+
+
Shares

चुनावको लाइन लिएर फर्किए एमाले कार्यकर्ता

तीन हजार ४१४ जनालाई भेलामा बोलाइए पनि उनीहरूले कुरा राख्न भने पाएन । नेताहरूका अनुसार, यो प्रशिक्षात्मक भएकाले सहभागीहरूको प्रत्यक्ष कुरा राख्न नपाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते ८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला २१ बुँदे संकल्प र प्रस्ताव पारित गर्दै सकिएको छ ।
  • भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीसहित आवश्यक परे आन्दोलनको तयारी गर्ने संकल्प गरेको छ ।
  • अध्यक्ष केपी शर्मा ओलीले भेलापछि बसेको केन्द्रीय कमिटी बैठक चलाएर तीन निर्णय गराएका छन् ।

३ मंसिर, काठमाडौं । २१ बुँदे संकल्प र प्रस्ताव पारित गर्दै नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला सकिएको छ ।

भेलाका लागि स्थानीय तह, जिल्ला, प्रदेशदेखि प्रवाससम्मका नेता–कार्यकर्ता काठमाडौं बोलाइएको थियो । नेताहरूका अनुसार, सबै तहका जनप्रतिनिधि समेत बोलाइएको भेलाको उद्देश्य निराश पार्टी पंक्तिलाई उत्साहित बनाउने र आगामी निर्वाचनहरूको तयारी गर्नु हो ।

प्रचार विभाग प्रमुख निरज आचार्य, भेलाबाट पार्टी वैचारिक, सांगठानिक र भावनात्मक रुपले एकताबद्ध बनेको बताउँछन् । ‘हामी सिंगो पार्टीलाई वैचारिक, सांगठानिक र भावनात्मक रुपमा एकताबद्ध, सुदृढ र गतिशील बनाउन आ–आफ्नो ठाउँबाट अधिकतम योगदान गर्नेछौ,’ भेलापछि जारी वक्तव्यमा भनिएको छ ।

भेलामा प्रस्तुत दस्तावेज र मन्तव्यमा पनि नेताहरूले पार्टी वैचारिक, संगठनात्मक र भावनात्मक रुपले एकताबद्ध बनेको दाबी गरेका छन् । भेलाको संयोजन गरेका नेता भानुभक्त ढकालका अनुसार राष्ट्रिय भेलाको उद्देश्य नै सिंगो पार्टीलाई एउटै लयमा हिडाउनु हो ।

दुई दिनको अवधिमा ६ पटक सम्बोधन गरेका ओलीले पटकपटक आन्तरिक एकताकै कुरा गरेका छन् । बाह्य शक्तिको चलखेलका कारण गत निर्वाचनमा पार्टीले गम्भीर धक्का बेहोर्नु परेकाले एकताबद्ध प्रतिवादका निम्ति ओलीले आग्रह गरेका छन् ।

वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा र विष्णप्रसाद पौडेल, महासचिव शंकर पोखरलले पनि आगामी निर्वाचनको तयारीमा जुट्न सहभागीहरूलाई आग्रह गरे ।

पार्टीको वैचारिक लाइनमा भने अध्यक्ष ओली र उपाध्यक्ष थापा प्रष्ट थिए । उनीहरूका अनुसार, एमालेले लोकतन्त्र फिर्ता ल्याउन आन्दोलनको बाटो रोज्नुपर्नेछ । ‘भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको वापसीका लागि आन्दोलनको तयारी गर्ने संकल्प गरेको छ,’ भेलापछि जारी वक्तव्यमा भनिएको छ ।

सम्बोधनका क्रममा त अध्यक्ष ओलीले आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन नै दिएका छन् । वर्तमान सरकारले आफू सहित नेताहरूलाई गिरफतार गर्ने, संविधानमाथि आक्रमण जस्ता कार्य गर्ने खतरा रहेकाले आन्दोलनका निम्ति तयारी अवस्थामा जुट्न ओलीले निर्देशन दिएका छन् ।

पूर्वराष्ट्रपति भण्डारी, उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको जोड भने निराशा त्यागेर आगामी निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई अपिल गर्नमा थियो । संसदीय मोर्चाको प्रतिवेदन प्रस्तुत गरेका उपाध्यक्ष थापाले आगामी निर्वाचनमा लोकतान्त्रिक दलहरूसँग सहकार्यको सन्देश दिएका छन् ।

उनका अनुसार आगामी निर्वाचन पनि पपुलिस्ट (नयाँ) विरुद्ध लोकतान्त्रिक दलहरू बीच नै हुनेछ र दलहरूबीच चुनावी सहकार्य हुनेछ । तीन हजार ४१४ जनालाई भेलामा बोलाइए पनि उनीहरूले कुरा राख्न भने पाएन ।

