+

‘प्रिय कर्णाली’ भन्दै राष्ट्रिय खेलकुदका लागि प्रधानमन्त्री बालेनको शुभकामना सन्देश

२०८३ मंसिर  ६ गते १२:०० २०८३ मंसिर ६ गते १२:००

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा कर्णालीवासीलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले प्रतियोगिता खेलाडीहरूको प्रतिभा पहिचान गर्ने, उनीहरूलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र खेल पूर्वाधारको विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताएका हुन्।

उनले यसपटक कर्णाली प्रदेशले पहिलोपटक राष्ट्रिय खेलकुदको आयोजना गर्न लागेको उल्लेख गर्दै प्रतियोगितालाई सफल बनाउन नागरिकस्तरबाटै साथ र समर्थन गर्न आग्रह गरेका छन्।

दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भएको छ। यद्यपि, प्रतियोगिताका मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन्।

प्रतियोगितामा राष्ट्रिय स्तरका ८ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारीहरूको सहभागिता रहनेछ। कर्णाली प्रदेशका विभिन्न जिल्लामा खेलहरू सञ्चालन हुनेछन्।

प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुदले कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउनसमेत महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका हालसम्म नौवटा संस्करण मात्र आयोजना हुनु दुःखद पक्ष रहेको उल्लेख गर्दै उनले आगामी दिनमा प्रतियोगितालाई नियमित रूपमा आयोजना गर्न र यसको स्तर अभिवृद्धि गर्न सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्दै जय कर्णाली, जय खेलकुद र जय नेपालसमेत भनेका छन्।

१०औँ राष्ट्रिय खेलकुद प्रधानमन्त्री बालेन शाह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय