+
+
Shares

सुन्तलाजातको फलफूलमा फैलिंदै खतरनाक ब्याक्टेरिया 

बिना परीक्षण र बिना प्रमाणीकरण खुला सीमानाबाट भित्र्याइएका संक्रमित बिरुवाहरूका कारण यो महामारी नेपालभर फैलिएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १२:३२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका सुन्तला बगैँचामा 'सिट्रस ग्रिनिङ' नामक घातक ब्याक्टेरिया तीव्र रूपमा फैलिरहेको तथ्य एक अनुसन्धानले उजागर गरेको छ ।
  • वैज्ञानिकहरूले ६ प्रदेशका १३ जिल्लाबाट संकलन गरेका १ हजार २६ नमूनामध्ये २५५ वटामा यो खतरनाक ब्याक्टेरिया फेला पारेका छन् ।
  • खुला सिमानाबाट भित्रिएका संक्रमित बिरुवाका कारण फैलिएको यो रोगले बोट सुकाउने र सुन्तलाको स्वाद तितो बनाउँछ ।

२१ जेठ, काठमाडौं । कैयौं उपभोक्ताको लागि सुन्तला एउटा फल मात्रै हो तर, नेपालको मध्यपहाडी क्षेत्रका लाखौं किसानका लागि नगदआर्जनको मुख्य आधार ।

कुल फलफूल उत्पादनको २०.८१ प्रतिशत हिस्सा ओगटेको सुन्तलाजात (सुन्तला, जुनार, कागती, निबुवा र भोगटे) फलफूलको खेतीले मध्यपहाडका डाँडापाखालाई हरियाली र समृद्ध बनाएको छ। तर, यही हराभरा सुन्तला बगैँचाभित्र अहिले एउटा यस्तो ब्याक्टेरिया फैलिरहेको छ, जसले बगैँचाका रैथाने सुन्तला सुक्न थालेका छन्।

अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल प्लोस वनमा भर्खरै प्रकाशित एक बृहत् अनुसन्धानले नेपालका सुन्तला बगैँचाहरूमा ‘सिट्रस ग्रिनिङ’ (ह्वाङलोङबिङ-एचएलबी) नामक घातक ब्याक्टेरिया तीव्र रूपमा फैलिरहेको तथ्य उजागर गरेको छ।

बाहिर हरियो, भित्र खोक्रो,  कृषि वन तथा पर्यावरण मन्त्रालय, बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रकी जैविक प्रविधि विज्ञ डा. बालकुमारी ओलिया, समशितोष्ण बागबानी केन्द्रकी जैविक प्रविधि अधिकृत रिचा गिरी, पुष्प विकास केन्द्र, गोदावरीका जैविक प्रविधि अधिकृत सिद्धार्थ गौतम र त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि केन्द्रीय विभागका प्राध्यापक डा. कृष्णदास मानन्धरसहितको टोलीले नेपालमा पहिलो पटक यो जीवाणुको विस्तृत आनुवंशिक पहिचान गरेको हो।

वैज्ञानिकहरूले नेपालका ६ प्रदेशका मुख्य १३ जिल्लाबाट १ हजार २६ वटा सुन्तलाजातका फलफूलका नमूना संकलन गरी आधुनिक डीएनए प्रविधिबाट परीक्षण गरेका थिए। परीक्षणका क्रममा २५५ वटा नमूनाहरूमा ‘सिट्रस ग्रिनिङ’ फेला परेको छ जुन ‘क्यान्डिडेटस लिबेरिब्याक्टर एसियाटिकस’ नामक खतरनाक ब्याक्टेरियाले सर्ने गर्दछ।

मर्दै बिरुवा, बदलिँदै स्वाद 

यो ब्याक्टेरियाले बोटबिरुवाको रक्तसञ्चारसरह मानिने फ्लोएम टिस्युलाई पूर्ण रूपमा बन्द गरिदिन्छ। अनुसन्धानकर्ता डा. ओलिया भन्छिन्, ‘धेरैजसो यस रोगबाट संक्रमित रुखहरू बाहिरबाट हेर्दा स्वस्थ र हरियो देखिए पनि भित्रभित्रै घातक ब्याक्टेरियाबाट ग्रसित भइसकेका हुन्छन् र सिट्रस साइला (स्याप चुस्ने कीरा) मार्फत तीव्र रूपमा अन्य स्वस्थ रुखहरूमा फैलिरहेका हुन्छन्।’

ओलियाका अनुसार, अति संक्रमित अर्थात् ब्याक्टेरिएल लोड धेरै भैसकेपछि मात्र बोटमा लक्षणहरु देखा पर्छन् । यो ब्याक्टेरियाले संक्रमण गरेपछि  बिस्तारै सुन्तलाको बोटले पाउनुपर्ने पोषक तत्व र पानी पूर्ण रूपमा रोकिन्छ। जसका कारण रुखको टुप्पोबाट पातहरू पहेँलो हुँदै तल जरातिर जान्छन् र अन्तमा पूरै बोट नै मर्छ, जसलाई कृषि विज्ञानको भाषामा ‘डाइ ब्याक’ भनिन्छ।

संक्रमित बोटको पातमा छुट्टै खालको पहेँलो धब्बा (ब्लची मोटल) देखिन्छ, पातको आकार सानो हुन्छ र समय नपुग्दै झर्न थाल्छ। रुखको जराहरू कालो र खैरो भई कुहिन थाल्छन्।

सबैभन्दा दु:खद कुरा, किसानले वर्षौँ कुरेर फलाएको सुन्तलाको आकार बाङ्गो-टेढो र कुरुप हुन्छ। सुन्तलाको भित्र उम्रने शक्ति नभएका असामान्य बीउ बन्छन् र फलको स्वाद अत्यन्तै तितो र अमिलो भई गुलियोपन पूर्ण रूपमा हराउँछ। अमिलो-तितो फल बजारमा बिक्दैन, जसका कारण किसानहरुलाई ठूलो आर्थिक क्षति पुग्दछ।

