+
+
Shares

सुनकोशी-मरिण डाइभर्सनको बोलपत्र रद्द गर्नु कानुनसम्मत भएको महानिर्देशकको दाबी

आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको बोलपत्र रद्द भएपछि त्यसको औचित्य, खरिद प्रक्रिया र निर्णयको आधारबारे प्रश्न उठेका थिए । महानिर्देशक रजौरियाले भने संशोधित सार्वजनिक खरिद नियमावलीअनुसार प्रक्रिया अघि बढाउनु नै उपयुक्त हुने निष्कर्षमा पुगेपछि बोलपत्र रद्द गर्ने निर्णय गरेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १०:३९

८ मंसिर, काठमाडौं । जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।

सार्वजनिक खरिद नियमावलीको संशोधित व्यवस्थाअनुसार खरिद प्रक्रिया अघि बढाउनुपर्ने भएकाले बोलपत्र रद्द गरिएको उनको स्पष्टीकरण छ ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा उठेका प्रश्नको जवाफ दिँदै रजौरियाले विभागको प्रमुखको हैसियतमा प्रचलित कानुन तथा सार्वजनिक खरिदसम्बन्धी व्यवस्था पालना सुनिश्चित गर्नुपर्ने जिम्मेवारीलाई प्राथमिकता दिएर निर्णय गरेको बताएका छन् ।

टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो त्रुटिपूर्ण रहेको जिकिर गर्दै लेखा समितिमा उजुरी परेको छ । सो उजुरीउपर लेखा समितिको आजको बैठकमा छलफल भइरहेको छ ।

छलफलमा सहभागी सिंचाइ विभागका महानिर्देशक रजौरियाका अनुसार बोलपत्र रद्द गर्नुको उद्देश्य कानुनी व्यवस्था विपरीत हुन सक्ने खरिद प्रक्रियालाई अगाडि बढाउनुको सट्टा कानुनसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रिया सुनिश्चित गर्नु हो ।

सार्वजनिक खरिद नियमावलीको १६औं संशोधनअनुसार एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल प्रकृतिका संरचनाको खरिद प्रक्रियामा रेटेड प्वाइन्ट क्राइटेरिया अवलम्बन गर्नुपर्ने व्यवस्था रहेको उनले समितिसमक्ष उल्लेख गरेका छन् ।

रजौरियाले एभरेज प्राइसिङमा आधारित मूल्यांकन विधिभन्दा रेटेड प्वाइन्ट क्राइटेरियामा आधारित मूल्यांकन विधिबाट प्राविधिक क्षमता, अनुभव, कार्यसम्पादन क्षमता तथा अन्य निर्धारित मापदण्डको समग्र मूल्यांकन गर्न सकिने बताएका छन् ।

उनका अनुसार जटिल प्रकृतिका संरचना निर्माणका लागि उपयुक्त र सक्षम निर्माण व्यवसायी छनोट गर्न उक्त विधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

यसबाट आयोजनाको गुणस्तर, निर्माण कार्यको प्रभावकारिता, समयमै सम्पन्न हुने सम्भावना र सार्वजनिक खर्चको सदुपयोग सुनिश्चित गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

संशोधित नियमावलीअनुसार बोलपत्रसम्बन्धी कागजात तयार गरी पुन: प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउँदा भविष्यमा आउन सक्ने कानुनी विवाद तथा प्रक्रियागत जटिलता पनि न्यूनीकरण हुने उनले दाबी गरेका छन् ।

उनले बोलपत्र रद्द गर्ने निर्णय कुनै व्यक्ति वा पक्ष विशेषको हितलाई ध्यानमा राखेर नभई सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था पालना, प्रतिस्पर्धात्मक खरिद प्रणालीको सुनिश्चितता, आयोजना निर्माणको गुणस्तर र सार्वजनिक हितलाई केन्द्रमा राखेर गरिएको समितिसमक्ष स्पष्ट पारेका छन् ।

‘कुनै पनि सार्वजनिक खरिद प्रक्रिया अगाडि बढाउँदा तत्कालीन प्रक्रियागत सुविधाभन्दा प्रचलित कानुनको पालना, सार्वजनिक स्रोतको अधिकतम सदुपयोग र दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दिनु जिम्मेवार प्रशासनिक पदाधिकारीको कर्तव्य हो,’ उनको स्पष्टीकरणमा उल्लेख छ ।

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृह तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया रद्द गरिएको थियो । बोलपत्रमा सहभागी ६ कम्पनीमध्ये तीन कम्पनी प्राविधिक मूल्यांकनमा योग्य ठहरिएका थिए । उनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला खरिद प्रक्रिया रद्द गरिएको निर्णयले विवाद उत्पन्न गरेको थियो ।

आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको बोलपत्र रद्द भएपछि त्यसको औचित्य, खरिद प्रक्रिया र निर्णयको आधारबारे प्रश्न उठेका थिए ।

महानिर्देशक रजौरियाले भने संशोधित सार्वजनिक खरिद नियमावलीअनुसार प्रक्रिया अघि बढाउनु नै उपयुक्त हुने निष्कर्षमा पुगेपछि बोलपत्र रद्द गर्ने निर्णय गरेको बताएका छन् ।

विभाग तथा मातहतका निकायबाट भएका कामकारबाहीका विषयमा संसदीय समितिले राखेका जिज्ञासा, चासो र सरोकारलाई उच्च महत्त्वका साथ लिने भन्दै उनले थप जानकारी, स्पष्टीकरण वा परामर्शका लागि समितिले बोलाए आवश्यक कागजात तथा प्रमाणसहित उपस्थित हुने प्रतिबद्धता पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?