११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी संगठनको पुनर्संरचना, आन्तरिक गुटबन्दी अन्त्य, स्थानीय निर्वाचनको तयारी, उम्मेदवार छनोटमा पारदर्शिता र सरकारमाथि खबरदारीलगायत विषयहरू उठेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा बोल्ने नेताहरूले कांग्रेसलाई नागरिकसँग प्रत्यक्ष जोड्ने गरी कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनीहरूले पार्टीलाई केवल राजनीतिक गतिविधिमा सीमित नराखी जनताका दैनिक समस्या सम्बोधन गर्ने र राष्ट्रिय मुद्दामा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्ने संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन् ।
महामन्त्री प्रदीप पौडेलले पार्टीका तल्लो तहका बैठकमा स्थानीय नागरिकका ज्वलन्त समस्यालाई अनिवार्य एजेण्डा बनाउनुपर्ने बताए । वडा तहको बैठक बस्दा कम्तीमा तीनवटा स्थानीय मुद्दालाई छलफलको विषय बनाउनुपर्ने उनले प्रस्ताव गरे ।
‘वडाको बैठक बस्दै गर्दा कम्तीमा पनि त्यो वडाको तीनवटा मुद्दा बैठकको एजेन्डा बनोस्,’ उनले भने, ‘बैठकमा कुनै किशोर वा किशोरीले मेरो मुद्दा कांग्रेसको बैठकको विषय बन्यो भनेर गर्व गर्ने अवस्था बनोस् ।’
महामन्त्री पौडेलले पार्टीका प्रतिनिधिहरू जिल्ला, पालिका र वडामा जाँदा औपचारिक बैठक तथा भाषणमा मात्र सीमित हुन नहुने बताए । नागरिकका समस्या र मुद्दासमेत लिएर फर्किने परिपाटी विकास गर्नुपर्ने पौडेलको भनाइ छ ।
‘अगाडि मञ्चमा गएर सबैजनाले एकै प्रकारको भाषण गर्ने पुरानो शैली अब हामीले बदल्नुपर्छ,’ महामन्त्री पौडेलले बैठकमा भने ।
पौडेलले वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै संसद्लाई बेवास्ता गरेको, महँगीको भार नागरिकमाथि थोपरेको र राष्ट्रियतामाथि प्रहार गरेको आरोपसमेत लगाए ।
सुनकोशी मरिन डाइभर्सनदेखि पासपोर्ट काण्डसम्मका अनियमिततामा सरकार जोडिएको दाबी गर्दै उनले यस्ता विषयमा कांग्रेसले सशक्त आवाज उठाउनुपर्ने बताए ।
अर्का महामन्त्री डा. डिला संग्रौलाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी अहिलेदेखि नै संगठनात्मक र राजनीतिक तयारीमा जुट्न आह्वान गरिन् । उनले ‘हामी तयार छौं’ अभियानलाई देशभरका ६ हजार ७४३ वटै वडा र बुथ तहसम्म विस्तार गर्नुपर्ने बताइन् ।
निर्वाचन आयोगले पार्टीको विधानसम्मत विवरण र आधिकारिकता अद्यावधिक गरिसकेको उल्लेख गर्दै महामन्त्री संग्रौलाले अब आन्तरिक विवाद र वैधानिकताको बहसभन्दा माथि उठेर संगठन निर्माणमा केन्द्रित हुनुपर्ने बताइन् ।
‘अब हामीसँग न त कुनै बहाना छ, न त अलमलिनुपर्ने कारण नै,’ संग्रौलाले भनिन्, ‘हामी नै आधिकारिक कांग्रेस हौं भन्ने स्पष्ट र आत्मविश्वासपूर्ण सन्देश देशभरका ६ हजार ७४३ वटै वडा र बुथ तहसम्म पुर्याउनुपर्छ ।’
उनले बुथ समिति अद्यावधिक, क्रियाशील सदस्यताको नवीकरण तथा वितरणमा पारदर्शिता र घरघरमा पुगेर जनसम्पर्क विस्तारलाई अभियानको मुख्य काम बनाउनुपर्ने बताइन् ।
महामन्त्री संग्रौलाले भोटेकोशी र बूढीगण्डकी क्षेत्रका बाढीपीडितको पुन:स्थापना, विस्थापित तथा भूमिहीन सुकुम्बासीको समस्या र नागरिकका मौलिक अधिकारका विषयमा पनि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखिन् ।
प्रेस स्वतन्त्रता, विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यतामाथि हस्तक्षेप भएको आरोप लगाउँदै उनले सरकारका गतिविधिविरुद्ध खबरदारी गर्नुपर्ने बताइन् ।
केन्द्रीय सदस्य नीलकण्ठ रिजालले पार्टीभित्रको गुटबन्दी अन्त्य, जिम्मेवारी बाँडफाँटमा न्याय र निर्वाचनमा टिकट वितरणमा पारदर्शिता कायम गर्नुपर्ने बताए ।