कहाँ कति संक्रमण? यी हुन् हटस्पट जिल्लाहरू

नेपालको सुन्तला उत्पादनमा सुन्तलाको हिस्सा लगभग ६३ प्रतिशत रहँदा जुनारको १५ प्रतिशत र कागतीको १५ प्रतिशत रहेको छ। तर, देशको समग्र माग पूरा गर्न आन्तरिक उत्पादन अपर्याप्त भइरहेका बेला देशैभरि फैलिएको यो रोगले कृषि अर्थतन्त्रमा ठूलो धक्का दिने जोखिम बढेको छ ।

अनुसन्धानले नेपालका कतिपय मुख्य सुन्तला उत्पादक जिल्लाहरूलाई हटस्पटको रूपमा पहिचान गरेको छ ।

जिल्ला असर कति संक्रमण
चितवन ९० प्रतिशत १० मध्ये ९ नमूनामा संक्रमण
लमजुङ ६६.७ प्रतिशत ९ मध्ये ६ नमूनामा संक्रमण
म्याग्दी ६० प्रतिशत १५ मध्ये ९ नमूनामा संक्रमण
भोजपुर ५० प्रतिशत २० मध्ये १० नमूनामा संक्रमण
गोरखा ४९.४ प्रतिशत ८७ मध्ये ४३ नमूनामा संक्रमण
रामेछाप ३७.६ प्रतिशत १९७ मध्ये ७४ नमूनामा संक्रमण
पाल्पा ३५ प्रतिशत ६६ मध्ये १७ नमूनामा संक्रमण
सिन्धुली १८.८६ प्रतिशत २०९ मध्ये ३९ नमूनामा संक्रमण

वैज्ञानिकहरूका अनुसार नेपालमा भेटिएको यो ब्याक्टेरिया छिमेकी राष्ट्र भारतको पञ्जाब र मेरठ क्षेत्रमा पाइने ब्याक्टेरियासँग ९९ प्रतिशतभन्दा बढी आनुवंशिक रूपमा मिल्दोजुल्दो छ। यसले के देखाउँछ भने, बिना परीक्षण र बिना प्रमाणीकरण खुला सीमानाबाट भित्र्याइएका संक्रमित बिरुवाहरूका कारण यो महामारी नेपालभर फैलिएको हो।

किसानहरूले रोग नियन्त्रणका प्रभावकारी उपायहरू नअपनाउनु र रोग फैलाउने कीराहरू (स्याप चुस्ने कीरा) को उचित व्यवस्थापन नहुँदा संक्रमणले भयावह रूप लिएको हो।

कसरी जोगाउने सुन्तला ?

नेपालको मध्यपहाडी क्षेत्रको सम्पूर्ण बाँझो जमिनमा सुन्तलाजात फलफूल खेती विस्तार गर्न सकेको खण्डमा नेपालको खाद्य सुरक्षा, पोषण र रोजगारीको अवसर सिर्जना भई देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्न सक्छ।

तर, त्यसका लागि परम्परागत शैली बदलेर वैज्ञानिक प्रविधि अपनाउनुको विकल्प छैन।यस अनुसन्धानले ‘सिट्रस ग्रिनिङ’ लाई नेपालमा रोक्न र थप नोक्सान हुनबाट बचाउन राज्यस्तरबाटै तत्काल कदम चाल्नुपर्ने सुझाव दिएको छ ।

अनुसन्धानले सुझाए अनुसार देशभर नियमित रूपमा रोगको निगरानी प्रणाली स्थापना गरी प्रयोगशाला (पीसीआर) परीक्षण अनिवार्य तथा थप प्रभावकारी बनाइनुपर्छ। रोगमुक्त बिरुवा उत्पादन गर्न नर्सरी प्रमाणीकरण कार्यक्रम प्रभावकारी रुपमा लागू गरिनुपर्छ।

अनुसन्धानकर्ता डा. ओलियाको अनुसार, खुला सिमानाबाट अबैधानिक रुपमा भित्रने बीउ/बिरुवाहरुमा कडा निगरानी गरिनु पर्दछ। निरोगी माउबोटहरू तन्तु प्रजनन (टिस्यु कल्चर) प्रविधिमार्फत उत्पादन गरी कीरा नछिर्ने सुरक्षित संरचनामा हुर्काउनुपर्छ।त्यस्तै,  रोग फैलाउने सिट्रस साइला कीराहरू नियन्त्रण गर्नुपर्दछ।

रोग लागिसकेका रुखहरूलाई उखेलेर नष्ट गर्नुको विकल्प छैन। तर, यसरी बोट नष्ट गर्दा मर्कामा पर्ने किसानहरूका लागि राज्यले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ।

सुन्तलाजात फलफूलको पुनर्स्थापनाको लागि जैविक प्रविधिको प्रयोगसँगै निजी स्तरमा सञ्चालित प्रयोगशालाहरू, नर्सरीहरू, कृषि फर्महरू तथा किसानहरूको समान र सक्रिय सहभागिता सुनिश्चित गरिनुपर्नेमा अनुसन्धानमा जोड दिइएको छ।

 

अध्ययन गरिएको क्षेत्र

समयमै ध्यान नदिने हो भने मध्यपहाडको आर्थिक मेरुदण्ड मानिएको सुन्तला खेती जोगाउन यो चेतावनीलाई सरकार र सरोकारवाला निकायले बेलैमा बुझ्न वैज्ञानिकहरूको सुझाव छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?