+
+
Shares

रास्वपालाई वर्षमानको चेतावनी : राज्य संयन्त्रलाई प्रतिशोधको औजार नबनाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते ९:५५

९ मंसिर, काठमाडौं । नेकपाका नेता वर्षमान पुनले रास्वपा सधैँ सत्तामा नरहने भन्दै राज्य संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने औजार नबनाउन चेतावनी दिएका छन् ।

रोल्पाको पाछावाङमा आयोजित कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले अहिले सत्तामा रहेकाले राज्य संयन्त्रको दुरुपयोग गरे भोलि सत्तामा आउनेले पनि बदला लिने प्रवृत्ति बढ्ने बताए । यस्तो प्रवृत्तिले अन्ततः लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउँदै राज्यलाई स्वेच्छाचारी बनाउने खतरा रहेको उनको भनाइ छ ।

पुनले प्रहरी, प्रशासन, न्यायालय र संवैधानिक निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिए । प्रहरी अनुसन्धान र मुद्दा प्रक्रियामा प्रधानमन्त्री तथा मन्त्रीका सल्लाहकारले हस्तक्षेप गर्ने प्रवृत्तिले राज्यका निकायको निष्पक्षता कमजोर हुने उनले औँल्याए ।

‘प्रहरीमा उजुरी परेपछि स्वतन्त्र रूपमा अनुसन्धान हुनुपर्छ । प्रधानमन्त्रीका सल्लाहकार वा मन्त्रीका सल्लाहकारले यसलाई मुद्दा चलाऊ, त्यसलाई छानबिन गर भन्ने हो भने निष्पक्षता कहाँ रहन्छ ?’ उनले प्रश्न गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीलाई समेत बोलाएर छानबिन गर्न सक्ने स्वतन्त्रता हुनुपर्ने पुनले बताए । राज्यका निकायलाई सत्ताको स्वार्थअनुसार परिचालन गर्दा आज एउटा पक्षले प्रतिशोध साँध्ने र भोलि अर्को पक्ष सत्तामा पुगेपछि त्यसैको बदला लिने चक्र चलिरहने चिन्ता उनले व्यक्त गरे ।

शक्ति सन्तुलन र प्रणालीको रक्षामा जोड

दक्षिण एसियाका छिमेकी मुलुकहरूमा राजनीतिक शक्ति र राज्यका निकायबीचको टकरावले अस्थिरता निम्त्याएको उल्लेख गर्दै पुनले लोकतन्त्रमा कुनै पनि निकाय निरङ्कुश बन्न नहुने बताए ।

संसद्ले कानुन बनाउने, सरकारले कार्यान्वयन गर्ने र न्यायालयले कानुनको व्याख्या गर्दै नागरिकको अधिकार संरक्षण गर्ने नियन्त्रण र सन्तुलनको व्यवस्था नै लोकतन्त्रको आधार भएको उनको भनाइ छ ।

राज्यका निकायका गलत काममाथि सञ्चारमाध्यमले प्रश्न उठाउनुपर्ने र जनताले खबरदारी गर्नुपर्ने पुनले बताए । लोकतन्त्रमा अन्तिम अधिकार जनतामै निहित रहने उल्लेख गर्दै उनले खराब काम गर्ने जनप्रतिनिधिलाई जनताले निर्वाचनमार्फत दण्डित गर्न सक्ने स्मरण गराए ।

‘सधैँ कोही मान्छे जित्दैन, सधैँ कोही सत्तामा पनि हुँदैन । सधैँ कोही प्रतिपक्षमा पनि हुँदैन,’ पुनले भने, ‘आज को पर्‍यो, भोलि को पर्छ र पर्सि को आउँछ भन्दा पनि लोकतन्त्र र प्रणाली जोगिनुपर्छ ।’

हजारौँको बलिदानबाट स्थापित लोकतान्त्रिक व्यवस्था र संस्थाहरू कमजोर हुन नदिन सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

सरकारको कार्यसम्पादनमाथि प्रश्न

कार्यक्रममा पुनले वर्तमान सरकारको कार्यसम्पादनमाथि समेत प्रश्न उठाए । आठ महिना पुग्न लाग्दासमेत किसानले समयमा मल नपाएको, राजधानीमै ग्यासका लागि लाइन बस्नुपरेको र विकास खर्च कमजोर रहेको उनले बताए ।

विगतमा पाँच प्रतिशतभन्दा कम रहेको महँगी अहिले सात प्रतिशतसम्म पुगेको दाबी गर्दै पुनले जनताको दैनिक जीवनयापन कठिन बन्दै गएको टिप्पणी गरे । अहिले सरकारमा रहेका रास्वपाका नेताहरूले यी समस्याको जवाफ दिनुपर्ने उनको भनाइ थियो ।

‘पहिले हामी सरकारमा हुँदा जनताले प्रश्न गर्थे, अहिले हामी प्रश्न गर्ने ठाउँमा छौँ,’ उनले भने, ‘जनताले नै कसैलाई प्रश्न गर्ने र कसैलाई जवाफ दिने जिम्मेवारी दिएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?