१२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अनुसन्धानले शल्यक्रियापछि हुने घाउको सङ्क्रमणमा अक्सिजनरहित वातावरणमा वृद्धि हुने ब्याक्टेरियाको भूमिका र तिनमा देखिएको उच्च प्रतिजैविक औषधि प्रतिरोध औंल्याएको छ ।
त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी केन्द्रीय विभागले आयोजना गरेको कार्यशालामा शिक्षाध्यक्ष तथा अनुसन्धानकी मुख्य अन्वेषक प्रा.डा. अञ्जना सिंहले अनुसन्धानका निष्कर्ष प्रस्तुत गरेकी हुन् ।
‘शल्यक्रियापछि हुने घाउको सङ्क्रमणमा जीवाणुजन्य कारकहरूको व्यापकता, विशेष गरी अक्सिजनरहित अवस्थामा हुने ब्याक्टेरियाको वृद्धि’ विषयमा केन्द्रित अनुसन्धान विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा गरिएको थियो ।
अनुसन्धानले परिमार्जित रोग प्रतिरोधात्मक औषधिको प्रयोगले कल्चर परीक्षणबाट पुष्टि भएका शल्यक्रियास्थल सङ्क्रमणको दर घटाएको देखाएको छ । त्यस्तै, शल्यक्रियास्थलमा हुने सङ्क्रमणका प्रमुख कारणमध्ये अक्सिजनरहित वातावरणमा वृद्धि हुने ब्याक्टेरिया पनि रहेको पाइएको छ ।
यस्ता ब्याक्टेरियामा प्रतिजैविक औषधिप्रति उच्च प्रतिरोध क्षमता देखिएको अनुसन्धानमा उल्लेख छ । प्रतिजैविक औषधि प्रतिरोध निर्धारण गर्ने जीनसमेत फेला परेका छन् । ती जीनका आनुवंशिक अनुक्रम अन्य देशमा पाइएका जीनसँग मिल्दोजुल्दो रहेको अनुसन्धानले देखाएको छ ।
शल्यक्रियापछि हुने सङ्क्रमणले बिरामीमा स्वास्थ्य जटिलता निम्त्याउने, अस्पतालमा बसाइ लम्ब्याउने र उपचार खर्च बढाउने गरेको अनुसन्धानले औँल्याएको छ । नेपालमा अक्सिजनरहित वातावरणमा वृद्धि हुने रोगजनक ब्याक्टेरियाको नियमित निगरानी सीमित हुनु र तिनको पहिचानमा कठिनाइ हुनुले उचित निदान तथा उपचारमा समस्या सिर्जना गर्न सक्ने अनुसन्धानको निष्कर्ष छ ।
अनुसन्धानले शल्यक्रियास्थल सङ्क्रमणको नियमित राष्ट्रिय निगरानी प्रणाली स्थापना गर्न, एनारोबिक ब्याक्टेरियोलोजी सेवा सुदृढ बनाउन र यस्ता ब्याक्टेरियाको प्रतिजैविक औषधि प्रभावकारिता परीक्षणलाई स्तरीकृत गर्न सिफारिस गरेको छ ।
त्यस्तै, एनारोबिक एन्टिबायोग्राम तयार गर्न र शल्यक्रियाअघि सङ्क्रमण रोकथामका लागि दिइने एन्टिमाइक्रोबियल औषधिको प्रयोगसम्बन्धी मापदण्ड बनाउन पनि सुझाव दिएको छ ।
अनुसन्धान सहयोगी संस्था त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालयका प्रमुख प्रा.डा. ईश्वर कोइरालाले यस्ता अनुसन्धानले सरकारलाई स्वास्थ्यसम्बन्धी नीतिगत निर्णय गर्न सहयोग पुग्ने बताए ।
माइक्रोबायोलोजी केन्द्रीय विभागका प्रमुख डा. देवराज जोशीले विश्वविद्यालयसँग दक्ष जनशक्ति रहेकाले सरकार तथा निजी क्षेत्रलाई आवश्यक अनुसन्धानमा सहकार्य गर्न आह्वान गरे ।
प्रतिक्रिया 4