+
+
Shares

तीन महिनामा निजी क्षेत्र तर्फको कर्जा पौने २ खर्ब बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा असोजसम्म ६० खर्ब ४१ अर्ब २५ करोड पुगेको छ, जुन असार मसान्तभन्दा ३.१ प्रतिशतले बढेको छ।
  • वार्षिक विन्दुगत आधारमा २०८३ असोज मसान्तमा निजी क्षेत्रमा प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ।
  • समीक्षा अवधिमा कर्जाको वृद्धि खनिज, यातायात उपकरण उत्पादन, धातुजन्य उत्पादन, सञ्चार, सेवा र थोक तथा खुद्रा व्यापार क्षेत्रमा देखिएको छ।

३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको मागमा सुधार आउन थालेको छ । यसले आर्थिक गतिविधिमा पनि सुधार आउने संकेत देखिएको छ ।

असोजसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६० खर्ब ४१ अर्ब २५ करोड पुगेको छ, जुन असार मसान्तसम्मको तुलनामा ३.१ प्रतिशत अर्थात् १ खर्ब ८४ अर्ब १९ करोडले बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो कर्जा १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोडले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ । २०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । गत आवको सोही महिनामा यस्तो अंश क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा ३.२ प्रतिशत र विकास बैंकहरूको ३.१ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको १.२ प्रतिशतले घटेको छ ।

२०८३ असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६२.७ प्रतिशत रहेको छ । २०८२ असोज मसान्तसम्म यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १५ प्रतिशत र ६४.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये खनिज क्षेत्रतर्फको कर्जा १७.८ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा १२.४ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा १०.७ प्रतिशत बढेको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशत, यातायात, निर्माण क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये विपन्न वर्ग कर्जा १५.१ प्रतिशत, माग तथा अन्य चालु पूँजी कर्जा ५.२ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.५ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा २.९ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा २.९ प्रतिशत, आवधिक कर्जा २.६ प्रतिशत, अधिविकर्ष कर्जा १.५ प्रतिशत र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढेको छ भने क्यास क्रेडिट कर्जा १.८ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?