पार्टीको भूमिका फेरिएकाले अब नेतृत्वले तल्लो तहका नेता तथा कार्यकर्ताका प्रश्नको जवाफ दिनुपर्ने उनको भनाइ छ ।
‘हिजो पार्टीभित्र देखिएका कमी–कमजोरीलाई निडर र स्पष्ट रूपमा प्रश्न उठाउने साथीहरू अहिले नेतृत्वमा हुनुहुन्छ,’ नेता रिजालले भने, ‘अब हाम्रो भूमिका फेरिएको छ। अहिले हामी प्रश्न उठाउने होइन, उत्तर दिने ठाउँमा आइपुगेका छौं ।’
उनले भातृ संस्थाहरूको महाधिवेशन, लामो समय योगदान गरेका कार्यकर्तालाई अवसर, गुटबन्दीको अन्त्य र आर्थिक चलखेलरहित टिकट वितरणको सुनिश्चितता गर्न नेतृत्वसँग माग गरे ।
आगामी स्थानीय निर्वाचनका उम्मेदवार केन्द्रबाट छनोट गर्ने परम्परा अन्त्य गरी स्थानीय तहकै नेता तथा कार्यकर्ताबाट पारदर्शी विधिबाट उम्मेदवार छनोट गर्नुपर्ने उनको प्रस्ताव छ ।
अर्का केन्द्रीय सदस्य डा. शोभाकर पराजुलीले कांग्रेसले राष्ट्रिय दायित्व निर्वाह गर्ने गरी आफूलाई प्रस्तुत गर्नुपर्ने बताए । देश गम्भीर मोडमा पुगेका बेला पार्टी फुटकर गतिविधिमा सीमित हुन नहुने उनको भनाइ छ ।
‘आज देश एउटा गम्भीर मोडमा पुगेको अवस्था छ । यस्तो बेलामा कांग्रेसले आफूलाई फुटकर कार्यक्रमहरूमा मात्र सीमित नराखी राष्ट्रिय दायित्व निर्वाह हुने गरी प्रस्तुत गर्न आवश्यक छ,’ पराजुलीले भने ।
उनले सरकार, संसद् र राज्यका अन्य संरचनालाई लोकतान्त्रिक विधिअनुसार सञ्चालन हुन दबाब दिनुपर्ने बताए । शक्ति सन्तुलन, संसद्को भूमिका, अदालतको विश्वसनीयता र संवैधानिक अंगहरूमा सत्ता तथा शक्तिको प्रभावबारे कांग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने उनको सुझाव छ ।
केन्द्रीय सदस्य पराजुलीले छाया सरकारलाई प्रभावकारी बनाउने र नयाँ पुस्तालाई लोकतन्त्रबारे शिक्षित गर्ने काममा समेत जोड दिए ।
केन्द्रीय सदस्य डा. कृष्णप्रसाद पौडेलले कांग्रेसलाई नयाँ कार्यशैली र संस्थागत एकताको आवश्यकता रहेको बताए ।
पार्टीलाई सदस्यता भएको संगठनमा मात्र सीमित नराखी ज्ञान, विचार, क्षमता र परिणाम दिने संस्थाका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ ।
सरकारको विरोधका लागि विरोध नगरी राष्ट्रिय मुद्दामा स्पष्ट वैकल्पिक नीति र समाधान प्रस्तुत गर्नुपर्ने बताउँदै पौडेलले सरकारका सकारात्मक कामलाई समर्थन र कमजोरीलाई तथ्य तथा प्रमाणका आधारमा खबरदारी गर्नुपर्ने बताए ।
उनले सरकारका नीति, बजेट, कार्यक्रम र उपलब्धिको नियमित समीक्षा गर्ने केन्द्रीय संयन्त्र बनाउनुपर्ने प्रस्तावसमेत गरे ।
जरा अभियानलाई निरन्तरता दिँदै प्रत्येक वडा र टोलको संगठनात्मक अवस्था, सदस्यता, जनसम्पर्क र स्थानीय समस्याको अभिलेख राख्ने प्रणाली विकास गर्नुपर्ने पौडेलको सुझाव छ ।
आगामी निर्वाचनमा उम्मेदवार छनोट, प्रचारप्रसार र नतिजा निकाल्ने काममा स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिँदै उनले पार्टीको ज्ञान, अनुभव र दस्तावेज व्यवस्थित गर्न डिजिटल अभिलेख प्रणाली विकास गर्नुपर्ने बताए ।
‘हामीलाई अब नयाँ नारा मात्र होइन, नयाँ कार्यशैली चाहिएको छ,’ केन्द्रीय सदस्य पौडेलले भने ।
यसैगरी, केन्द्रीय सदस्य विद्वान गुरुङले कांग्रेसका हरेक सार्वजनिक तथा संगठनात्मक कार्यक्रममा रुख चिह्नलाई पार्टीको प्रमुख ब्रान्डका रूपमा स्थापित गर्नुपर्ने बताए ।
चारतारे झण्डा र रुख चिह्न पार्टीको इतिहास, विचार र लोकतान्त्रिक आन्दोलनको गौरवसँग जोडिएका प्रतीक भएकाले तिनको दृश्य पहिचान र प्रचार शैलीमा एकरूपता कायम गर्नुपर्ने उनको भनाइ छ ।
गुरूङले पार्टीका सभा, सम्मेलन, प्रशिक्षण, अभियान तथा संगठनात्मक गतिविधिमा रुख चिह्नलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने संस्थागत नीति बनाउनुपर्ने बताए ।
प्रतिक्रिया 4