१० मंसिर, काठमाडौं । कांग्रेस देउवा पक्षको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले महाधिवेशनलाई पार्टी एकताबद्ध गराउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
बिहीबार देउवा पक्षको पर्सा जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले महाधिवेशनमा प्रतिस्पर्धा स्वाभाविक भएपनि यसमा एकताको भाव पनि कायम राख्नुपर्ने बताएका हुन् ।
‘पार्टी अधिवेशन महाधिवेशनमा नयाँ नेतृत्व चयन हुन्छ, प्रतिष्पर्धा हुन्छ । यो स्वभाविक हो,’ कोइरालाले भने, ‘तर हामीले अधिवेशन महाधिवेशनलाई पार्टीलाई एकताबद्ध गराउने अवसरका रूपमा लिनुपर्छ ।’
उनले महाधिवेशनलाई पार्टी एकताबद्ध बनाउने अवसरका रूपमा उपयोग गर्नसके कांग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने दाबी गरे । उनले भने, ‘कांग्रेस एकताबद्ध भए कसैको तागतले हराउन सक्दैन् ।’
अहिले वडादेखि केन्द्रसम्मका अधिवेशनमार्फत आफूहरू पार्टी एकताबद्ध बनाउने अभियानका रूपमा उपयोग गर्ने प्रयासमा रहेको कोइरालाले बताए । ‘पद एउटा हुन्छ आकांक्षा राख्ने साथी धेरै हुन्छन् । हामीले अधिवेशनमा एकताबद्ध बनाउन सके सबैले सबैलाई सहयोग गर्ने वातावरण बन्छ,’ उनले भने ।
२०३३ सालमा बीपी कोइराला नेपाल फर्कँदा गणेशमान सिंहले फरक मत राखेको प्रशंग उनले सुनाए ।
‘३३ सालमा बीपीको नेपाल फर्कने निर्णयमा गणेशमानजी सहमत हुनुहुन्थेन् । तर बीपीले नेपाल फर्कने निर्णय गरेपछि गणेशमानजीले बीपी मेरो नेता हो, उहाँले निर्णय गरेपछि निर्णय मान्ने मेरो दायित्व हो भन्दै नेपाल फर्कनुभयो,’ कोइरालाले सुनाए ।
यसरी फरक मतका बीचमा पनि नेता र पार्टीको निर्णयको कदर गर्ने प्रवृत्ति बसे पार्टी एकढिक्का हुने उनले टिप्पणी गरे ।
प्रतिक्रिया 4