नेताहरूका अनुसार, यो प्रशिक्षात्मक भएकाले सहभागीहरूको प्रत्यक्ष कुरा राख्न नपाएका हुन् । ‘सहभागीहरूलाई लिखित सुझाव बुझाउन भनियो, त्यसमा खासै जाँगर चलेको देखिएन,’ एक सहभागी भन्छन् ।

सहभागीहरूको सुझाव लिएर भेलालाई थप उपलब्धिमुलक बनाउने अवसर गुमेको उनको बुझाइ छ । तर एक जना पदाधिकारी भने अहिलेको स्थितिमा देशभरका नेता–कार्यकर्ता एकैठाउँ जुट्नुलाई नै उपलब्धि मान्छन् ।

‘देशभरका नेता–कार्यकर्ता एकठाउँ भेला हुने अवसर मिल्यो । नेताहरूका निम्ति नभए पनि पार्टी जोगाउन चुनावमा जुट्नुपर्छ भन्ने भावना कार्यकर्तामा देखियो,’ उनी भन्छन् ।

एकछत्र ओली

स्थानीय तहदेखि प्रवाससम्मका कार्यकर्ता र जनप्रतिनिहिरू बोलाएर नयाँ अभ्यास गरिए पनि भेलाभर अध्यक्ष ओली एकछत्र हाबी भएका थिए । राजनीतिक–वैचारिक लाइन, पार्टीको निर्णय, साजसज्जादेखि मन्तव्यमा समेत ओली हाबी भए ।

सहभागीहरूलाई वितरण गरिएको कार्डमा ओली उभिएको ठूलो तस्वीर राखिएको थियो । जहाँ, यसअघि प्रतिनिधिको तस्वीर हुन्थ्यो । तर ओलीको तस्वीर र सहभागीको नाम भएको कार्ड वितरण गरिएको थियो ।

भेला भएको दुईदिनमा ओलीले पटक सम्बोधन गरेका थिए । २ मंसिर दिउँसो पौने १ बजे उद्घाटन भएको भेलाको उद्घाटन सत्रमा ओली एकल बक्ता थिए ।

सचिव भानुभक्त ढकालले सञ्चालन गरेको सभामा स्थायी कमिटीसम्मका नेताहरू अतिथि बने । झण्डै एक घण्टा ओलीले सम्बोधन गरेर उद्घाटन सत्र सकिएको भेलाको बन्दसत्रमा फेरि ओलीले नै अध्यक्षता गरे ।

उपाध्यक्ष विष्णप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले प्रशिक्षात्मक मन्तव्य राखेपछि फेरि बोल्ने पालो ओलीकै आयो । पहिलो दिन ओलीले तीनपटक सम्बोधन गरे ।

दोस्रो दिनको अध्यक्षता मन्तव्य फेरि ओलीले राखे । यसपछि बरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीतिक मन्तव्य राखिन् भने उपाध्यक्ष रामबहादुर थापाले संसदीय मोर्चाको प्रतिवेदन प्रस्तुत गरेका थिए । दुई जनाले बालेपछि फेरि पालो आयो, ओलीकै ।

ओलीले यो भेलापछि एमाले एकताबद्ध बनेको बताए । ‘दुई दिनसम्म उहाँले जे भन्नुभएको थियो, त्यो कुरा बुझेर कार्यक्षेत्रमा फर्कन निर्देशन दिनुभयो, र राष्ट्रिय भेला सकियो,’ अर्का एक सहभागी भन्छन् ।

भेला सकिएपछि दिउँसो ३ बजे फेरि केन्द्रीय कमिटी बैठक बस्यो । महासचिव शंकर पोखरेलले छोटो भूमिका जोडेर ओलीलाई सम्बोधन गर्न समय दिए । यसपछि ओली आफैले बैठक चलाए, सम्बोधन गरे र केन्द्रीय कमिटी बैठक समापन भएको जानकारी दिए ।

प्रचार विभाग प्रमुख आचार्यका अनुसार अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकबाट तीन वटा निर्णय भएको जानकारी दिएका छन् ।

पहिलो– अघिल्लो केन्द्रीय कमिटीबाट पारित दुई कार्यभार र १५ काम कार्यान्वयन गर्ने निर्देशन,

दोस्रो– संगठनात्मक काम र कार्यविभाजन सम्बन्धी निर्णय सचिवालय र स्थायी कमिटीबाट गर्ने अनुमति,

र, तेस्रो– अर्को केन्द्रीय कमिटी बैठक आगामी माघ अन्त्यतिर बोलाउने ।

यी तीन वटा निर्णय बाहेक मनोनीत केन्द्रीय सदस्य श्रीप्रसाद शर्मालाई शपथ ग्रहण गराउने काम पनि बैठकमा भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?