हाम्रो फिल्म ‘बाटुलो जून’मा दर्शकको चाप बढ्दै थियो । दर्शक बढे पनि नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा हाम्रो शो संख्या न्यून थियो । बलिउड फिल्म ‘रामायण’को ८० शो हुँदा हामीलाई २९ शो मात्र दिइएको थियो ।
एउटा हलमा त अझ कस्तो थियो भने ८ शो ‘रामायण’को अनि एक शो हाम्रो । त्यो पनि अमिल्दो समयमा । बिहान ११ बजे, ११ः५० बजे र ११ः३० बजे । फिल्म हेर्नका लागि अनुकूल समय मानिँदैन । यसपछि मलाई चित्त बुझेन । मैले फिल्म रोकिदिन्छु पनि भनें ।
यसमा चलचित्र विकास बोर्ड प्रत्यक्ष जोडिएको हुन्छ । बोर्डको काम त खासमा नेपाली फिल्मको उत्थान र प्रवर्द्धन गर्ने हो नि । यसको नियमावलीमै चलचित्र विकास बोर्डको स्थापना फिल्म प्रवर्द्धनका लागि भएको हो भनेर लेखिएको छ ।
यसो भन्दैमा विदेशी फिल्म रोक्ने वा चल्न नदिने भन्ने होइन । खुला बजारमा सबैले समान प्रतिस्पर्धा गर्न पाउँछन् । तर, हाम्रो फिल्म राम्रो चलिरहेको छ भने हामीलाई हेप्न भएन, नजरअन्दाज गर्न भएन । हामीलाई पनि न्याय त गरिदिनु पर्यो नि ।
यदि क्युएफएक्सले हामी हिन्दी फिल्म मात्र चलाउँछौं भनेर स्पष्ट भनिदिए हामी नेपाली फिल्म तपाईंहरूको हलमा लगाउँदैनौं । उनीहरूको हलमा फिल्म दिनैपर्छ भन्ने पनि छैन ।
यसमा चलचित्र विकास बोर्डको पनि कमजोरी छ । बोर्डले अलि कडा नियम ल्याउनैपर्छ ।
क्युएफएक्ससँग पहिले निश्चल बस्नेतको पनि लफडा परेको थियो । अहिले मसँग पनि प्रत्यक्ष वा परोक्ष लफडा परेको छ । कति दर्शक आए र मैले कति शो पाएँ भन्ने कुराको स्पष्ट हिसाबकिताब राखेर बसेको छु म ।
यदि मसँग यस विषयमा कोही विवाद गर्न आउँछ भने म तथ्यांकसहित भिड्नेछु । हिन्दी फिल्मले ८० शो पाउँदा हामीलाई २९ शोमा खुम्च्याउने । त्यो पनि असजिलो समयमा शो दिने । यो त न्यायसंगत र व्यावहारिक भएन । जबकि दर्शक हाम्रो फिल्ममा बढी छन् ।

क्युएफएक्सले किन यस्तो गर्छ त ? किनभने ‘एप्पल’ भन्ने जुन फिल्म वितरण गर्ने संस्था छ, त्यसको नाता क्युएफएक्ससँग छ । एप्पलको हर्ताकर्ता र क्युएफएक्सको हर्ताकर्ता एकै हुन् । अर्थात्, दुवैको मालिक एकै हुन् । यो ‘रामायण’ फिल्म नेपालमा ल्याउने एप्पल नै हो । आफ्नै हल र आफ्नै वितरक भएपछि उनीहरूले आफ्नो हालीमुहाली गरेका हुन् ।
यसो गर्नु उनीहरूको आफ्नो कुरा होला । तर, यसले हामीजस्ता नेपाली फिल्म मेकरहरू मर्कामा पर्ने गर्छौं ।
नेपाली फिल्ममेकरमाथि यस्तो अन्याय पहिलो पटक भएको होइन । पटकपटक नेपाली फिल्मलाई यसरी नै पाखा लगाइन्छ र उनीहरूले वितरण गरेको फिल्मलाई काखी च्यापिन्छ । अरू हलमा त्यस्तो छैन । तर, क्युएफएक्समा एकदमै ठूलो समस्या छ ।
मैले के सोचेको छु भने अर्को पटक म उहाँहरूसँग बसेर स्पष्ट कुरा गर्छु । यदि उहाँहरूले पहिलेको प्रवृत्ति दोहोर्याउनुभयो भने म अर्को पटकदेखि क्युएफएक्समा आफ्नो फिल्म नै लगाउँदिनँ ।
म क्युएफएक्समा फिल्म लगाउँदिनँ नै । पहिलो नेपाली निर्माता म नै हुनेछु सायद, जसले क्युएफएक्समा आफ्नो फिल्म लगाउँदैन ।
यो मैले बोलेको कुरा अन्डरलाइन गरेर लेख्नुहोस्, म क्युएफएक्समा मेरो फिल्म लगाउँदिनँ ।
भगवानले मलाई जति दिन्छ, त्यति खान्छु । मैले मेहनत गरेर बनाएको चिज यदि राम्रो छ भने चल्छ, राम्रो छैन भने जसले जति शो, ५०० शो दिए पनि मेरो फिल्म चल्दैन, हेर्नुस् । मेरो फिल्म राम्रो छ र चल्छ भने हेर्ने मान्छेले जुनसुकै हलमा गएर पनि हेर्छ । यो चाहिँ एकदमै मैले अहिले भोगेको कुरा हो ।
फिल्म निर्माता सरोज न्यौपानेसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित ।
प्रतिक्रिया 4