स्पोर्ट्स कम्प्लेक्सलाई अफगानिस्तानको घरेलु मैदानका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको थियो । पछि देहरादुन र लखनउका मैदान पनि अफगानिस्तानले घरेलु खेलका लागि प्रयोग गर्यो ।
अफगानिस्तानले सन् २०१७ मा टेस्ट राष्ट्रको मान्यता पाएपछि सन् २०१८ जुनमा भारतको बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा आफ्नो पहिलो टेस्ट खेल्यो । भारतले आयोजना गरेको उक्त ऐतिहासिक खेलले अफगानिस्तानलाई अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा प्रवेश गर्ने अवसर दियो ।
भारतले अफगानिस्तानलाई मैदान उपलब्ध गराएर गरेको सहयोग नेपालका लागि पनि उपयोगी उदाहरण बन्न सक्छ । नेपालसँग भारतको भौगोलिक निकटता छ । नेपाली खेलाडीलाई भारतमा प्रशिक्षण दिन, भारतीय घरेलु टोलीसँग नियमित खेलाउन र भारतीय क्रिकेटका विज्ञसँग काम गर्ने अवसर प्रदान गर्न तुलनात्मक रूपमा सहज छ । त्यस्तै, नेपालमा पर्याप्त अन्तर्राष्ट्रिय पूर्वाधार निर्माण नहुँदासम्म भारतीय मैदानमा अभ्यास र प्रतियोगिता आयोजना गर्ने सहकार्य पनि विस्तार गर्न सकिन्छ ।
नेपाली क्रिकेटको व्यावसायिक विकासमा अर्को महत्वपूर्ण उपलब्धि नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्राप्त गरेको मान्यता हो । यसले नेपालमा आयोजना हुने घरेलु प्रतियोगिताको अन्तर्राष्ट्रिय विश्वसनीयता बढाउनुका साथै विदेशी खेलाडी, प्रशिक्षक, प्रायोजक र फ्रेन्चाइज कम्पनीको आकर्षण बढाउन सक्छ ।
भारतीय क्रिकेट व्यवस्थापन विज्ञ, फ्रेन्चाइज कम्पनी र प्रसारण क्षेत्रका संस्थासँग सहकार्य गरेर एनपीएललाई अझ व्यावसायिक बनाउन सकिन्छ । भारतीय घरेलु क्रिकेटका उत्कृष्ट खेलाडीलाई एनपीएलमा सहभागी गराउने र नेपाली खेलाडीलाई भारतीय फ्रेन्चाइज क्रिकेटमा अवसर दिलाउने वातावरण बनाउन सके एनपीएललाई दक्षिण एसियाकै महत्वपूर्ण व्यावसायिक क्रिकेट प्रतियोगिताका रूपमा विकास गर्न सकिन्छ ।
क्रिकेट कूटनीतिलाई ठोस उपलब्धिमा बदल्ने अवसर
नेपाल र भारतबीच क्रिकेट सहकार्यका सम्भावना धेरै छन् । तर, त्यसका लागि नेपाल सरकारले स्पष्ट योजना र प्राथमिकता निर्धारण गर्नुपर्छ ।
प्रधानमन्त्री बालेन शाहको भ्रमणका नेपालले भारतसँग मुख्यत: चारवटा विषयमा औपचारिक प्रस्ताव राख्न सक्छ । राष्ट्रिय टोली, महिला टोली र युवा खेलाडीलाई भारतका आधुनिक क्रिकेट एकेडेमीमा नियमित प्रशिक्षणको अवसर उपलब्ध गराउने, भारतीय घरेलु क्रिकेटका टोलीसँग नेपाली खेलाडीलाई प्रतिस्पर्धा गर्ने वातावरण बनाउने, पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग माग्ने र नेपाल प्रिमियर लिगलाई व्यावसायिक रूपमा विकास गर्न भारतीय क्रिकेट व्यवस्थापन तथा प्रसारण क्षेत्रसँग सहकार्य गर्ने ।
नेपाल र भारतबीचको सम्बन्धमा क्रिकेटले नयाँ आयाम थप्न सक्छ । भारत विश्व क्रिकेटको आर्थिक, प्राविधिक र संस्थागत शक्तिकेन्द्र हो भने नेपाल क्रिकेटमा तीव्र गतिमा अघि बढिरहेको उदीयमान राष्ट्र हो । नेपालले भारतसँग खेलकुद सहकार्यलाई केही खेल सामग्री, खेलाडीको प्रशिक्षण वा मैत्रीपूर्ण खेलमा मात्र सीमित राख्नु हुँदैन । यसलाई दीर्घकालीन क्रिकेट विकासको अवसर बनाउनुपर्छ ।
भारतसँग क्रिकेटमा सहयोग माग्दैमा नेपाल भारतमाथि निर्भर हुने होइन । आफ्नो राष्ट्रिय खेलकुद क्षमताको विकासका लागि छिमेकीको ज्ञान, प्रविधि, पूर्वाधार र अनुभव उपयोग गर्नु पक्कै पनि सकारात्मक कुरा हो । प्रधानमन्त्री बालेन शाहको भ्रमणले त्यो सम्भावनालाई संस्थागत सहकार्यमा बदल्ने अवसर दिएको छ ।
प्रतिक्रिया 4